शिक्षा नियमावली संशोधन: विशेष शिक्षकको दरबन्दी रुपान्तरण, सेवा–सुविधा सुनिश्चित

२१ असार, काठमाडौं

विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरिएको छ । दृष्टिविहिन, न्यूनदृष्टि, श्रवणविहिन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई पढाउने विशेष शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिएको हो । सरकारले गत बिहीबार स्वीकृत गरेको शिक्षा नियमावलीको १० औँ संशोधनमा उक्त व्यवस्था राखिएको छ ।

‘विशेष शिक्षा परिषद्बाट स्वीकृत भएका शिक्षक दरबन्दी विशेष शिक्षक दरबन्दीमा रुपान्तरण हुनेछन्,’ नियमावलीमा भनिएको छ । दरबन्दी राष्ट्रिय किताबखाना (शिक्षक) मा विशेष दरबन्दीको रुपमा दर्ता हुनेछ र शिक्षक सेवा आयोगको सिफारिसमा त्यस्तो दरबन्दीमा पदपूर्ति हुने प्रावधान राखिएको छ । दरबन्दी विशेष विद्यालय वा स्रोतकक्षा सञ्चालन भएको विद्यालयमा वितरण गरिनेछ । पदपूर्ति भएका शिक्षकको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था साधारण विद्यालयको स्थायी शिक्षक सरह हुनेछ ।

विशेष शिक्षा परिषद्बाट स्थायी नियुक्ति पाई अविछिन्न सेवा गरी सेवावाट अलग हुने वा भईसकेका शिक्षकलाई उमेरको हद साठी वर्षमा नबढ्ने गरी एकमुष्ट सुविधा दिइनेछ । पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब पाउने छन् ।

दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब पाउने छन् । पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब पाउने छन् । सुविधा प्राप्त गर्ने शिक्षकले साधारण शिक्षक सरह सञ्चित बिरामी बिदाको रकम पाउने व्यवस्था नियमावलीमा राखिएको छ ।

बौद्धिक अपाङ्गता, अटिज्म, श्रवणविहीन, दृष्टिविहीन, बहिरा जस्ता अपाङ्गताको प्रकृति र गाम्भिर्यता, भौगोलिक विषमता र दुरीका आधारमा स्रोत केन्द्र वा स्रोत कक्षाको सञ्चालन तथा व्यवस्थापन स्थानीय तहले गर्न सक्नेछ । स्रोत केन्द्र वा स्रोत कक्षालाई स्थानीय तहको सिफारिसको आधारमा नेपाल सरकार वा प्रदेश सरकारले अनुदान उपलब्ध गराउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation