
विश्वको नक्सामा कतिपय देश यस्ता छन्, जसको आकार सानो भएपनि इतिहास विशाल हुन्छ । कतिपय राष्ट्रसँग खानी हुँदैन, विशाल नदी हुँदैन, अथाह वन हुँदैन, तर उनीहरूसँग श्रम, आत्मविश्वास र भविष्यप्रतिको भरोसा हुन्छ । अफ्रिकाको पश्चिमी किनाराबाट करिब ६ सयदेखि ८ सय पचास किलोमिटर पर अटलान्टिक महासागरको अथाह नीलो जलराशिमा फैलिएका ज्वालामुखी टापुहरूको समूह केप भर्ड त्यस्तै एउटा राष्ट्र हो । करिब चार हजार वर्ग किलोमिटर क्षेत्रफलमा सीमित यो देशले संसारलाई देशको महानता भूगोलको आकारले होइन, नागरिकको चेतना र राज्यको सुशासनले निर्धारण गर्छ भन्ने गहिरो सन्देश दिएको छ । अहिले जारी विश्व कप फुटबलमा यस राष्ट्रका खेलाडीहरुले निकै मिहिनेत गरेर नयाँ कृतिमानी रचे । केप भर्डेले आफ्नो पहिलो विश्वकपमा अपराजित समूह चरण पार गर्दै अर्जेन्टिनासँग अतिरिक्त समयसम्म लड्नु ऐतिहासिक साहसिक यात्रा हो। हार विवशता भए पनि, उनीहरूको अनुशासन, गोलरक्षकको वीरता, र कप्तानको नेतृत्वले विश्व फुटबलमा नयाँ अध्याय लेख्यो ।
याे छाेटाे आलेखमा विश्वकप अघि विरलै मात्र नाम सुनिएकाे यस सानाे एवम् ऐतिहासिक टापुकाे इतिहास, भाषा र त्यस देशकाे साँस्कृतिक विरासतबारे संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।
केप भर्ड दशवटा मुख्य ज्वालामुखी टापुहरू मिलेर बनेको गणतान्त्रिक राष्ट्र हो । यसको राजधानी प्रया हो । आधिकारिक भाषा पुर्तगाली भए पनि अधिकांश नागरिकले केप भर्डेली क्रिओल बोल्छन् । यहाँका मानिसहरू अफ्रिकी र युरोपेली सांस्कृतिक विरासतको सुन्दर संगम हुन् । विभिन्न धर्म र संस्कृतिका मानिसहरूबीच सामाजिक सद्भाव कायम हुनु यस देशको अर्को उल्लेखनीय विशेषता हो।
पन्ध्रौँ शताब्दीअघि यी टापुहरूमा स्थायी मानव बसोबास थिएन। पछि पुर्तगाली अन्वेषकहरूले यहाँ बस्ती बसाले र केप भर्ड समुद्री व्यापार तथा दास व्यापारको महत्त्वपूर्ण केन्द्र बन्यो । इतिहासको त्यो कालखण्ड मानव सभ्यताकै एउटा पीडादायी अध्याय थियो । हजारौँ अफ्रिकीहरूलाई दास बनाएर अमेरिका पुर्याउने समुद्री यात्रामा केप भर्ड एउटा प्रमुख विश्रामस्थल बन्यो । व्यापार फस्टायो, तर त्यो समृद्धिको जगमा मानव पीडा र शोषणको रगत मिसिएको थियो ।
समयसँगै दासप्रथा (व्यापार) अन्त्य भयो । त्यसपछि देशले आर्थिक सङ्कट, खडेरी र व्यापक बसाइँसराइको सामना गर्यो । तर कठिनाइसँग हार नमानेको यो राष्ट्रले निरन्तर संघर्ष गर्यो । अन्ततः ५ जुलाई १९७५ मा पुर्तगालबाट स्वतन्त्रता प्राप्त गर्दै आफ्नै राष्ट्रिय पहिचान निर्माण गर्यो । स्वतन्त्रतापछि केप भर्डले राजनीतिक स्थिरता, लोकतान्त्रिक शासन र कानुनी शासनलाई प्राथमिकता दियो । आज अफ्रिकाका लोकतान्त्रिक, शान्त र सुशासित राष्ट्रहरूमध्ये यसको नाम सम्मानका साथ लिइन्छ ।
सन् १९९० दशकको सुरुदेखि केप भर्ड स्थिर प्रतिनिधि प्रजातन्त्र भएको छ र अफ्रिकाको सबैभन्दा विकसित र प्रजातान्त्रिक देशहरू मध्ये एकको रूपमा रहेको छ। प्राकृतिक स्रोतको अभावमा यसको विकासशील अर्थतन्त्र प्रायः सेवामुखी रहेको छ। पर्यटन र विदेशी लगानीमा यसको बढ्दो ध्यान केन्द्रित छ। यसको जनसङ्ख्या लगभग ४८३,६२८ (सन् २०२१ को जनगणना सम्म) रहेको छ जसमा अधिकांश मिश्रित अफ्रिकी तथा युरोपेली समुदायका मानिसहरू पर्दछन्। यहाँ मुख्यतया रोमन क्याथोलिकहरूको बाहुल्यता रहेको छ। यसले पुर्तगाली शासनको विरासतलाई प्रतिबिम्बित गर्दछ। केप भर्डेली आप्रवासी संसारभरि, विशेष गरी संयुक्त राज्य अमेरिका र पोर्चुगलमा रहेका छन्। केप भर्ड अफ्रिकी सङ्घको एक सदस्य राष्ट्र हो।
केप भर्डको आधिकारिक भाषा पुर्तगाली हो।[१] यो निर्देशन र सरकारी कामकाजको भाषा हो। अखबार, टेलिभिजन र रेडियोमा पनि यसको प्रयोग गरिन्छ। मान्यता प्राप्त राष्ट्रिय भाषा केप भर्डेली क्रिओल पनि पर्दछ। यो भाषा अधिकांश मानिसहरूले बोल्ने गर्दछन्।
प्राकृतिक स्रोतको अभावले केप भर्डलाई निराश बनाएन । बरु त्यसले मानिसलाई नै सबैभन्दा ठूलो सम्पत्ति बनायो । पर्यटन, शिक्षा, सेवा क्षेत्र, मत्स्य व्यवसाय र वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीलाई विकासको आधार बनाइयो । विदेशी लगानी आकर्षित गरियो । स्वच्छ प्रशासन र पारदर्शी शासन प्रणालीले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्यो । त्यसैले सानो भूभाग भएको यो राष्ट्रले विकासको यात्रामा उल्लेखनीय फड्को मारेको छ ।
केप भर्डको अर्को महत्त्वपूर्ण शक्ति यसको प्रवासी समुदाय हो । संसारका विभिन्न देशमा रहेका केप भर्डेलीहरूले मातृभूमिसँग आर्थिक र भावनात्मक सम्बन्ध कायम राखेका छन् । उनीहरूले पठाउने रकमले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याएको छ । उल्लेखित तथ्यहरुले कुनैपनि देशको सीमा नक्सामा कोरिन्छ, तर राष्ट्रको शक्ति आफ्ना नागरिकको मनमा बस्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेकाे छ ।
शिक्षा, स्वास्थ्य, मानव विकास र लोकतन्त्रका सूचकाङ्कमा पनि केप भर्डले धेरै अफ्रिकी देशलाई पछि पारेको छ । सीमित स्रोतसाधनका बाबजुद सुशासन र दूरदर्शी नीतिले कसरी राष्ट्रलाई अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण यो देशले प्रस्तुत गरेको छ । केप भर्डे (Cabo Verde) मा लामाे समयदेखि प्रमुख दुई पार्टीहरू छन्
PAICV (African Party for the Independence of Cape Verde)
MpD (Movement for Democracy)
५ वर्षमा हुने हरेक निर्वाचनमा यी दुईबीच नै मुख्य प्रतिस्पर्धा हुन्छ र राष्ट्रपति र संसद (National Assembly) दुवै चुनिन्छन्।
यहाँको राजनीतिक प्रणाली अर्ध-राष्ट्रपतीय (semi-presidential) लोकतान्त्रिक गणतन्त्र रहेको छ ।
राष्ट्रपति प्रत्यक्ष मतदानमार्फत ५ वर्षका लागि चुनिन्छन् चने प्रधानमन्त्री संसद (National Assembly) बाट प्रस्तावित र राष्ट्रपतिद्वारा नियुक्त गरिन्छ ।
यहाँ संसद ७२ सदस्यीय National Assembly, समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत ५ वर्षका लागि निर्वाचित हुन्छन् ।
1991 पछि बहुदलीय प्रणाली सुरु भएदेखि शान्तिपूर्ण सत्ता हस्तान्तरण भएको छ । Freedom House र अन्य सूचकांकमा अफ्रिकाको सबैभन्दा स्थिर लोकतन्त्र मध्ये एक मानिन्छ । चुनावहरू प्रायः स्वतन्त्र, निष्पक्ष र पारदर्शी मानिन्छन् ।
नेपालजस्ता विकासोन्मुख मुलुकका लागि केप भर्ड प्रेरणाको स्रोत बन्न सक्छ। हाम्रो देशसँग पानी, पहाड, वन, जैविक विविधता र प्राकृतिक सम्पदाको कमी छैन। कमी छ भने सुशासन, दीर्घकालीन योजना र इमानदार कार्यान्वयनको मात्रै हाे । केप भर्डले देखाएको बाटोले स्रोतभन्दा ठूलो कुरा सोच हो र सम्भावनाभन्दा ठूलो कुरा त्यसलाई उपयोग गर्ने इच्छाशक्ति हो भन्ने ज्वलन्त उदाहरण हाे ।
अन्त्यमा, केप भर्ड एउटा सामान्य टापु राष्ट्र मात्र नभएर संघर्ष, धैर्य, लोकतन्त्र र आत्मनिर्भरताको जीवन्त कथा हो । विशाल महासागरको बीचमा उभिएको यो सानो देशले संसारलाई राष्ट्रलाई महान बनाउने कुरा उसको विशाल भूगोल र सर्वाधिक जनसंख्या मात्रै नभएर उसको इतिहासबाट सिक्ने क्षमता, वर्तमानलाई सही ढङ्गले सञ्चालन गर्ने विवेक र भविष्य निर्माण गर्ने दृढ संकल्प हाे भन्ने मानक स्थापित गरेकाे छ । त्यसकार केप भर्ड नामकाे सानाे टापू अफ्रिकाको एउटा देश मात्र नभएर, सीमित साधनस्रोतबाट असीम सम्भावना सिर्जना गर्न सकिने विश्वव्यापी उदाहरण पनि बनेको छ ।
















