विश्वमै दुर्लभ गिद्धहरूको सुरक्षित आश्रय बन्दै अर्घाखाँची

 

१४ असार, अर्घाखाँची

अर्घाखाँची जिल्ला विश्वमै दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा विकास हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट सुरक्षित रूपमा उड्न सफल भएको गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिए ।

जिल्लाका विभिन्न वन क्षेत्र र भीरपाखामा रहेका गुँडहरूमा यस वर्ष उत्साहजनक रूपमा गिद्धका बचेरा हुर्किएर उडेका हुन् । विशेषगरी छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै अतिसंकटापन्न डंगर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएका थिए । तीमध्ये १५ वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएको पक्षीविज्ञ भुसालको भनाइ छ ।

‘डंगर गिद्धको यस्तो सफल प्रजनन नेपालका लागि मात्र नभई विश्वव्यापी संरक्षण अभियानकै लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ,’ भुसालले भने ।

त्यसैगरी मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए। तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् । यसले अर्घाखाँचीका वन क्षेत्र गिद्धहरूको प्राकृतिक प्रजननका लागि अझै पनि सुरक्षित रहेको पुष्टि गरेको संरक्षणकर्मीहरूको भनाइ छ ।

‘गिद्धले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने भएकाले एउटा बचेरा हुर्काउन निकै लामो समय लाग्छ । सामान्यतया असोज–कार्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख–जेठसम्म चल्ने भएकाले सफल प्रजनन दर बढ्नु आफैंमा ठूलो उपलब्धि हो,’ भुसाल भन्छन्, ‘यस्तो अवस्थामा एकै वर्ष ३३ वटा बचेरा उड्न सफल हुनु संरक्षणका दृष्टिले अत्यन्त सकारात्मक संकेत हो ।’

यता विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शितगंगा नगरपालिकाका विभिन्न छ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेका छन् । अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काउने चरणमा रहेको भुसालले जानकारी दिए । यस प्रजातिका बचेरा आगामी केही साताभित्र उड्न सक्ने अपेक्षा गरिएको छ ।

प्राकृतिक वातावरण सन्तुलित राख्न गिद्धको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ । मृत जनावरको मासु खाएर वातावरण सफा राख्ने गिद्धलाई प्रकृतिको ’सरसफाइकर्मी’ समेत भन्ने गरिन्छ । गिद्धको संख्या घट्दा वातावरणीय प्रदूषण, रोगको जोखिम तथा जैविक सन्तुलनमा नकारात्मक असर पर्ने भएकाले यसको संरक्षणलाई उच्च प्राथमिकता दिइँदै आएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताए ।

विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ । यस वर्ष चार प्रजातिका गिद्धको सफल प्रजनन र ३३ वटा बचेरा उड्न सफल हुनु जिल्लाको जैविक विविधता संरक्षणका दृष्टिले नेपालकै संरक्षण अभियानका लागि प्रेरणादायी उदाहरण बनेको छ । संरक्षणका यस्ता प्रयासलाई निरन्तरता दिन सके अर्घाखाँची भविष्यमा दुर्लभ गिद्धहरूको प्रमुख आश्रयस्थलका रूपमा अझ स्थापित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation