जीवको उत्पत्तिको विषय धेरै समय अगाडिदेखि वैज्ञानिक समुदायहरूको बीचमा सबभन्दा आकर्षक र विवादित विषयहरूध्ये एक हो। यसको विषयमा कैयौं सिद्धान्तहरू प्रस्तावित गरिए पनि पृथ्वीमा जीव कसरी शुरू भयो र कसरी उत्पन्न भयो भन्ने कुराको सटिक प्रणाली एक रहस्यमै रहेको छ। आदि कालदेखि नै मानव मस्तिष्क आफू लगायत पृथ्वीमा जीवन कहाँबाट आए ? विभिन्न प्रकारका जीव कसरी बने ? जस्ता प्रश्नहरूको उत्तर जान्नको लागि आतुर रहेको देखिन्छ। यी सबै प्रश्नहरू निश्चय नै रहस्यात्मक रहेका छन्। वैज्ञानिकहरू धेरै समयदेखि यी विषम रहस्यहरूको समाधान खोज्ने प्रयास गरिरहेका छन्। जसको परिणामस्वरूप नै समय-समयमा विभिन्न मतहरू सामुन्ने आइरहेका छन्। वनस्पति तथा प्राणी जगतमा करोडौं वर्ष पहिले पृथ्वीमा भएका परिवर्तनहरूलाई स्पष्ट रूपमा बुझ्नका लागि जीवको उत्पत्तिको बारेमा बुझ्नु आवश्यक हुन्छ। अर्थात् हामीले पृथ्वी, सूर्य, ताराहरू र ब्रम्हाण्डको विकासलाई पनि बुझ्नुपर्दछ। अनुमानहरूबाट पूर्ण काल्पनिक कथाक्रम देख्न र सुन्न सकिन्छ। यी कहानीहरू जीवको उत्पत्ति र पृथ्वीमा जीवका रूपहरूको विकास वा जैव-विविधताका हुन्, जुन पृथ्वीको विकास एवम् ब्रम्हाण्डको विकासको पृष्ठभूमिसँगै समाविष्ट छन्।
स्वच्छ अध्यारो रातमा आकासतिर तारा हेर्दा एक किसिमले विगत समय देखिन्छ। पृथ्वी कहिले र कसरी अस्तित्वमा आयो; कसरी जीवनको शुरूवात भयो; चारैतिर जीवनका विविध रूपहरू कसरी विकसित भए ? आदि जस्ता प्रश्नहरूको उत्तर वैज्ञानिकहरूले दिने कोशिस गरेका छन् र अझै निरन्तर गरिरहेका छन्। ताराहरूको दूरीलाई प्रकाश वर्ष (एक वर्षमा प्रकाशले पार गर्ने दूरी, जबकि प्रकाशले १ सेकेण्डमा ३ लाख किलोमीटर दूरी पार गर्दछ) मा नापिन्छ। जुन वस्तुलाई ताराहरूको रूपमा देखिन्छ, तिनीहरूको प्रकाश-यात्रा लाखौं वर्ष पहिले शुरु भएको थियो। तिनीहरू हामीभन्दा करोडौं अरब किलोमिटर टाढा छन् र हाम्रा आँखासम्म आइरहेका छन्। यद्यपि वरिपरिका चीजहरूलाई हामी तुरून्तै देख्न सक्दछौं; किनिक तिनीहरू वर्तमान कालका चीजहरू हुन्। यसरी नै ताराहरूलाई हेर्दा हामी स्पष्ट रूपले भूतकालतिर हेरिरहेका हुन्छौं।
जीवको उत्पत्तिलाई ब्रम्हाण्डको इतिहासमा एउटा अनौठो घटना मानिन्छ। ब्रम्हाण्ड अति विशाल र अनन्त छ, जसको कारण यसका आयामहरूको कल्पना नै गर्न कठिन हुन्छ। वास्तवमा भन्ने हो भने पृथ्वी नै स्वयंमा ब्रम्हाण्डको एक कणिका मात्र हो। ब्रम्हाण्डलाई अति प्राचीन अर्थात् लगभग २० हजार करोड वर्ष पुरानो मानिन्छ। ब्रम्हाण्डमा आकाशगंगाहरूका विशाल समूह एकीकृत रूपमा रहेका छन्। आकाशगंगाहरूमा ताराहरू तथा ग्यासका बादल एवम् धूलो सामेल छन्। त्यसकारण ब्रम्हाण्डको आकारलाई ध्यान दिँदा पृथ्वी केवल एक विन्दु वा कण मात्र हो।
ब्रम्हाण्डको उत्पत्ति ‘बिग ब्यांग’ नामक महाविष्फोट सिद्धान्तद्वारा भएको मानिन्छ। यो एउटा अनौठो कल्पना भन्दा पर महाविष्फोटको भौतिक रूप हो। यसकै परिणामस्वरूप ब्रम्हाण्डको विस्तार भयो र तापक्रममा कमी आउँदै गयो। केही समयपछि हाइड्रोजन र हेलियम ग्यास बन्ने क्रम शुरु भयो। यी ग्यासहरू गुरूत्वाकर्षणको कारण सघन हुँदै गए र अहिलेको ब्रम्हाण्डमा आकाशगंगाहरू (मिल्कि वे) को गठन भयो। ब्रम्हाण्डमा रहेका अरबौं आकाशगंगाहरूमध्ये आकाशको सूदूर कुनामा अवस्थित आकाशगंगा अन्तर्गत रहेको सौर्य-मण्डलमा एक ग्रहको रूपमा पृथ्वीको रचना ४५० करोड वर्ष (४.५ अरब वर्ष) पहिले सौर्य ग्यासीय मेघहरूको संघननद्वारा भएको मानिन्छ। सौर्य प्रणालीमा पृथ्वी ग्रहले अन्य ग्रहहरू जस्तै मझौला आकारको तारा (सूर्य) वरिपरि परिक्रमा गर्दछ। आदिकालीन पृथ्वीमा भौतिक स्थिति जीवन अनुकूल थिएन। पृथ्वी अत्याधिक तातो ग्याँसको एक बेलुन जस्तो थियो। सौर्य-ग्यासीय मेघहरूमा हाइड्रोजन र हेलियम पर्याप्त थियो। शुरूको अवस्थामा पृथ्वीमा वायुमण्डल थिएन। प्रारम्भिक अवस्थामा पृथ्वीमा चुम्बकीय शक्ति पनि थिएन। विस्तारै पृथ्वीको क्रस्ट जम्दै गयो; यद्यपि ज्वालामुखीबाट हानिकारक ग्यास निक्लिरहे। यी ग्याँसहरू संचित भइरहे र मिथेन, एमोनिया र हाइड्रोजन साइनाइडको रूपमा संयुक्त भयो। त्यसपछि यी तीन घातक ग्यासहरूले कार्बन मोनोअक्साइड र कार्बन डाइअक्साइड जस्ता निम्न ग्यासहरू मिलेर आदिकालीन पृथ्वीको वातावरणको गठन भएको हो। यसरी शुरूमा पृथ्वी पानी, वाफ, कार्बनडाइअक्साइड, मिथेन र एमोनिया, आदि जस्ता धरातललाई ढाक्ने गलित पदार्थहरूबाट प्रकाशित थियो। पृथ्वीमा जीवको शुरूवात भन्दा पहिले अहिलेको वातावरण भन्दा भिन्न थियो। त्यतिबेला सबै प्राणीको लागि अपरिहार्य अक्सिजन ग्यास थिएन। सूर्यबाट निरन्तर आउने परावैजनी किरण (अल्ट्राभायोलेट रे) हरूले पानीलाई हाइड्रोजन र अक्सिनमा विखण्डित गरदियो, त्यसपछि हल्का रूपमा हाइड्रोजन स्वतन्त्र भयो। अक्सिजनले एमोनिया र मिथेनसँग मिलेर पानी, कार्बनडाइअक्साइड तथा अन्य ग्यास, आदिको रचना गर्यो। पृथ्वीको चारैतिर ओजोनतहको गठन भयो। पृथ्वी चीसो भएपछि पानी र वाफ वर्षाको रूपमा बर्षियो र गहिरा ठाउँहरू भरिए। यसको कारणले गर्दा महासागरहरूको जन्म भयो। पृथ्वीको उत्पत्ति भएको लगभग ५०० मिलियन वर्षपछि अर्थात् लगभग ४०० करोड (४ अरब) वर्ष पहिले जीवनको उत्पत्ति भएको मानिन्छ।
पहिलो चरणमा साना-साना सरल कार्बनिक अणु पृथ्वीको गीलो सतहमा ग्यासीय वातावरणको संयोजनबाट बने। दोस्रो चरणमा यिनै साना-साना कार्बनिक अणु आपसमा मिलेर जटिल कार्बनिक अणुहरू जस्तै पेप्टाइड, न्यूक्लियोटाइड एवम् वासा, आदिको निर्माण गरे। तेस्रो चरणमा इयोबायोन्ट बने, जुन माथिल्लो झिल्लीबिनाका थिए र यिनीहरू रचना हुँदा एककोशीय जीवहरूभन्दा सरल थिए तर यिनीहरूमा सरल विभाजनद्वारा प्रजनन शक्ति आएको थियो। चौथो चरणमा प्रकाश संश्लेषणद्वारा न्यूक्लियो-प्रोटीन, आदि जटिल अणुहरूको निर्माण भयो। यिनीहरूको विकाससँगै वायुमण्डलमा अक्सिजनको मात्रा बढ्यो। पाँचौं चरणको समयसम्म पृथ्वीको वातावरण आजकै समान भएको हुनुपर्दछ। यस्तै वातावरणमा वासाले ढाकिएको व्रेनगेल बने। न्यूक्लियो-प्रोटीनको प्रजनन शक्तिको कारण तिनीहरू धेरै संख्यामा बढे। अन्तिम चरणमा एक पातलो झिल्लीले ढाकिएको एककोशीय जीवहरूको उत्पत्ति भयो। यिनीहरूमा न्यूक्लियो-प्रोटीन समान विभाजन तथा पुनर्मिलनको क्षमता थियो। यिनीहरू नै प्रोटोजोआ नामक समुदायका पूर्वज थिए। यसरी पृथ्वीमा जीवको प्रसार भयो। यिनै एककोशीय जीवहरूबाट मानिससम्मको उत्पत्ति, क्रमिक विकास एवम् प्राकृतिक छनौटको अनौठो गाथा हो।
यसरी जीवको उत्पत्ति आदिसागरको जलमा न्यूक्लियप्रोटिन्सका विषाणु जस्ता कणहरूको रूपमा पृथ्वीको इतिहासको प्रि-क्याम्ब्रियन महाकल्पमा भयो। यी प्रारम्भिक जीव परजीवी र अवायवयी (anaerobic) थिए। यिनीहरूको कोशिका आजका विषाणु तथा माइक्रोप्लाज्मा जस्तै थियो। केही समय यिनीहरूले संग्राहकको रूप लिए तथा आनुवंशिक कोडपछि कोशिका DNA आनुवंशिक सूचनाहरूद्वारा RNA एवम् प्रोटीन-संश्लेषणसँग जोडियो। यसप्रकार के मानिन्छ भने प्रारम्भिक जीव रसायन परजीवी थिए, जसले जटिल कार्बिनिक पदार्थहरूको आवेशबाट ऊर्जा प्राप्त गर्दथे। यसपछि क्लोरोफिलको विकासबाट प्रकाश-स्वपोषित जीवहरूको विकास भयो। प्रारम्भिक प्रकाश-स्वपोषित जीव अवायवीय थिए, जुन ३.५ अरब वर्ष पहिले वायवीय प्रकाश-स्वपोषी जीवहरूमा रूपान्तरित भए। लिन मारगुलिसका अनुसार केही अवायवीय परजीवी कोशिकाहरूले प्रारम्भिक वायवीय जीवाणुहरूलाई खाए र प्रथम यूकेरियोटिक कोशिका बने। परजीवी कोशिकाले वायवीय जीवाणु तथा प्रकाश-संश्लेषी नीला-हरिया एल्गी कोशिका खाए। तिनीहरू यूकेरियोटिक वनस्पति कोशिका बने अर्थात् वायवीय जीवाणु माइटोकोण्ड्रिया तथा नीला-हरिया एल्गी क्लोरोफिलको रूपमा स्थापित भए।
जैव-विकास सिद्धान्त अनुसार जीव क्रमिक र निरन्तर प्रक्रिया अनुरूप सरलबाट जटिलतिर अगाडि बढ्दछ। जीवको उत्पत्तिसँग सम्बन्धित सबभन्दा प्राचीन परिकल्पना स्वतः उत्पादनको हो, जबकि आधुनिक परिकल्पनालाई प्रकृतिवाद भनिन्छ। यस अन्तर्गत उपार्जित लक्षणहरूको वंशगतिमा आधारित लामार्कवाद, प्राकृतिक छनौट सिद्धान्तमा आधारित डार्विनवाद तथा उत्परिवर्तनमा आधारित ह्यूगो डी व्रीजको सिद्धान्त प्रमुख रूपले सामेल छ।
फ्रान्सेली वैज्ञानिक जीन बाप्टिस्ट लामार्क (अगस्ट १, १७४४- डिसेम्बर १८, १८२९) ले सन् १८०९ मा फिलोसफी जूलोजिक नामक प्रसिद्ध पुस्तकमा उपार्जित लक्षणहरूको वंशानुगत सिद्धान्त प्रस्तुत गरेका थिए। यो सिद्धान्तानुसार प्रत्येक जीव आफ्नो जीवनकालमा जुन वातावरणमा रहन्छ, त्यसको प्रभावबाट अनेकौं लक्षणहरू उपार्जित गर्दछ। यही उपार्जित लक्षण उसका सन्तानहरूमा पुग्दछन् तथा विस्तारै-विस्तारै नयाँ जाति बन्दछन्। यो सिद्धान्त अनुसार जुन अंगको लगातार प्रयोग हुन्छ, त्यो विस्तारै आकारमा बढ्दछ तथा जुन अंगको प्रयोग हुँदैन वा कम हुन्छ, त्यसको क्रमशः ह्रास हुँदै जान्छ र अन्तमा समाप्त हुन्छ। लामार्कको सिद्धान्त विशेषगरी ठूलो हुने प्रवृत्ति, वातावरणको सीधा प्रभाव, अंगहरूको उपयोग एवम् तिनीहरूको अनुप्रयोगको प्रभाव र उपार्जित लक्षणहरूको वंशानुक्रम गरी चार अवधारणाहरूमा आधारित छ।
जैव विकासका केही महत्त्वपूर्ण तथ्यहरू अन्तर्गत पेलिओजोइक महाकल्प, डेभोनियन कल्प, कार्बोनिफेरस कल्प, मीसोजोइक महाकल्प, सीनोजोइक महाकल्प र प्लीस्टोसीन युग पर्दछन्। पेलिओजोइक महाकल्पलाई प्राचीन जीवको उत्पत्ति काल भनिन्छ। डेबोनियन कल्पलाई माछाहरूको युग भनिन्छ। कार्बोनिफेरस कल्पलाई उभयचरहरूको युग भनिन्छ। मीसोजोइक महाकल्पलाई सरीसृपहरूको युग भनिन्छ। सीनोजोइक महाकल्पलाई स्तनधारीहरूको युग भनिन्छ। र, प्लीस्टोसीन युगलाई मानव युग भनिन्छ।
१७औं शताब्दीमा फ्रान्सिस्को रेड्डीले दुई अलग-अलग एउटा खुला तथा अर्को बन्द भाँडामा माँसुको नमूना राखे। यो परीक्षणको निष्कर्षमा खुला भाँडोको माँसुमा कीरा देखिए र बन्द भाँडोमा देखिएन। यसबाट एरिस्टोटलको जीवनको स्वतः उत्पत्ति सिद्धान्त कमजोर भयो र लुई पाश्चारको प्रयोगबाट स्वतः प्रजनन सिद्धान्त धराशायी भयो। जीवनको उत्पत्तिको सम्बन्धमा ओपेरिन एवम् हेल्डेनद्वारा आधुनिक सिद्धान्त, प्रकृतिवाद वा जैव-रसायन विकास सिद्धान्त प्रतिपादित गरियो।
जीव कहाँबाट आयो भन्ने सन्दर्भमा वैज्ञानिकहरूमा केही मतभिन्नताहरू समेत रहेका छन्। केही वैज्ञानिकहरू जीव अन्तरीक्षबाट नै आएका हुन् भन्ने विश्वास गर्दछन्। पूर्व ग्रिक विचारकहरूको मान्यता अनुसार जीवको ‘स्पोर’ नामक इकाई अनेकौं ग्रहहरूमा स्थानान्तरित भए, पृथ्वी पनि तिनीहरूमध्ये एक थियो। केही खगोल-वैज्ञानिकहरू ‘प्यान-स्पर्पिया’ (सर्वबीजाणु) लाई अझै पनि आफ्नो रूचिकर सिद्धान्त मान्दछन्। धेरै समयसम्म के पनि मानियो भने जीवन क्षय भइरहेका र सडिरहेका सामग्रीहरूबाट निर्माण भएको हो। यो स्वतः प्रजनन (स्पोन्टेनियस जेनेरेसन) नामक सिद्धान्त थियो। लुई पाश्चरले सावधानीपूर्वक गरिएका प्रयोगहरूको माध्यमबाट जीवन पहिलेदेखि विद्यमान जीवबाट नै निक्लिएर आउने कुरा प्रदर्शित गरेका थिए। उनका अनुसार पहिलेदेखि जीवाणुरहित गरिएका फ्लास्कमा ‘मृत यीस्ट’ बाट जीव उत्पन्न हुँदैनन्, जबकि अन्य खुला फ्लास्कमा ‘मृत यीस्ट’ लाई राखेपछि केही समयपछि नयाँ जीव आउँदछन्। यसरी स्वतः प्रजनन सिद्धान्तलाई एक पटक सदैवको लागि खारेज गरियो। तर यी सबै कुराले पृथ्वीमा जीव सबभन्दा पहिले कहिले आए भन्ने कुराको उत्तर प्राप्त हुँदैनथ्यो।
रूसका वैज्ञानिक ए. आई. अपेरिन र इङ्ल्याण्डका जीव वैज्ञानिक होल्डेनले के प्रस्तावित गरेका थिए भने जीवनको पहिलो स्वरूप समुद्र-सतहमा पूर्व-विद्यमान जीवनरहित कार्बनिक यौगिक (जस्तै, आरएनए, प्रोटीन, इत्यादि) बाट जीवनको निर्माण खण्ड एमिनो एसिडको रूपमा भएको हो। यिनीहरूले जीवनको उत्पत्तिको लागि आवश्यक सामग्री जुटाइरहेका थिए। र, जीवको त्यो रचना त्यही रासाइनिक विकासपछि घटित भएको थियो, जसबाट अकार्बनिक संघटकहरूद्वारा विविध कार्बनिक अणुहरूको गठन हुनसक्यो। त्यसबेला पृथ्वीमा उच्च तापयुक्त, ज्वालामुखीय तूफानयुक्त वायुमण्डलमा मिथेन, एमोनिया, आदिको कमी थियो। लगातार भएको मुसलधारे वर्षासँगै घुलेर पृथ्वी चीसो भएपछि कार्बनिक अणुहरूले एक घोल बनाए, जसबाट जीवको उद्भव भएको हो। रासायनिक विकासको परिकल्पना जीवको उत्पत्तिको सबभन्दा व्यापक रूपले स्वीकृत सिद्धान्तहरूमध्ये एक हो। यो परिकल्पनाका अनुसार पृथ्वीमा जीव आदिम वातावरणमा कार्बनिक अणुहरूको स्व-प्रयोजनबाट भएको हो। अन्ततः धेरै जटिल कार्बनिक यौगिकहरूको निर्माणतिर अग्रसर भयो। पछि वैज्ञानिक मिलर र उरेले यो परिकल्पनाको लागि प्रयोगात्मक काम गरेर उनीहरूले प्रयोगशालाका परिस्थितिहरूमा सफलतापूर्वक मिथेन, एमोनिया, जल वाष्प र हाइड्रोजनयुक्त फ्लास्कको माध्यमबाट (विद्युत प्रवाहमा) एमिनो एसिडको उत्पादन गरे। यो प्रोटिनको निर्माण खण्ड हो। अमेरिकी वैज्ञानिक एस. एल. मिलरले सन् १९५३ मा आफ्नो प्रयोगशालामा यही परिणामको स्थिति पैदा गरेका थिए। यो प्रयोगबाट उनले एउटा बन्द फ्लास्कमा मिथेन, हाइड्रोजन, एमोनिया तथा ८०० डिग्री सेल्सियस तापसँगै एक विद्युत-डिस्चार्ज गर्दा एमिनो एसिड बनेको देखे। ठीक यस्तै प्रकारका प्रयोगद्वारा ग्लूकोज, नाइट्रोजन क्षारक, पिगमेन्ट्स, तेल, आदि प्राप्त गरेका उल्काहरूका अन्तर्वस्तुहरूको विश्लेषणबाट ठीक यस्तै प्रक्रिया अन्तरीक्षका कुनै अन्य स्थानमा घटित भइरह्यो होला भन्ने कुरा प्रकट भयो। सीमीत प्रमाणहरूको आधारमा काल्पनिक कहानीहरूको पहिलो भाग अर्थात् रासायनिक विकासलाई पनि केही मात्राको रूपमा स्वीकार गर्न सकिन्छ।
अपेरिनले सन् १९३६ मा आफ्नो पुस्तक ‘द ओरिजिन अफ लाइफ’ मा जैव-रसायन विकासको सिद्धान्तको विस्तारपूर्वक वर्णन गरे। यसका अनुसार आदिकालमा हाइड्रोजन ग्यास अधिक मात्रामा भएकोले पृथ्वीको वायुमण्ड अपचायक थियो र यसमा अक्सिजन अनुपस्थित थियो। तापक्रम कम भएकोले हाइड्रोजन, नाइट्रोजन, कार्बन, आदि परमाणुहरूमा आपसमा संयोगबाट यसका अणु बने। यस प्रक्रममा पहिला जटिल कार्बनिक यौगिक तथा कोएसरवेट एवम् न्यूक्लियो-प्रोटीन्सको निर्माण भयो।
स्टेनले मिलरले आफ्नो प्रसिद्ध प्रयोगमा पृथ्वीको प्रारम्भिक वायुमण्डल जस्ता स्थितिहरूलाई पैदा गरेर बन्द फ्लास्कमा विद्युत धारालाई एमोनिया, मिथेन, हाइड्रोजन र वाफको मिश्रणबाट गुज्रिएर कार्बोहाइड्रेड एवम् एमिनो एसिडको मिश्रण प्राप्त गरे। यी पदार्थहरूमा भएको प्रतिक्रियाको परिणामस्वरूप पोलिसकेराइड, प्रोटीन, लिपिड एवम् न्यूक्लिक एसिड बने। न्यूक्लिक एसिडमा प्रतिक्रियापछि स्वप्राकृतिकको क्षमता थियो। यिनीहरूको विकासबाट निर्जीव एवम् सजीवको बीचको एक सीमा निर्धारण भयो र अगाडि बढेर प्रारम्भिक कोशिकाहरू, संश्लेषण वृद्धि तथा परिवर्तन हुनलागे। जसको परिणामस्वरूप पोषण-विधिहरूसँगै सम्पन्न भयो। परजीविता, मृतजीविता, प्राण सदृश पोषण विधिहरू पश्चात स्वपोषी पोषण विधिको पनि विकास भयो। यी स्वपोषी जीव दुई प्रकारका रसायन-संश्लेषण तथा प्रकाश-संश्लेषी थिए। यसको अन्तिम कडीको रूपमा वायुमण्डको निर्माण भयो तथा अक्सिजनको उपस्थितिबाट यो धेरै महत्त्वपूर्ण हुनगयो।
पेन्सपर्मिया परिकल्पनाका अनुसार पृथ्वीमा जीवको उत्पत्ति ब्रम्हाण्डमा सर्वत्र फैलिएका सूक्ष्मजीवहरू वा कार्बनिक अणुहरू वा जीवनका पूर्ववर्ती रसायनहरूबाट भएको हो, जुन बाहिरी अन्तरीक्षबाट उल्कापिण्डहरू अथवा धुम्रकेतुहरूको माध्यमबाट आएका हुन्। जीवनको उद्भव यी सूक्ष्म जीव पूर्ववर्ती रसायनको पृथ्वी जस्तो जीवनको लागि सहायक वातावरणमा पुगेपछि भएको हो। यो सिद्धान्तको प्रस्ताव अनुसार जीवनका अन्य ग्रहहरू वा चन्द्रमाहरूमा जीवनको लागि बढी अनुकूल परिस्थितिहरूसँगै उत्पन्न हुन सक्दछ र पुनः यी ब्रम्हाण्डीय पिण्डहरूको माध्यमबाट पृथ्वीमा फैलिन सक्दछ। यो परिकल्पनाको समर्थन गर्नको लागि कैयौं प्रयोगहरूले प्रमाण प्रस्तुत गरेका छन्। सन् २०१८ मा शोधकर्ताहरूको एउटा समूहले मंगल ग्रहमा कार्बनिक पदार्थको खोजी गरे, जसले जीवनका संभावित निर्माण खण्डहरूको उपस्थितिको संकेत दिन्छ। यद्यपि पेन्सपर्मिया परिकल्पना बहसको विषय बनेको छ। किनभने यसले अन्तरीक्षको माध्यमबाट आफ्नो यात्राको क्रममा सूक्ष्मजीवहरूको उत्तरजीविताको बारेमा प्रश्न उठाउँदछ।
आरएनए वर्ल्ड परिकल्पनाको प्रस्ताव अनुसार डीएनएको सट्टा आरएनए, पहिलो स्व-प्रतिकृति अणु थियो, जसले पृथ्वीमा जीवनको गठनको नेतृत्व गर्यो। आरएनए आनुवंशिक जानकारी संग्रहित गर्नसक्ने एक अणु हो। यसले रासायनिक प्रतिक्रियालाई उत्प्रेरित गर्न सक्दछ, जसबाट यो पहिले स्व-प्रतिकृति अणुको लागि एक संभावित उमेद्वार बन्नजान्छ। कैयौं प्रयोगहरूले यो परिकल्पनाको समर्थन गरेका छन्। सन् २००९ मा शोधकर्ताहरूको एउटा समूहले आरएनएले केही शर्तहरूको माध्यमबाट स्व-प्रतिकृति (facsimile) गर्न सक्दछ भन्ने कुरा प्रदर्शित गरे। यद्यपि आरएनए वर्ल्ड परिकल्पनाले अझै पनि कसरी आरएनए अणु सबभन्दा पहिले आदिम पृथ्वीको वातावरणमा उत्पन्न भए भन्ने कुराको बारेमा प्रश्न उठाउँदछ।
हाइड्रोथर्मल वेंट परिकल्पनाको प्रस्ताव अनुसार पृथ्वीमा जीवन पानी मुनि हाडड्रोथर्मल वेंटमा उत्पन्न भयो, जहाँ समुद्री जल र ज्वालामुखी चट्टानहरूको बीचमा रासाइनिक प्रतिक्रियाहरूले एक अद्वितीय वातावरण बनाउँदछ, जुन कार्बनिक अणुहरूको निर्माणको लागि अनुकूल हुन्छ। कैयौं अध्ययनहरूले यो परिकल्पनाको समर्थन गर्नको लागि प्रमाणहरू पेश गरेका छन्। सन् २०१९ मा शोधकर्ताहरूको एउटा समूहले पृथ्वीमा शुरुवाती जीव रूपहरूका अवशेष हुनसक्दछन् भन्ने सुझाब दिँदैं हाइड्रोथर्मल वेंटमा रहने जीवाणुहरूको खोज गरे, जुन आनुवंशिक रूपले अन्य जीवरूपभन्दा अलग थिए।
जीवको स्वतन्त्र उद्भवको अवधारणा अनुसार पृथ्वीमा जीवन यहीँ उपलब्ध पदार्थहरूबाट भएको हो। जीवनका लागि उत्तरदायी बल प्राकृतिक छनौट थियो। अणुहरूमा परिवर्तनले तिनीहरूको स्थायित्व तथा दीर्घायुलाई बढावा दियो। यी अणुहरूमा धेरै जटिल संरचनाहरू बने र जसबाट जीव उत्पन्न भए।
जीवको उत्पत्तिको स्थानको सम्बन्धमा विभिन्न वैज्ञानिकहरूले विभिन्न अवधारणहरू बताएका छन्। सागर किनाराको अवधारणा अनुसार पृथ्वीको प्राथमिक जीवको जन्म अत्याधिक तापमानमा भएको थियो। सौर्य मण्डलको जन्मबाट बचेका टुक्राहरू पृथ्वीभन्दा ४.६ अरब वर्ष पहिलेदेखि ३.८ अरब वर्ष पहिलेको बीचमा टकराइरहे, जसबाट भूतह पग्लिरह्यो र ताप बनिरह्यो। यी टुक्राहरूको पृथ्वीसँग टक्कर कम भएपछि तापक्रम घटेर ४९ देखि ८८ डिग्री सियल्सियससम्म आयो। त्यसपछि ३.८ देखि ३.५ अरब वर्षको बीचमा सबभन्दा पहिलो जीव उत्पन्न भयो। यसपछि पृथ्वी जीवनयोग्य बन्दै गयो। यसरी नै अर्को मान्यता अनुसार जमेको सागरको माथिल्लो तहमा जीवको उत्पत्ति भएको थियो। जीवको उत्पत्ति वृहस्पतिको चन्द्रमा यूरोपा जस्तै जमेका सागरहरू तलको परिस्थितिमा भएको हो। यो अवधारणा असंभव जस्तो लाग्छ । किनकि प्राथमिक रूपमा पृथ्वी तातो थियो, जसमा जमेको सागर संभव हुँदैन। अर्को मान्यता अनुसार जीवको उत्पत्ति भूसतह मुनि गहिराइमा भएको हो। जीवनको उत्पत्ति ज्वालामुखीका गतिविधिहरूको सहउत्पादकको रूपमा खनिज र ग्यासहरूको मिश्रणबाट भएको हो। यो अवधारणालाई गुन्टेर वाचरहोसरले सन् १९८८ मा प्रस्तावित गरेका थिए। पछि उनी असाधारण रासायनिक प्रक्रियाबाट एमिनो एसिडका पूर्ववर्तीहरूलाई बनाउनमा सफल पनि भएका थिए। आलोचकहरूका अनुसार उनका प्रयोगमा रसायनहरुको मात्रा प्रकृतिमा उपलब्ध मात्राभन्दा अति धेरै थियो। यसरी नै अर्को अवधारणा अनुसार जीवको उत्पत्ति माटोमा भएको हो। जीवको उत्पत्ति सिलिकेटको रासायनिक प्रक्रियाबाट भएको हो। माटोमा धनात्मक आवेश हुन्छ र त्यसले कार्बनिक पदार्थका अणुहरूलाई आकर्षित र पानीलाई अलग गर्न सक्दछ। यो परिस्थितिमा जीवनको आरम्भिक अणुहरूको लागि उत्प्रेरक भूसतह बन्नजान्छ। अर्को मान्यता अनुसार जीवको उत्पत्ति गहिरो सागरको धरातलमा ज्वालामुखी छिद्र निकट भएको हो। जीवनको उद्भव गहिरो सागरमा ज्वालामुखीय तातो पानीका स्रोतहरूमा भएको हो, जसमा जीवनको लागि आवश्यक प्राथमिक रसायनको निर्माण यी छिद्रहरू निटक उपलब्ध धात्विक गन्धक (सल्फाइड) अणुहरूबाट भएको हो। यी अणुहरूको धनात्मक आवेशले ऋणात्मक आवशेका कार्बनिक अणुहरूका चुम्बकको कार्य गर्दछन्। आधुनिक जिनोमिक्स (genomics) का अनुसार वर्तमान प्रोकार्योटेसका पूर्वज यी गहिरा समुद्री छिद्रहरू निकट प्राप्त ब्याक्टेरियासँग धेरै मिल्दाजुल्दा छन्।
महासागरका गहिरा समुद्र तलमा छिद्र वा गहिरा दरारहरूमा तीव्र रूपमा घुलेका ताता ग्यास र खनिज फाउन्टेन्स जस्ता चीज पृथ्वीको आन्तरिक भागबाट निक्लिन्छन्। समुद्रमा पाइने यिनै जलतापीय छिद्रहरूको वरिपरि जीवको विकास भएको हो। ब्याक्टेरियाहरू यी छिद्रहरूको वरिपरि फष्टाउँदछन्। किनभने तिनीहरू १०० डिग्री सेल्सियसभन्दा बढी उच्च तामक्रममा रहनका लागि अनुकूलित हुन्छन् र तातो ग्यासबाट रसायन संश्लेषणद्वारा ऊर्जा प्राप्त गर्दछन्, त्यसकारण यिनीहरूलाई हाइपरथर्मेफिल्स भनिन्छ। यो सूक्ष्मजीवी विकासको दृष्टिकोणले अत्यन्तै प्राचीन हो र शायद पृथ्वीमा सबभन्दा पहिले रहने प्रथम जीव हो। जीवको शुरूवात जहाँसुकै र जसरी भए पनि यो अहिलेसम्म नै रहस्यकै विषय हो। जीवनका लागि आवश्यक कार्बनिक यौगिकहरूलाई जम्मा गरेर कुनै पनि प्रकारले तिनीहरूबाट वृद्धि गर्ने प्रजनन र वंशानुगत नक्साको संचय गर्न तथा त्यसलाई आफ्ना सन्तानहरूमा पारित गर्न सक्षम जीवको उत्पादन गर्न सकिंदैन। वैज्ञानिकहरू जीवको उत्पत्तिमा संभव मध्यवर्ती चरणहरूलाई बुझ्ने कोशिस गरिरहेका छन्। उनीहरूले के आशा गरेका छन् भने निकट भविष्यमा एक दिन प्रयोगशालामा आधारभूत कार्बनिक अणुहरूबाट जीवित रूपलाई उत्पादन गर्न सक्नेछन्।
जीवनको स्वतः अनुकरणीय चयापचयी (मेटाबोलिक) क्यापसुल कहिले उत्पन्न भयो भन्ने कुरा हामीलाई आभास हुँदैन। जीवनको प्रथम अकोशिकीय रूप ३ अरब वर्ष पहिले पैदा भएको हुनुपर्दछ। तिनीहरू विशाल अणु आरएनए, प्रोटीन, पोलिसेक्केराइडहरू हुनुपर्दछ। यी क्याप्सुलहरूले आफ्ना अणुहरूको प्रजनन पनि गरिरहेको हुनुपर्दछ। सर्वप्रथम कोशिकीय प्रकारको जीवको रूप २ अरब वर्षसम्म प्रकट भएन। शायद यिनीहरू एककोशीय जीव रहे। सबै रूप त्यसबेला जलीय वातावरणमै भए। यसरी जीवको अजीवबाट उत्पत्तिको सिद्धान्त आज बहुमतले स्वीकृत भएको छ। तर पनि एकपटक बनिसकेपछि कसरी कोशीकीय जीवनका प्रथम प्रतिनिधिहरूले आजका जटिल जैव विविधता प्राप्त गरे भन्ने कुरामा स्पष्ट हुनुपर्दछ।
जीवनको सबभन्दा प्राचीन प्रमाण सूक्ष्म जीवाश्महरूको रूपमा पाइन्छ, जुन अत्यन्तै सूक्ष्म जीवहरूका अवशेषहरू हुन्। तिनीहरू वर्तमान कालका ब्याक्टेरिया जस्तै थिए। यिनीहरूको आकार १-२ माइक्रोमीटर थियो। यिनीहरू कुनै बाह्य आकृति वा आन्तरिक संरचना नभएका एककोशीय जीव थिए। तातो पानीको झर्नाको उम्लिरहेको पानीमा तथा गहिरो समुद्री ज्वालामुखीका छिद्रको अत्याधिक तापक्रममा प्रारम्भिक जीवका अवशेषहरूलाई आर्कब्याक्टेरिया भनिन्छ। यो शब्द ग्रिकबाट बनेको हो र यसको अर्थ प्राचीन जीव हुन्छ। सबभन्दा पहिले मिथेन ग्यास उत्पन्न गर्ने मिथनोजिंस ब्याक्टेरियाको अध्ययन गरियो। यो सबभन्दा प्राचीन ब्याक्टेरियामध्ये एक थियो र अहिले पनि पाइन्छ। यो सरल संरचनायुक्त थियो र अक्सिजनको अनुपस्थितिमा पनि जीवित रहनसक्दथ्यो। प्राचीन जीवहरूका बाँकी बचेका भागहरू – जस्तो कि हाड, दाँत, खोल, आदिलाई जीवाश्म भनिन्छ। यिनीहरू मुख्यतः सतही चट्टानहरूमा पाइन्छन्। जीवाश्मको समयावधि यूरेनियम लेड विधि, रेडियोधर्मी कार्बन विधि, फिसन ट्रेक तथा इलेक्ट्रोन चक्रीय रेजोनेन्स, आदि विधिहरूबाट थाहा पाइन्छ। कोपोलाइट यस्तै जीवाश्म हुन्छन्, जसमा प्राणीहरूको मलमा फस्फेट लवणहरूको संचय हुन्छ।
पृथ्वीमा जीव सरल एक कोशीय प्राककेन्द्रीय सूक्ष्मजीवहरूको रूपमा भएको थियो। समयको अन्तरालसँगै यी जीव प्रकाश संश्लेषण नामक रासायनिक प्रक्रियाको माध्यमबाट सौर्य ऊर्जाको उपयोग गर्नको लागि विकसित भए। यो प्रक्रियामा अक्सिजनको उत्सर्जन हुन्छ। यी अति प्राचीन स्वपोषित जीवहरूको संश्लेषक प्रक्रियाको माध्यमबाट विस्तारै-विस्तारै पृथ्वीको वातावरणमा अक्सिजन जम्मा भयो र जटिल विषप्रमेयी (heterophilous) जीवहरूको विकास संभव हुनसक्यो। पृथ्वीमा प्रोकेरेयोट (न्यूक्लियसरहित कोशिका) ब्याक्टेरियाका विभिन्न समूहहरूको अतिरिक्त कुनै अन्य जीव थिएनन्। त्यहाँ न कुनै बोटविरूवा र न कुनै जीव नै थिए। लगभग एक अरब वर्ष पहिले युकेरेयोट (न्यूक्लियस सहितका कोशिका) उत्पन्न भए। तर जीव अधिकतम् रूपमा एककोशीय नै थिए। त्यसपछि अचानक ६०० मिलियन वर्ष पहिले क्याम्ब्रियन नामक भूगर्भीय अवधिमा जीवको एक विशालतम् लगभग विस्फोटक विविधीकरण भयो र बहुकोशीय जीव विभिन्न शारीरिक संरचना र जीवनशैलीसँगै ढाड नभएका र उच्च वनस्पतिहरूको रूपमा उत्पन्न भए। जीव वैज्ञानिकहरूले यसलाई क्याम्ब्रियन विस्फोट भन्दछन्।
परम्परागत धार्मिक साहित्यले एउटा विशेष सृष्टिको सिद्धान्त बताउँदछ। यो सिद्धान्तका तीन नामांकन रहेका छन्। पहिलो सिद्धान्तानुसार संसारमा अहिले जति जीव एवम् प्रजातिहरू छन्, तिनीहरू सबै त्यत्तिकै सृजना भएका हुन्। दोस्रो सिद्धान्तानुसार उत्पत्तिको समयदेखि नै यो जैव-विविधता थियो र भविष्यमा पनि यस्तै रहनेछ। तेस्रो सिद्धान्त अनुसार पृथ्वी केवल ४००० वर्ष पुरानो हो र सबै विचारहरूमा तीव्र परिवर्तन १९औं शताब्दीमा आएको हुनुपर्दछ। यो अवधारणा एच. एम. एस. बीगल नामक विश्व-समुद्री जहाज यात्राको क्रममा भएका अवलोकनहरूमा आधारित छ। चार्ल्स डार्विनले के निष्कर्ष निकाले भने विद्यमान सजीवले धेरथोर आपसमा समानता राख्दछन् नै; तर ती जीवरूपहरूसँग पनि समानता राख्दछन्, जुन करोडौं वर्ष पहिलेको समयमा विद्यमान थिए। अहिले धेरै जीवहरू जीवित रूपमा छैनन्। पृथ्वीमा जीवहरूका विभिन्न स्वरूप वर्षौंदेखि गुज्रिदै नष्ट हुँदै गए र पृथ्वीको इतिहासमा विभिन्न अवधिहरूमा नयाँ जीवहरू पैदा हुँदै गए। यहाँ जीवहरूको विस्तारै विकास हुँदै गयो। प्रत्येक जीव संख्यामा विभिन्नता निहित भइरह्यो। जुन विशिष्टताहरू (जलवायु, खाना, भौतिक-कारक, आदि) ले यिनीहरूलाई जीवित रहनमा सहायता दिए, तिनीहरूले यिनीहरूलाई अन्यभन्दा प्रजनन-सक्षम पनि बनाउन सके। अर्को शब्दमा, जीव वा जीवसंख्यामा उपयुक्तता थियो। डार्विनका अनुसार यो उपयुक्तता प्रजनन सम्बन्धी उपयुक्तता नै रहन्छ। जुन वातावरणमा बढी उपयुक्तता थियो, त्यहाँ उनीहरूका धेरै सन्तान भए। अन्तमा उनीहरूको छनौट हुँदै गयो। डार्विनले यसलाई प्राकृतिक छनौट भने र यसलाई विकासको नमूनाको रूपमा लागू गरे। यसरी प्रकृति वैज्ञानिक अल्फ्रेड वालेसले पनि मलयआर्कपेलेगोमा काम गरे। उनले पनि ठीक यही समयमा यही निष्कर्ष निकालेका थिए। समय वित्दै जाँदा स्पष्ट रूपले नयाँ प्रकारका जीव पहिचानमा आउँदै गए। विद्यमान सबै जीवहरूले समानता राख्दछन् तथा एक साझा पूर्वजका हिस्सेदार हुन्छन्। तर यी पूर्वज पृथ्वीको इतिहासका विभिन्न समय (युग, अवधि तथा कालहरू) मा विद्यमान थिए। पृथ्वीको भूवैज्ञानिक इतिहास पृथ्वीको जीव वैज्ञानिक इतिहाससँग निकटतापूर्वक जोडिएको छ। यसको सारांश के हो भने पृथ्वी धेरै पुरानो छ, जुन पुराना विचारहरू अनुसार हजारौं वर्ष होइन; बरू करोडौं-अरबौं वर्ष पुरानो छ।
चार्ल्स डार्विन एक असाधारण जीव वैज्ञानिक थिए। उनको विकासको अवधारणाले जीव र पृथ्वीमा तिनीहरूको विविधताप्रति बुझाइमा क्रान्ति ल्याइदियो। डार्विनको जन्म सन् १८०९ को १२ फेब्रुअरीमा इङ्ल्याण्डमा भएको थियो। उनलाई बचपनदेखि नै प्रकृतिप्रति अत्यन्तै लगाव थियो। यो गुण उनले आफ्ना हजुरबा इरेस्मस डार्विनबाट प्राप्त गरेका थिए। उनका पिता उनलाई चिकित्सा विज्ञानको शिक्षा दिलाउन चाहन्थे तर डार्विनको त्यसमा रूचि थिएन। उनले आफ्ना पिताको अर्को इच्छा अनुसार पादरी बन्ने कुरालाई पनि अस्वीकार गरे। पछि उनलाई एचएमएस बीगल नामक जहाजमा प्रकृति वैज्ञानिकको पद प्राप्त भयो, जसलाई उनले उत्साहपूर्वक स्वीकार गरे। बीगल यात्रा डार्विनको जीवनको एक महत्त्वपूर्ण मोड थियो। सन् १८३१ देखि १८३६ सम्मको आफ्नो यात्राको क्रममा उनले एन्डिज पर्वतमा दुर्लव जीवावशेष, ब्राजिलका एललान्टिक जंगलहरूबाट पशु र वनस्पतिहरूलाई जम्मा गरे र तिनीहरूको व्यापक अध्ययन गरे। उनले ग्यालापागोस द्वीपमा पाइने फिंचेजमा भौगोलिक विभिन्नताहरूको अवलोकन गरे। यी सबै अनुभवहरूबाट डार्विनवादको सिद्धान्तलाई वैज्ञानिक समर्थन प्राप्त भयो। इङ्ल्याण्ड फर्किएपछि उनले आफ्ना वैज्ञानिक सिद्धान्त सम्बन्धित सामग्रीहरू जम्मा गर्न शुरू गरे। उनले आफ्ना विकासका सिद्धान्तहरूलाई प्राकृतिक छनौटको नाम दिए। त्यसपछि सन् १८५९ मा आफ्नो प्रसिद्ध पुस्तक ‘जातिहरूको उत्पत्ति’ प्रकाशित गरे। डार्विनको मृत्यु १९ अप्रिल १८८२ मा भयो।
डार्विनको जैव-विकास सम्बन्धी विचार विस्तारपूर्वक उनको पुस्तक प्राकृतिक छनौटद्वारा जातिहरूको विकासमा सन् १८५९ मा प्रकाशित भएको थियो। डार्विनवादका मुख्य सिद्धान्तहरूमा जीवहरूमा सन्तानोत्पत्तिको प्रचूर क्षमता एक हो। प्रत्येक जीव जातिमा सन्तानोत्पत्तिको क्षमता प्रचुर हुन्छ। उदाहरणको लागि ड्रोसोफिला (small fruit fly) ले एकपटकमा २०० अण्डा पार्छ, जसमा १० देखि १४ दिनमा तिनीहरू अन्य ड्रोसोफिला बन्दछन्। यदि सबै अण्डाबाट उत्पन्न ड्रोसोफिला जीवित रहे र प्रजनन गरे भने ४०-५० दिनमा यिनीहरूको संख्या लगभग २० करोड हुनेछन्। डार्विनवादको अर्को सिद्धान्त जीवन-संघर्ष हो। सन्तानोत्पत्तिको प्रचूर क्षमताको बाबजुद प्रकृतिमा प्रत्येक जातिका जीवहरूको संख्या लगभग स्थिर हुन्छ। यसको कारण के हो भने जीवहरूलाई आफ्नो अस्तित्व कायम राख्नको लागि, वृद्धि र प्रजनन गर्नको लागि खाना, प्रकाश, वासस्थान, प्रजनन-साथी, आदिको आवश्यकता हुन्छ। तर यी सबै प्रकृतिमा सीमित हुन्छन्। अर्थात् जीवले पैदा हुने वित्तिकै यिनीहरूको लागि संघर्ष गर्नुपर्दछ। यसैगरी डार्विनवादको अर्को सिद्धान्त विभिन्नता एवम् तिनीहरूको वंशानुगतता हो, जसानुसार सबै जीवहरूमा विभिन्नताहरू पाइन्छन्। एकै माता-पिताका सन्तानहरू पनि बिल्कुल एकै हुँदैनन्। विभिन्नताहरू केवल रंग-रूपमा मात्र होइन, बरू विभिन्न लक्षणहरूको लागि हुन सक्दछ, जस्तो कि दौडिने शक्ति, रोगहरूसँग लड्ने शक्ति, कार्यक्षमता, आदि। यी भिन्नताहरू कुनै जीवको अस्तित्व कायम राख्नको लागि सहयोग हुन्छन्। यी लाभदायक विभिन्नताहरू पछिको पुस्तामा पुग्दछन्। डार्विनवादको अर्को सिद्धान्त योग्यतमको उत्तर-जीवन अथवा प्राकृतिक छनौट हो। जीवन-संघर्षमा तिनै जीवहरू सफल हुन्छन्, जसमा बढीभन्दा बढी अनुकूल लक्षणहरूयुक्त जीवहरू (योग्यतम्) को एकप्रकारले प्रकृतिद्वारा छनौट हुन्छ। यसैलाई योग्यतमको उत्तरजीवन वा प्राकृतिक छनौट भनिन्छ। यसलाई हरबर्ट स्पेन्सरले सामाजिक विकासको सन्दर्भमा योग्यतम अतिजीवन (survival of the fittest) भने। नयाँ जातिहरूको उत्पत्ति वातावण वा परिस्थितिहरूमा निरन्त बदलिरहेको हुन्छ। परिणामस्वरूप निरन्तर नयाँ लक्षणहरूको प्राकृतिक छनौट भइरहन्छ। उपयोगी विभिन्नताहरू पुस्तौं-पुस्ता एकत्रित भइरहन्छन् र धेरै समयपछि (सयौं-हजारौं वर्षपछि) उत्पन्न जीवहरूका लक्षण मूल जीवहरूभन्दा यति धेरै भिन्न हुन्छन् कि एक नयाँ जाति बन्दछ।
पृथ्वीमा जीवहरूको विकासका कैयौं प्रमाणहरू रहेका छन्। जीवावशेष, वनस्पति र निम्न प्राणीहरूका अवशेषहरूले पृथ्वीमा जीवहरूका विभिन्न प्रकारहरू अस्तित्वमा आउने कुराको अनुक्रमको प्रमाण उपलब्ध गराउँदछन्। जीवावशेष एकत्र गरेपछि तिनीहरूको काल निर्धारण गरिन्छ। सामान्यतः जनावर रहने कुरालाई पृथ्वीको इतिहासको समयको रूपमा लिइन्छ। जीवाश्म वैज्ञानिकहरूले अलग-अलग उमेरका चट्टानहरूमा संकलित जीवावशेषबाट पृथ्वीमा जीवनलाई पुनः संगठित गरिरहेका छन्। उनीहरूले स्पष्ट रूपमा प्रजातिहरू र उच्च वर्गीकरण समूह (जस्तो कि आवृतजीवी वा एक्रोजोआ वनस्पतिहरू, कीरा र पक्षी) विस्तारै-विस्तारै विकास भएको कुरा बताउँदछन्।
प्रथमतः चट्टानहरूभित्र जीवावशेषको रूपमा जीवका कठोर अंगहरूका अवशेषमा विद्यमान छन्। चट्टानहरू गेग्र्यान र हिलोबाट बनेका हुन्छन्। पृथ्वीको एक क्रस्ट सेक्सनबाट के संकेत प्राप्त हुन्छ भने एउटा सतहबाट अर्को सतहको तह पृथ्वीको लामो इतिहासको प्रमाण हो। भिन्न उमेरका चट्टानहरूको सतहमा भिन्न जीवरूपहरू पाइएका छन्, जुन संवभतः त्यो विशेष सतहको निर्माणको समयमा मरेका थिए। तिनीहरूमध्ये केही आधुनिक जीवहरूसँग मिल्दाजुल्दा छन्। तिनीहरूले लोप भएका जीवहरू (जस्तो कि डाइनाशोर) को प्रतिनिधित्व गर्दछन्। उपर्युक्त अध्ययनले के बताउँदछ भने समय-समयमा पृथ्वीमा जीवका रूप बदलिंदै गए र केही रूप विशेष भूवैज्ञानिक कालसम्म नै सीमित रहे। अर्थात् जीवहरूको रूपमा विभिन्न कालमा प्रकट भए। यी सबैलाई पुराजैविक (पेलेओन्टोलोजिकल) प्रमाण भनिन्छ।
जीवावशेषहरूको समयावधिको गणना कसरी हुन्छ र रेडियोएक्टिभ तिथि निर्धारण र यसका सिद्धान्त के हुन् भन्ने बारेमा पनि स्पष्ट हुनुपर्दछ। तुलनात्मक शारीरिक विज्ञान वा आकृति विज्ञानले आजका जीवहरूमा र वर्षौं पहिले विद्यमान जीवहरूको बीचमा एकरूपता एवम् विभिन्नता दर्शाउँदछ। यसप्रकारका समानताहरूलाई साझा पूर्वजहरूसँगै सम्बन्धको रूपमा बुझ्न सकिन्छ। उदाहरणको लागि ह्वेल, चमेरो, चितुवा र मानव (सबै स्तनधारी) ले अगाडिका खुट्टाका हाडहरूमा समानता दर्शाउँदछन्। तिनीहरूले भिन्न क्रियाकलाप सम्पन्न गरेपनि उनीहरूका शारीरिक संरचना समान हुन्छन्; जस्तो कि जाँघको हड्डी, कोश, अन्तर्कोश, कार्पेल्स, मेटाकार्पेल्स तथा औंलाका हड्डीहरू, आदि। भिन्न-भिन्न कार्य सम्पन्न गर्नुको कारणले तिनै रचनाले भिन्न रूप लिन्छन्। यी भिन्न दिशामा जाने विकास हुन् र यी संरचनाहरू सजातीय हुन्छन्, जसमा समान पूर्वज परम्पराहरू हुन्छन्। यो घटनालाई अनुरूपता अथवा होमोलोजी भनिन्छ। यसका अन्य उदाहरण हाडभएका हृदय र मस्तिष्कहरूका हुन्। यसरी नै वनस्पतिमा पनि बोगनबिलिया र क्युकरबिटाका काँडा एवम् जलमा पनि अनुरूपता पाइन्छ। समरूपताले बिल्कुल विपरीत स्थितिलाई देखाउँदछ। पक्षी एवम् पुतलीहरूका प्वाख लगभग एकै देखिन्छन्; तर यिनीहरूमा पूर्वज परम्परा समान छैनन् र न शरीरको संरचनामा नै समानता छ। यद्यपि उनीहरू समान क्रियालाई सम्पन्न गर्दछन्। यसको अतिरिक्त अनुरूपता वा समरूपताको उदाहरण अक्टोपस तथा स्तनधारीहरूका आँखाहरूको हो अथवा पेंग्विन र डल्फिनका पखेटाहरूमा अनुरूपता हो। कसैले के तर्क गर्न सक्दछ भने समान आवासीय विशिष्टताहरूको कारण जीवका समूहहरूले समान अनुकूलित विशिष्टताहरूलाई छनौट गरेका हुन्; किनकि उनीहरूका क्रियाकलाप समान थिए तर पनि तिनीहरूको अनुरूपताको आधार सम्मिलित विकास हो। ठीक यसैगरी अनुरूपता पनि विविधता विकासमा आधारित छ। समरूपताका अन्य उदाहरण शखरखण्ड र आलु हुन्।
तर्कको ठीक त्यही बिन्दुमा प्रोटीन एवम् जीनहरूको कार्यदक्षताका समानताहरू र विभिन्न जीवहरूका निश्चित क्रियाशीलताले; एक सामान्य पूर्वज परम्पराको संकेत दिन्छन्। जैव रासाइनिक समानताहरूले पनि ठीक त्यही साझा परम्परातिर इशारा गर्दछन्; जस्तो कि विभिन्न जीवहरूको बीचमा संरचनात्मक समानताहरूमा थियो।
मानिसले बोटविरूवा र पशुहरूलाई कृषि, बगैंचा, खेल तथा सुरक्षाको लागि छनौट गर्यो र धेरै जंगली जनावरहरूलाई पाल्तु बनायो तथा कृषि उत्पादन गर्यो। यी सघन प्रजनन कार्यक्रमहरूद्वारा नस्ल तयार भए; जुन अन्य वंश प्रकारहरूभन्दा भिन्न थिए; तर पनि ऊ त्यही समूहकै हो। के तर्क दिइन्छ भने मानिसले सय वर्षभित्र नयाँ नस्ल तयार गर्न सक्दछ भने प्रकृतिले पनि यही कार्य लाखौं-लाख वर्षमा किन गर्न सक्दैन।
प्राकृतिक छनौटको समर्थनमा एउटा अर्को अवलोकन इङ्ल्याण्डमा कीराफट्याङ्ग्राहरूको संग्रहको हो। शहरी क्षेत्रहरूमा के देखियो भने औद्योगिकीकरण शुरु हुनुभन्दा पहिले अर्थात् सन् १८५० भन्दा पहिले यदि संग्रह गरिएको हुन्थ्यो भने रूखमा सेता पखेटा भएका फट्याङ्ग्रा काला रंगका फट्याङ्ग्राभन्दा संख्यामा धेरै हुन्थे। औद्योगिकीकरण पछि सन् १९२० मा गरिएका संग्रहले के संकेत दिन्छन् भने ठीक त्यही क्षेत्रमा काला रंगका फट्याङ्ग्रा बहुसंख्यक थिए अर्थात् अनुपात उल्टो भयो। यो अवलोकनको स्पष्टीकरण यसरी दिइयो। औद्योगिकीकरण पछिको अवधिमा उद्योगधन्दाका धुँवा र कालो धब्बाको कारण रूखका हाँगा काला भए । यसरी फट्याङ्ग्राको शिकार गर्ने प्राणीहरूको दृष्टिले काला फट्याङ्ग्रा बचे र सेता फट्याङ्ग्रा धेरै मरे। औद्योगिकीकरण पहिले रूखमा सेता काई उम्रिन्थे र यो पृष्ठभूमिमा सेता फट्याङ्ग्रा बच्थे र काला फट्याङ्ग्रा शिकारीहरूको पक्कडमा आउँथे। काई प्रदुषित स्थानमा उम्रिदैनन्। त्यसकारण फट्याङ्ग्रा यिनीहरूको छद्म आवरणमा सुरक्षित रहन सक्थे। यो मान्यतालाई कुन तथ्यबाट समर्थन प्राप्त हुन्छ भने औद्योगिकीकरण नभएको ग्रामीण इलाकाहरूमा काला फट्याङ्ग्राहरूको संख्या कम थियो। मिश्रित जीवसंख्यामा जुन अनुकूलित भए, तिनीहरू बचिरहे र तिनीहरूको संख्या बढिरहे। स्मरण रहोस् कुनै पनि जीवको पूर्ण रूपले विनाश हुँदैन।
यसरी नै कीटनाशकहरूको अत्याधिक प्रयोगको परिणामस्वरूप कम समयावधिमा केवल प्रतिरोधक प्रकारहरूको चयन भयो। ठीक यही कुरा सूक्ष्म जीवहरूप्रति पनि प्रमाणित हुन्छ, जसको लागि प्रतिजैविक वा अन्य औषधिहरूलाई अकेन्द्रिक जीवहरू र कोशिकारहरूप्रति प्रयोग गरिन्छ। महिनौं र वर्षौंको समयावधिमा प्रतिरोधक जीव तथा कोशिकाहरू प्रकट भइरहेका छन्। यो एक मानवोद्भवी क्रियाहरूद्वारा विकासको एक उदाहरण हो। यसको साथै यसले निश्चयवादको अर्थमा विकासको एक प्रत्यक्ष प्रक्रिया होइन भन्ने कुरा बताउँदछ। यो एक संभावित प्रक्रम हो, जुन प्रकृतिको संयोग, अवसरवादी घटना र जीवहरूमा संयोगजन्य उत्परिवर्तनमा आधारित छ।
पृथ्वीको जीवमण्डलमा जीवाणुहरू, वनस्पतिहरू र प्राणीहरूको अत्याधिक विविधता पाइन्छ। धेरै वनस्पति र प्राणीहरूका लक्षण एक समान हुन्छन्। वासत्वमा सबै जीवित जीवहरूमा वंशानुगत अणु डीएनएसहित कैयौं विशेषताहरू एकसमान रहेका छन्। एकै प्रजातिका जीवहरूमा पनि धेरै भिन्नता पाइन्छ। यसलाई सजिलैसँग जान्न सकिन्छ। तिनीहरू उचाइ, अनुहारको भाव, छालाको रंग जस्ता गुणहरूमा एक-अर्कोबाट भिन्न हुन्छन्। यी कुराहरूले हामीलाई प्रश्न गर्न विवस बनाउँछ कि कसरी र किन जीव रूपहरूको यति धेरै विविधता पैदा भयो ? के यिनीहरू एकै पूर्वजबाट आएका हुन भन्ने कुरा संवभ छ ? किन कुनै पनि प्रजातिभित्र यति धेरै भिन्नता छ ?
डार्विन आफ्नो यात्राको क्रममा ग्यालापागो द्वीपमा गएका थिए। त्यहाँ उनले प्राणीहरूमा एउटा आश्चर्यजनक विविधता देखे। विशेष रोचक कुरा के थियो भने एउटा कालो सानो चरा (डार्विन फिंच) ले उनलाई विशेष रूपले आश्चर्यचकित बनायो। उनले के महसुस गरे भने त्यही द्वीप अन्तर्गत विभिन्न प्रकारका फिंच पनि पाइन्छन्। जति पनि प्रकारहरूलाई उनले परिकल्पना गरेका थिए, ती सबै त्यो द्वीपमा नै विकसित भएका थिए। यी पक्षीहरू मूलतः बीजभक्षी विशिष्टताहरूसँगसँगै अन्य स्वरूपमा परिवर्तनसँगै अनुकूलित भए र चुच्चो माथि उठ्ने परिवर्तनहरूले यिनीहरूलाई कीटभक्षी एवम् शाकाहारी फिंच बनाइदियो। एक विशेष भू-भौगोलिक क्षेत्रसम्म प्रसारित हुनुलाई अनुकूलित विकिरण (एडेप्टिभ रेडिएसन) भनियो। डार्विनको फिंचले यही प्रकारको घटनाको एक सर्वोत्तम उदाहरण प्रस्तुत गर्दछ। एउटा अर्को उदाहरण अस्ट्रेलियाली मार्सुपियल (पालित प्राणी) हो। एक-अर्कोबाट बिल्कुल भिन्न अधिकांश मार्सुपियल एक पूर्वज प्रभावबाट विकसित भए र तिनीहरू सबै अस्ट्रेलियाली महादेश अन्तर्गत रहे। जब एकबाट अर्को अनुकूलित विकिरण एक अलग-थलग भौगोलिक क्षेत्रमा (भिन्न आवासहरूको प्रतिनिधित्व गर्दै) प्रकट हुन्छन्, तब यसलाई सम्मिलित विकास भन्न सकिन्छ। अस्ट्रेलियाका ‘प्लेसेन्टल म्यामल’ जीव पनि यसप्रकारका स्तनधारीहरूको प्रकारको विकासमा अनुकूलित विकिरण प्रदर्शित गर्दछन्, जसमध्ये प्रत्येक मेल खाने मार्सुपियल (उदाहरणतः प्लेसेन्टल ब्वासा तथा तस्मानियाली ब्वासा) समान देखिन्छन्।
डार्विनले केही महत्त्वपूर्ण अवलोलकनद्वारा केही निष्कर्ष निकाले, जसको मद्दतले उनले आफ्ना विकासका सिद्धान्तलाई विकसित गरे। संरचनात्मकदेखि लिएर आणविक लक्षणहरूमा समानताहरूबाट एक स्पष्ट संकेत मिल्दछ कि सबै जीव एकै पूर्वजबाट विकसित भएका हुन्। डार्विनले के निष्कर्ष निकाले भने जीवित रूपहरूको सृजना भएको होइन, बरू ती ३.५ अरब वर्ष पहिले जन्मिएका पैतृक रूप प्रथम जीव थिए र तिनीहरू परिवर्तनद्वारा वंशको रूपमा विकसित भएका हुन्। डार्विन संशोधनसँगै वंशद्वारा नयाँ प्रजातिको उद्भव हुने प्रक्रियाको खोजीमा लागेका थिए। उनले विकासको सम्बन्धमा दुई धेरै महत्त्वपूर्ण सुझाब दिए – सबै प्राणीहरू वंश परम्पराद्वारा जोडिएका छन् ; त्यो प्रक्रियालाई प्राकृतिक छनौट भनिन्छ, जुन पूर्वजहरूबाट प्रजातिहरूको विविधीकरको कारण बन्दछ। डार्विनले विगल जहाजको यात्राको क्रममा केही महत्त्वपूर्ण टिप्पणी गरे। जसानुसार, सबै जीवले अत्याधिक सन्तानोत्पादन गर्दछन्; जनसंख्या लामो अवधिसम्म पनि लगभग स्थिर रहन्छ; एकै प्रजातिका जीवहरूमा पनि विभिन्नताहरू हुन्छन् र यिनीहरूमध्ये केही विभिन्नताहरू वंशानुगत हुन्छन् र आउँदो पुस्तामा जान्छन्। यसका आधारमा डार्विनले केही महत्त्वपूर्ण प्रस्तावनाहरू पेश गरे। उनका अनुसार धेरै जीव जीवित रहँदैनन्। किनभने उनीहरूले जीवित रहनको लागि, खानाको लागि, बिमारीको कारण र प्रतिस्पर्धाको कारण जीवनमा संघर्ष गर्नुपर्दछ। यो जीवन संघर्षमा धेरै ठूलो संख्यामा जीवहरू मर्दछन्। त्यसरी नै जुन जीवमा जीवित रहन र प्रजनन अनुकूल राम्रा गुण हुन्छन् (अर्थात् वातावरणमा जीवित रहनका लागि सबभन्दा अनुकूल गुण), ती गुणहरू सन्तानमा वंशगत हुन्छन्। अर्को शब्दमा प्रकृतिले योग्यतम् जीवहरूलाई छनौट गर्दछ। जीवत्वका कम क्षमताका जीवहरूको पहिले नाश हुन्छ, समर्थ जीवले आफ्नो जीनलाई वंशगत गर्दै जान्छ। त्यसकारण सबभन्दा बढी अनुकूलित जीवहरूको प्रकृतिद्वारा जीवित रहन र सन्तानोत्पत्ति गरी वंश संचालनको लागि चयन भएको हो। डार्विनको समयमा जीव विकासको प्रक्रियाको प्राकृतिक छनौट सिद्धान्त प्रयोगशालामा देखाउन नसकिए पनि पछि वैज्ञानिकहरूले प्रयोगशालाबाट यो सिद्धान्त पुष्टि गरे।
प्राकृतिक छनौटबाट विकास वास्तविक अर्थमा त्यतिखेर शुरू भएको हुनुपर्दछ, जब जीवनका कोशिकीय रूपहरूले आफ्नो चयापचयी क्षमताहरूको विभिन्नताको कारण आफ्नो जीवन आरम्भ गरेको थियो। विकासको डार्वीनीय सिद्धान्तको मूल तत्व भनेको प्राकृतिक छनौट हो। नयाँ स्वरूपको प्रकट हुने दर जीवन-चक्र वा जीवन अवधिसँग सम्बद्ध हुन्छ। तीव्र रूपमा विभाजित हुने रोगाणुमा बहुगुणको क्षमता हुन्छ र एक घण्टाभित्र करोडौं व्यष्टि बन्नजान्छन्। जीवाणुहरू (मानौं ए) को एक कोलोनी एक प्रदत्त विशेष माध्यमबाट बढ्दछ; किनभने खाद्य पदार्थको एक घटकको उपयोग गर्ने क्षमता निहित हुन्छ। माध्यम संघटक विशेष परिवर्तनले जीव संख्या (मानौं बी) को केवल त्यो अंश सामुन्ने ल्याउनेछ, जुन नयाँ परिस्थितिहरूमा उत्तरजीवित रहन सकून्। एक समयावधिको क्रममा यो परिवर्तनले अन्यसँग बाजी मार्दछ र एक नयाँ प्रजातिको रूपमा प्रकट हुन्छ। यो केही दिनभित्रै हुन्छ। ठीक यही कुरा एउटा माछा वा कुखुराको लागि लागू हुन्छ, जसले लाखौं वर्ष लिनेछ; किनकि त्यसको जीवन अवधि वर्षौं लामो हुन्छ। यहाँ हामी के भन्न सक्दछौं भने ‘ए’ को भन्दा ‘बी’ को उपयुक्तता राम्रो हुन्छ। प्रकृतिले उपयुक्ततालाई छनौट गर्दछ। यो कुरा अवश्य स्मरण गर्नुपर्दछ कि यो उपयुक्तता ती विशिष्टताहरूमा आधारित हुन्छ, जुन वंशानुगत हुन्छ। त्यसकारण छनौट हुन तथा विकासको लागि निश्चित रूपमा एक आनुवंशिक आधार हुनुपर्दछ। अर्को शब्दमा केही जीव प्रतिकूल वातावरणमा जीवित रहनमा राम्रोसँग अनुकूलित हुन्छन्। अनुकूलन क्षमता वंशानुगत हुन्छ। यसको आनुवंशिक आधार हुन्छ। अनुकूलनशीलता र प्रकृतिद्वारा छनौटको अन्तिम परिणाम उपयुक्तता हुन्छ।
एकै सामान्य वंशजबाट नयाँ प्रजातिहरूको विकास अर्थात् परिमार्जनसहित अवतरण र प्राकृतिक छनौटको विकास डार्विनादका दुई मुख्य संकल्पनाहरू हुन्। डार्विनभन्दा पहिले एक फ्रान्सेली प्राकृतिक वैज्ञानिकले के भनेका थिए भने जीवहरूको विकास अंगहरूको उपयोग एवम् अनुपयोगको कारण भएको हो। उनले जिराफको उदाहरण दिए, जसले उच्च रूखका हाँगाका पात खानको लागि आफ्नो गर्दनको लम्बाई बढाएर अनुकूलित बनायो। यो लामो गर्दनको प्राप्तिको विशिष्टता उत्तरवर्त्ती सन्तानहरूलाई प्रदान गर्यो र वर्षौं-वर्षपछि जिराफले विस्तारै-विस्तारै यति लामो गर्दन प्राप्त गरेको हो। आज यो अनुमानमा कसैले पनि विश्वास गर्दैन।
डार्विनले वंशगत विभिन्नताहरूको बारेमा कुरा गरे पनि उनी वंशगत गुण कसरी पैदा हुन्छ र एक पुस्ताबाट अर्को पुस्तामा जान्छ भन्ने कुराको जानकार थिएनन्। डार्विनको पुस्तक जातिहरूको उत्पत्तिभन्दा केही वर्ष पहिले मेण्डलको आनुवंशिक विज्ञानका सिद्धान्तहरूमा पनि यो कुराको बारेमा जानकारी थिएन। पछि विकासवादी वैज्ञानिकहरूले मेण्डलको आनुवंशिक विज्ञानको सिद्धान्त र डार्विनका सिद्धान्तहरूको अनुगमन गरेपछि नव-डार्विनवादी सिद्धान्त प्रकाशमा ल्याए। नव-डार्विनवादका अनुसार लैंगिक प्रजनन गर्ने जीवहरूका सन्तानहरूमा उत्परिवर्तनका कारण विभिन्नताहरू हुन्छन्। प्रकृतिले यिनीहरूमध्ये लाभदायक विभिन्नताहरू छनौट गर्दछ। एक जातिका विभिन्न समूहहरूको प्रजनन काल भिन्न भएकोले लैंगिक पृथक्करण हुन्छ, जसको परिणामस्वरूप नयाँ जातिहरूको विकास हुन्छ। पछि जनसंख्या आनुवंशिक विज्ञान र जीव विज्ञानका अन्य क्षेत्रहरूमा प्रगतिको प्रकाशमा आधुनिक संश्लेषणवादको जन्म भयो। डार्विनको प्राकृतिक छनौटद्वारा जातिको विकासको सिद्धान्तलाई आवणविक जीव विज्ञानको आधुनिकतम् प्रगतिपछि पनि समर्थन मिल्यो।
के विकास एक प्रक्रम हो वा एक प्रक्रमको परिणाम हो ? आजको संसार, चाहे त्यो चेतन होस् वा अचेतन, केवल विकासको क्रमिक कहानी हो। संसारको यो कहानीको व्याख्या गर्दा विकासलाई एक प्रक्रमको रूपमा वर्णन गरिन्छ। अर्को शब्दमा पृथ्वीमा जीवनको कहानीको वर्णन गर्दा विकासको प्राकृतिक छनौट नामक एक प्रक्रमका परिणाहरूको रूपमा व्याख्या गरिन्छ। अहिलेसम्म पूर्ण रूपले विकास र प्राकृतिक छनौटलाई एक प्रक्रमको रूपमा हेर्ने वा अज्ञात प्रक्रमका अन्तिम परिणामहरूको रूपमा भन्ने कुरा स्पष्ट छैन। के कुरा संभव छ भने थोमस माल्थसले समष्टि सन्दर्भमा गरेका कार्यहरूले डार्विनलाई प्रभावित गरेको हुनसक्छ। प्राकृतिक छनौट केही खास अवलोकनहरूमा आधारित छ, जुन तथ्यात्मक छ। उदाहरणको लागि प्राकृतिक संसाधन सीमित छ। मौसमी उतारचढावहरूलाई छोडेर जीवसंख्या स्थिर रहन्छ। एक जीव संख्याका सदस्य विशिष्टताहरूमा भिन्न हुन्छन् (वस्तुतः दुई समष्टिहरू एकै जस्ता हुँदैनन्), यद्यपि माथिल्लो रूपमा ती एकै जस्ता देखिन्छन्। तथापि अधिकतम् विविधताहरू वंशगत हुन्छन्। यद्यपि वास्तविकता के हो भने सिद्धान्तको रूपमा जीवसंख्या विस्फोटक रूपले बढ्न सक्दछ। यदि हरेक स्वतन्त्र जीवले अधिकतम् प्रजनन गर्दछ (यो तथ्यलाई ब्याक्टेरियाको जीवसंख्याको वृद्धिबाट हेर्न सकिन्छ) र वास्तविकतामा जीवसंख्याको आकार सीमित छ भन्ने तथ्यको अर्थ संसाधनहरूको लागि प्रयोगिता हुन्छ। केवल केही मात्र अन्यको मूल्यमा उत्तरजीवित रहन सक्दछन्, जुन स्वयं फष्टाउन सक्दैनन्। डार्विनको नवीनता एवम् वैचारिक अन्तर्विचार के थियो भने उनले विविधताहरू वंशानुगत हुन्छन् र जसले एकको लागि संसाधनहरूको लागि उपयोगिता राम्रो बनाउँछ (पर्यावरणबाट धेरै राम्रो अनुकूलन गर्दछ); केवल तिनीहरूलाई प्रजननयोग्य र अधिकाधिक सन्तान छोड्नयोग्य बनाउँदछ भन्ने कुरा दावी गरे। यसरी एक समयावधिको क्रममा धेरै पुस्ताहरू पछि उत्तरजीवीले धेरैभन्दा धेरै सन्तानहरू छोड्नेछन् र तिनीहरूले जीवसंख्याको विशिष्टतामा एक परिवर्तन हुनेछन् र यसप्रकारले पैदा हुनको लागि नयाँ स्वरूप प्रकट हुन्छन्।
विविधताको उद्गम के हो र प्रजातिको उत्पत्ति कसरी हुन्छ भन्ने कुरामा स्पष्ट हुनुपर्दछ। मेण्डलले यस्ता वंशानुक्रमिक कारकहरूको विषय बताए, जसले दृश्य प्रारूप (फेनोटाइप) प्रभावित गर्दछन्। डार्विनले यसतिर ध्यान दिएनन् र विषयमा मौन नै रहे। बीसौं शताब्दीको प्रथम दशकमा ह्यूगो डीभेरिजले इभनिङ प्राइमरोजमा काम गरी उत्परिवर्तन (म्यूटेशन) को विचारलाई अगाडि बढाए। उनले सन् १९०१ मा इभिनिङ प्रिमरोजमा उत्परिवर्तनको खोज गरेका थिए, जसानुसार नयाँ जातिको उत्पत्ति अचानक एकै पटकमा हुने स्पष्ट एवम् स्थायी (वंशगत) आकस्मिक परिवर्तन (उत्परिवर्तन) को कारण हुन्छ। म्यूटेशनको अर्थ जीव संख्यामा अचानक आउने ठूला-ठूला परिवर्तन हुन्। उनको मतानुसार यी ठूला परिवर्तन नै विकासका कारण हुन्, साना-साना विविधताहरू होइनन्; जसमाथि डार्विनले बोलेका थिए। उत्परिवर्तन अनियमित र दिशाहीन हुन्छन्, जबकि डार्विनका विविधताहरू साना-साना र दिशावान छन्। डार्विनका अनुसार विकास क्रमबद्ध हुन्छ, जबकि डीभेरिजका अनुसार उत्पपरिवर्तन नै प्रजाति (स्पिसिज) को उत्पत्तिको कारण हो। उनले यसलाई साल्टेशन (विशाल उत्परिवर्तनको ठूलो कदम) बताए। सम्पूर्ण आनुवंशिक विज्ञानमा गरिएका कुराको अध्ययनहरूबाट यसमा स्पष्टता आयो।
उत्परिवर्तनवादका विभिन्न विशेषताहरू रहेका छन्। नयाँ जातिहरूको उत्पत्ति साना-साना वा अस्थिर विभिन्नताहरूको प्राकृतिक छनौटद्वारा पुस्तौंपुस्ता संचय वा क्रमिक विकासको फलस्वरूप नभएर एकै पटकमा स्पष्ट एवम् स्थायी (वंशगत) आकस्मिक परिवर्तन (उत्परिवर्तन) को परिणामस्वरूप हुन्छ। सबै जीवहरूमा उत्परिवर्तनको प्राकृतिक प्रवृत्ति हुन्छ, जुन कहिले कम वा बढी वा लुप्त हुन सक्दछ। उत्परिवर्तन अनिश्चित हुन्छन्। यिनीहरू कुनै एक अंग विशेषमा अथवा अनेक अंगहरूमा एकसाथ उत्पन्न हुन सक्दछन्। परिणामस्वरूप अंग अचानक लुप्त वा बढी विकसित हुन सक्दछन्। एकै जातिका विभिन्न सदस्यहरूमा विभिन्न प्रकारका उत्परिवर्तन हुन सक्दछन्। उपरोक्त परिवर्तनहरूको परिणामस्वरूप अचानक यस्ता जीवहरू उत्पन्न हुन सक्दछन्, जुन माता-पिताभन्दा यति धेरै भिन्न हुन्छन् कि उनीहरूलाई नयाँ जाति मानिन्छ। प्रकृतिमा स्वयं हुने उत्परिवर्तन प्राकृतिक तथा एक्स-किरणहरू अल्फा-किरणहरू, बिटा-किरणहरू वा रासाइनिक पदार्थहरू (जस्तो मर्टर्ड ग्यास),आदिद्वारा प्रेरित गरिने उत्परिवर्तनलाई कृत्रिम भनिन्छ।
हार्डी-वेनवर्ग सिद्धान्तका अनुसार जीवसंख्यमा युग्म-विकल्पका आवृत्तिहरू र तिनका स्थान सुस्थिर हुन्छन्, जुन एक पुस्ताबाट अर्को पुस्तासम्म निरन्तर रहन्छन्। जीन कोश (कूल जीव संख्यामा जीनहरू र ती युग्म-विकल्प) सदैव अपरिवर्तनीय रहन्छन्। पाँच घटकहरूले हार्डी-वेनवर्ग साम्यतालाई प्रभावित गर्दछन्। यिनीहरू हुन् – जीन पलायन वा जीन प्रवाह, आनुवांशिक विचलन, उत्परिवर्तन, आनुवांशिक पुनर्प्रयोग तथा प्राकृतिक छनौट। जब जीव संख्याको स्थान परिवर्तन हुन्छ, तब जीन आवृत्तिहरू पनि बदलिन्छन्। यो दुवै मौलिक तथा नयाँ जीव संख्यामा हुन्छ। नयाँ समष्टिमा नयाँ जीनहरू र युग्म-विकल्प जोडिन्छ र पुरानो समष्टिबाट यो घट्दछ। यदि यो जीन स्थानान्तरण पटक-पटक हुन्छ भने जीन प्रवाह संभव हनजान्छ। यदि यो परिवर्तन संयोगवस हुन्छ भने आनुवंशिक बहाव (जेनेटिक ड्रिफ्ट) भनिन्छ। कहिलेकाहीँ युग्म-विकल्प आवृत्तिको यो परिवर्तन समष्टिका नयाँ नमूनाहरूमा यति भिन्न हुन्छन् भने त्यो नवीन प्रजाति नै हुनजान्छ। मौलिक रूपमा बहने समष्टि संस्थापक बन्नजान्छ र यो प्रभावलाई संस्थापक प्रवाह भनिन्छ।
जीवविज्ञानका विभिन्न क्षेत्रहरूको प्रगतिसँगै प्राकृतिक छनोटद्वारा विकासको सिद्धान्त अझ धेरै स्वीकार हुँदै गयो। विकासको आधुनिक संश्लेषणात्मकवादमा विकासका इकाई जनसंख्या छन्। जनसंख्याको विकास हुन्छ, जीवको होइन। विभिन्नताहरू जीवनको स्तरमा उत्परिवर्तन र लैंगिक प्रजननद्वारा जनसंख्याका जीन पुलमा आउँछन् (जीन पुल भनेको जीवहरूको जनसंख्यामा विद्यमान सबै जीन)। प्राकृतिक छनौट अनुकूल लाभयुक्त परिवर्तित जीनको बढीभन्दा बढी प्रजननको कारण बन्दछ। आनुवंशिक पदार्थ वा जीन अर्थात् एक जनसंख्याको जीन पुलको विकासलाई सूक्ष्म वा माइक्रो विकास भनिन्छ। सूक्ष्म विकासद्वारा कुनै प्रजातिको जनसंख्यामा अन्तर आउँदछ। जाति र उपजाति (जेनेरा) को स्तरमा विकास र विविधीकरणलाई म्याक्रो विकास वा अनुकूलित विकास भनिन्छ।
सूक्ष्मजीवहरूमा गरिएका प्रयोगहरूले के दर्शाउँदछन् भने जब पूर्व विद्यमान लाभकारी उत्परिवर्तनहरूको छनौट भएपछि त्यसको परिणामस्वरूप दृश्य प्रारूपहरू (फीनोटाइपस्) उत्पत्ति हुन्छ। केही पुस्तापछि यही नव प्रजातिको उत्पत्ति हुनेछ। प्राकृतिक छनौट त्यो प्रक्रम हो, जसबाट धेरै जीवन समान वंशानुगत विविधतालाई प्रजननको बढी अवसर मिल्दछ र सन्तान धेरै संख्यामा उत्पन्न हुन्छन्। तार्किक विश्लेषणले हामीलाई के विश्वास दिलाउँदछ भने उत्परिवर्तन वा युग्मकोत्पादनको क्रममा पुनर्योजन वा जीन प्रवाहको परिणाम जीन आवृत्ति वा युग्म-विकल्पको आगामी पुस्तामा परिवर्तन हुन्छ। प्रजननको सफलताको सहायताबाट प्राकृतिक छनौटले यसलाई भिन्न समष्टिको आभास दिन्छ। प्राकृतिक छनौटले स्थायित्व प्रदान गर्दछ।
जाति प्रजनन गर्ने यस्ता जीवहरूको समूह हो,जुन एक वा अनेकौं जनसंख्याहरूमा रहन्छन्। कुनै जनसंख्याका सम्पूर्ण सदस्यहरूको जीन मिलेर त्यो जनसंख्याको जीन राशि (gene pool) बनाउँदछन्। एक आनुवंशिक रूपबाट समाङ्ग जनसंख्याको दुई वा धेरै जनसंख्याहरू (आनुवंशिक रूपले भिन्न तथा आनुवंशिक पृथक्करणयुक्त हुन्छ) मा टुट्नुलाई जाति निर्माण वा स्पीसिएशन भनिन्छ। जाति निर्माण एलोपेट्रिक स्पिसिएशन र सिम्पैट्रिक स्पीसिएशन गरी दुई प्रकारले हुन्छ। एलोपेट्रिक स्पीसिएशन अनुसार – एक जातिलाई केही जनसंख्याहरूको भौगोलिक पृथक्करण हुन्छ। हजारौं वर्षपछि यी दुई जनसंख्याहरू विकासको क्रममा भिन्न हुन्छन्। जब यी दुई जनसंख्याहरू पुनः सम्पर्कमा आउँछन्, तब यिनीहरूको बीचमा प्रजनन हुँदैन। यसरी प्रत्येक जनसंख्या एक नयाँ जाति बन्दछ। यसरी नै सिम्पेट्रिक स्पीसिएशन अनुसार – एउटा जाति एउटै भौगोलिक क्षेत्रमा रहने दुई जनसंख्याहरू जननिक रूपले पृथक भएपछि यी जनसंख्या विस्तारै-विस्तारै एक-अर्कोबाट भिन्न हुँदै जान्छन् र अलग जाति बन्दछन्।
जैव विकासका विभिन्न प्रमाणहरू रहेका छन्। जसानुसार निराकार एवम् शारीरिकबाट प्रमाण (समजात अंग, समवृत्ति अंग, अवशेष अंग), संयोजक जातिहरूबाट प्रमाण, आनुवंशिकबाट प्रमाण, तुलनात्मक शारीरिक एवम् जैव-रसायनबाट प्रमाण, बायोजेनेटिक नियम अथवा पुनरावृत्ति सिद्धान्त वा भ्रूणविज्ञानबाट प्रमाण पर्दछन्। समजात अंग यस्ता अंग हुन्छन्, जुन रचना र उत्पत्तिमा समान तर कार्यमा भिन्न हुन्छन्; जस्तो कि भ्यागुता, पक्षी एवम् मानिसका अगाडिका अंग। समवृत्ति अंग यस्ता हुन्छन्, जुन समान कार्यहरूमा उपयोग भएकोले समान देखिन्छन् तर तिनीहरूको मूल रचना एवम् भ्रूणीय प्रक्रियामा भिन्नता पाइन्छ; जस्तो कि पक्षी एवम् कीराहरूका पखेटा। अवशेष अंगहरू त्यस्ता हुन्छन्, जुन पूर्वजहरूमा क्रियाशील थिए तर वर्तमानमा कार्यविहीन छन्; जस्तो कि सर्पका अल्पविकसित खुट्टा, कोबी पक्षीका पखेटा, मानिसको छालाका वाल, भर्माफोर्म एपेन्डिक्स, आदि। जीवहरूमा कहिलेकाहीँ अचानक कुनै यस्तो लक्षण विकसित हुन्छ, जुन वर्तमान जातीय लक्षण नभएर कुनै निम्न वर्गीय पूर्वज जातिको हुन्छ। यसलाई प्रत्यावर्तन (atavism) भनिन्छ। संयोजक जातिहरूबाट प्रमाण अनुसार – केही जीव-जन्तुहरूमा तिनीहरूबाट कम विकसित निम्न-वर्गीय जातिहरूको तथा तिनीहरूबाट बढी विकसित उच्च वर्गीय जातिहरूका लक्षणहरूको सम्मिश्रण पाइन्छ। जस्तो कि आर्किओरोटेरिक्स-सरीसृप र पक्षीहरू, निओपिलिना-मोलास्का एवम् एनीलिड, पेरिपेटस-एनीलिडा एवम् अर्थोपोडा, प्रोटोथीरिया-सरीसृप एवम् सतनधारी र यूग्लीना- वनस्पति एम्व जन्तु। आनुवंशिकीबाट प्रमाण अनुसार – विभिन्न जातिहरूका सदस्यहरूमा परस्पर संकरणले जातिहरूका घनिष्ट विकासीय सम्बन्धहरूलाई प्रमाणित गर्दछ, जस्तो कि घोडा तथा गधाको वर्णसंकरबाट खच्चर बन्नु। तुलनात्मक शारीरिक एवम् जैव-रसायनबाट प्रमाण अनुसार – फ्लोकिन एवम् वाल्डले प्राणी तथा वनस्पतिका शारीरिक एवम् जैव-रसायनसँग सम्बन्धित प्रमाण पेश गरे। प्ररम्भिक जीवहरूदेखि लिएर जटिलतम् स्तनधारीहरूसम्म जीवद्रव्य समान रासाइनिक संयोजन, प्रोटोजोआदेखि स्तनधारीहरूसम्म अधिकांश प्राणीहरूमा ट्रिप्सिन नामक इन्जाइमको उपस्थिति, इमाइलेसको उपस्थिति, सबै ढाड भएकाहरूमा थाइरोक्सिन हर्मोनको उपस्थिति तथा हेमोग्लोविनबाट बने। हिमेटिन रवहरूका आकृति एवम् नापमा समानता, मानव र चिम्पान्जीमा रक्त सीरम प्रोटीनमा समानता, आदिले जैव विकासलाई दर्शाउँदछन्। बायोजेनेटिक नियम अथवा पुनरावृत्ति सिद्धान्त वा भ्रूणविज्ञानबाट प्रमाण – ह्याकेलले प्रतिपादित गरेका थिए, जसानुसार व्यक्तिवृत्तमा जातिवृत्तको पुनरावृत्ति हुन्छ अर्थात् प्राणीले आफ्नो भ्रूणावस्थामा पूर्वजका अवस्थाहरूलाई दोहोर्याउँदछ।
यसरी पृथ्वीमा जीवको प्रथम कोशिकीय रूप लगभग २००० मिलियन वर्ष पहिले प्रकट भएको मानिन्छ। विशाल वृहदणुको गैर कोशिकीय पुञ्ज झिल्लियुक्त आवरणसँगै कोशिकामा कसरी विकसित भयो भन्ने कुराको क्रियाविधि अज्ञात नै रह्यो। यिनीहरूमध्ये केही कोशिकाहरूमा अक्सिजनलाई मुक्त गर्ने क्षमता थियो। यो प्रतिक्रिया संभवतः प्रकाश संश्लेषणमा प्रकाश प्रतिक्रिया समान नै भएको हुनुपर्दछ; जहाँ पानी संग्रहित भएर सौर्य ऊर्जाको सहायताले विघटित हुन्छ। यो ऊर्जा संग्राहक वर्णक (रंगद्रव्य) हरूबाट प्रेरित हुन्छ। विस्तारै-विस्तारै एक कोशिकीय जीव बहुकोशिकीय जीवहरूमा परिवर्तन भए। ५०० मिलियन वर्ष पहिले ढाड नभएका (इनभर्टिव्रेट्स) जीब बने र क्रियाशील भए। बंगरारहित माछा संभवतः ३५० मिलियन वर्ष पहिले वकसित भएको हुनुपर्दछ। समुद्री झार एवम् केही वनस्पति संभवतः ३२० मिलियन वर्ष पहिले अस्तित्वमा आए। पृथ्वीमा प्रकट भएका पहिलो जीव वनस्पति नै थिए। पृथ्वीमा पशु अस्तित्वमा आउँदा यी वनस्पति धेरै नै फैलिसकेका थिए। बलिया र सुदृढ पखेटा भएका माछा पृथ्वीमा आउने क्रम लगभग ३५० मिलिन वर्ष पहिले संभव भएको थियो। सन् १९३८ मा दक्षिण अफ्रिकामा एउटा विलुप्त प्रकारको माछा सीलाकेन्थि पक्रिइएको थियो। यस्ता प्राणीहरूलाई लोबेफिन भनियो, जुन पहिले उभयचर प्राणीको रूपमा विकसित भए र जल एवम् स्थल दुवैमा रहे। आज यिनीहरूको कुनै नमूना पाइंदैन। यद्यपि यिनीहरू आधुनिक युगका भ्यागुता र सलमेन्डर जीवहरूका पूर्वज थिए। यिनै उभयचर प्राणी सरीसृपहरूको रूपमा विकसित भए। यिनीहरूले बाक्लो बोक्रा भएका अण्डा पार्दथे, जुन उभयचरका अण्डा जसरी गर्मीमा सुक्दैनन्। अहिले यिनीहरूका उत्तराधिकारी कछुवा, गोही, आदिलाई देख्न सकिन्छ। अर्को २०० मिलियन वर्षपछि विभिन्न आकार एवम् आकृतिका सरीसृपहरूले पृथ्वीमा आधिपत्य जमाए। यतिखेर विशाल फर्न वा टेरिडोफाइट उपस्थित थिए; तर तिनीहरू विस्तारै-विस्तारै मरेर कोइलाका भण्डार बने। यिनीहरूमध्ये केही सरीसृप फेरि पानीमा फर्किए र लगभग २०० मिलियन वर्ष पहिले संभवतः माछा जस्ता सरीसृपको रूपमा प्रकट भए। पृथ्वीमा रहने सरीसृप निश्चित रूपमा नै डायनाशोर थिए। यिनीहरूमध्ये सबभन्दा ठूलो अर्थात् ट्राइरेनोसोरस रेक्स लगभग २० फुट अग्लो तथा विशाल डरलाग्दो तरवार जस्ता दाँत भएको थियो। लगभग ६५ मिलियन वर्ष पहिले अचानक पृथ्वीबाट डाइनाशोर समाप्त भए। यसको वास्तविक कारणहरूको बारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। केही मानिसहरूको मत के छ भने वातावरण एवम् जलवायु परिवर्तनहरूले यिनीहरूलाई मारे। केही मानिसहरू के मान्दछन् भने यिनीहरूमध्ये धेरै पक्षीहरूको रूपमा विकसित भए। सत्य शायद यी दुवैको बीचमा नै निहित छ। त्यो युगका साना सरीसृप आज पनि विद्यमान छन्।
पहिलो स्तनधारी प्राणी स्रिउ (साना मूसाजस्तै म्यामल) थिए; यिनीहरूका जीवावशेष साना आकारका छन्। स्तनधारी प्राणी गर्भासययुक्त हुन्छन् तथा तिनीहरूका शिशु आमाको शरीरभित्र गर्भमा सुरक्षित रहन्छन्। स्तनधारी प्राणी साना-साना खतराहरूप्रति सतर्क रहन र आफ्नो रक्षा गर्मा बुद्धिमान हुन्छन्। सरीसृपहरूको कमी भएपछि स्तनधारी प्राणीहरूले स्थल कब्जा गरेका हुन्। यहाँ दक्षिण अमेरिककी स्तनधारी घोडासँग मिल्दाजुल्दा हिप्पोपोटामस, भालू तथा खरायो थिए। महादेशीय विचलनको कारण दक्षिणी एवम् उत्तरी अमेरिका एक-अर्कोसँग जोडिएपछि यी जीवहरू उत्तर अमेरिकासम्म विस्तार भए र उनीहरू उत्तरी अमेरिकी प्राणी जगतमा छाए। महादेशीय विस्थापनको कारण दक्षिण अमेरिका उत्तरी अमेरिकासँग मिलेपछि यी जीव उत्तरी जन्तुहरूको दबावमा आए र तिनीहरू धेरै संख्यामा विकास भए। महादेशीय विस्थापनकै कारण अस्ट्रेलियाली स्तनधारी (जस्तो कि कंगारू, आदि ) जीवित रहे; किनभने उनीहरूले अन्य स्तनधारी जीवहरूसँग कम प्रतियोगिता गर्नुपर्दथ्यो। केही स्तनधारी प्राणीहरू पूर्ण रूपले पानीमा नै रहन्छन्, जस्तो कि ह्वेल, डलफिन, सिल तथा समुद्री गाइ, आदि। हात्ती, घोडा, कुकुर, आदिको विकासको कुरा विकासका विशिष्ट कहानीहरू हुन्। मानिसको विकास सर्वाधिक सफलताको कहानी हो। मानिससँग भाषा, कौशलता र आत्मबोध र स्वचेतना छ।
मानव विकासको क्रम शुरू हुँदा हिउँको कारण जंगल छाँटिएका थिए। भूमिको सतहका धेरै भाग अझै जंगल नै थिए। एप अर्थात् मानवका पूर्वज एउटै रूखमा रहन्थे तर जंगल छाँटिएपछि तिनीहरू रूखबाट ओर्लिएर आफ्ना चारै अंगहरूको प्रयोग गरी जमिनमा हिड्न लागे। आणविक अध्ययनबाट के पत्ता लाग्दछ भने उभयनिष्ठ पूर्वजहरूबाट बाँदरको विकास (चिम्पान्जी, गुरिल्ला, लंगूर, ओर्याङओट्याङ) र मानिसको विकास लगभग ६ अरब वर्ष पहिले भएको हो। मानव विकासका प्रवृत्तिको दिशा दुई खुट्टाले हिड्ने र एक ठूलो मस्तिष्क हुनु हो।
जीवावशेषकको इतिहासबाट के थाहा हुन्छ भने मानव विकास लगभग १.५ देखि २ मिलियन वर्ष पहिले शुरू भयो। लगभग १.५ मिलियन वर्ष पहिले ड्रायोपिथेकस तथा रामपिथेकस नामक नर-वानर विद्यमान थिए। यिनीहरूका शरीर रौंहरूले भरिएका थिए तथा गुरिल्ला एवम् चिम्पान्जी जसरी नै हिड्थे। रामापिथेकस बढी मानिस जस्ता थिए, जबकि ड्रायोपिथेकस वनमान्छे (एप) जस्ता थिए। इथियोपिया र तान्जानियामा केही जीवावशेष अस्थिपंजर मानव जस्तै प्राप्त भएका छन्। यी जीवावशेषले मानवका विशिष्टताहरू दर्शाउँदछन्, जसले कुन विश्वासलाई अगाडि बढाउँछन् भने ३ देखि ४ मिलियन वर्ष पहिले मानिस जस्ता वनमान्छे गण (प्राइमेट्स) पूर्वी अफ्रिकामा यताउता घुम्दथे। यिनीहरू संभवतः उचाईमा ४ फुटभन्दा ठूला थिएनन्; तर सीधा उभिएर हिड्थे।
लगभग २ मिलियन वर्ष पहिले अस्ट्रेलोपिथेसिन (आदिमानव) संभवतः पूर्वी अफ्रिकाको घाँसे स्थलमा रहन्थे । यिनीहरूलाई मानवको प्रथम पूर्वज मनिन्छ। लूसी नामक अस्ट्रेलोपिथेकसको जीवावशेष अफ्रिकाका चट्टानहरूको भण्डारबाट प्राप्त भएका छन्। त्यसपछि दुई खुट्टाले हिड्ने होमो इरेक्टसका जीवावशेषहरू संसारका धेरै ठाउँहरूमा प्राप्त भएका छन्। प्रमाणहरूले के प्रकट गर्दछन् भने प्रारम्भमा ढुंगाका हतियारहरूबाट यिनीहरू शिकार गर्दथे; तर यिनीहरू शुरूमा भने फलफूल र कन्दमूल नै खान्थे। खोज गरिएका अस्थिपन्जरहरूमध्ये केही धेरै भिन्न प्रकारका थिए। यी जीवहरूलाई पहिलो मानव जस्तै प्राणीको रूपमा बुझियो र त्यसलाई होमो हेबिलिस भनिएको थियो। यिनीहरूको दिमागी क्षमता ६५०-८०० सीसीको बीचमा थियो। उनीहरू संभवतः माँसु खाँदैनथे। सन् १९९१ मा जावामा खोजिएका जीवावशेषले पछिल्लो चरणको बारेमा फरकलाई प्रकट गरेको थियो। यो चरण होमो इरेक्टसको थियो, जुन १.५ मिलियन वर्ष पहिले भएको थियो। होमो इरेक्टसको मस्तिष्क ठूलो थियो, जुन लगभग ९०० सीसीको थियो। होमो इरेक्टसले संभवतः माँसु खान्थ्यो। आगामी विकासक्रमसँगै नियन्थरल र क्रोम्याग्नन मानव बने। यी दुवै होमो स्यापियन्स थिए। नियन्डरथल मानव १४०० सीसी आकार भएको मस्तिष्क लिएर लगभग १००,००० देखि ४०,००० वर्ष पहिले पूर्वी एवम् मध्य एशियाली देशहरूमा रहन्थे। उनीहरू आफ्नो शरीरको रक्षाको लागि छालाको प्रयोग गर्थे र आफ्ना मृतकहरूलाई जमिनमा गाड्दथे। यसरी मानव विकासको क्रमसँगै होमो स्यापियन्स अफ्रिकामा विकसित भएर विस्तारै-विस्तारै महादेश पारी पुगेको थियो र विभिन्न महादेशहरूमा फैलिएको थियो। होमो स्यापियन्स लगभग ५०००० वर्ष पहिले विकसति भयो। यसपछि होमो स्यापियन्स विभिन्न जातिहरूमा विकसित भयो। त्यसपछि मानवको जैविक विकास शायद भएन। यद्यपि मानवको सांस्कृतिक विकास भने तीव्र रूपमा भइरह्यो। ७५,००० देखि १०,००० वर्षको क्रममा हिमयुगमा आधुनिक मानव पैदा भएका हुन्। मानिसले प्रागऐतिहासिक गुफाचित्रहरूको रचना लगभग १८,००० वर्ष पहिले गरेका थिए। कृषि कार्य लगभग १०,००० वर्ष पहिले आरम्भ गरेका थिए र मानव वस्तीहरू बनाउन शुरू गरेका थिए। बाँकी जे भयो, त्यो मानव इतिहास वा वृद्धिको भाग र सभ्यताको प्रगतिको हिस्सा हो।
यसरी मानव वा होमिनिड वंश मानिस वा वनमानिसका पूर्वज थिए। यिनीहरूको उद्भव लगभग २.४ करोड वर्ष पहिले भएको हो। होमिनिड वंशको विकास एशिया तथा अफ्रिकामा भएको हो। डार्विनले आफ्नो पुस्तक ‘डिसेन्ट अफ मेन एण्ड सेलेक्सन इन रिलेसन टू सेक्स’ मा मानवको विकास वनमान्छे जस्ता पूर्वजबाट भएको सिद्धान्तको वर्णन गरेका छन्। लिनियसले मानिसलाई बाँदर र वनमान्छेसँग राखे तथा त्यसलाई वैज्ञानिक नाम ‘होमो स्यापियन्स’ (बुद्धिमान मानिस) राखे। मानवको यसरी वर्गीकरण गरिएको छ : संघ-कोर्डेडा, वर्ग-स्तनधारी, गण-प्राइमेट, उपगण- एन्थ्रोपाइडिया, कुल-होमिनिड, वंश- होमो, जाति-सेपियन्स, उपजाति-सेपियन्स। इलिफेन्ट श्रूज मानवका प्रारम्भिक पूर्वज मानिन्छन्। मानिस र वनमानिसको विकास एक सम्मिलित पूर्वजबाट भएको थियो। प्रोप्लिओपिथेकस मानव-पूर्व पूर्वज हुन्, जसको जीवावशेष लगभग ३.५ करोड वर्ष पहिले ओलिगसीन युगका चट्टानहरूमा पाइएका छन्। यसमा मानिस र वनमानिस दुवैका लक्षण रहेका छन्। मायोसीनमा पाइने कपि लिम्नोपिथेकसलाई गिब्बनको पूर्वज मानिन्छ। आधुनिक चिम्पान्जीका पूर्वज प्रोकोंसललाई मानिन्छ। प्रोकोंसलका जीवावशेष लीकीद्वारा पूर्वी अफ्रिकाबाट प्राप्त गरिएका थिए।
मानवको विकास विभिन्न चरणहरूबाट भएको कुरा अवशेषहरूको अध्ययनबाट थाहा हुन्छ। जसानुसार ड्रायोपिथेकस, रामापिथेकस, अस्ट्रेलोपिथेकस, जावा मानव (होमो इरेक्टस), पेकिङ मानव (होमो इरेक्टस पेकिनेंन्सिस), नियण्डरथल मानव (होमो सेपियन्स नियन्डरथेलेन्सिस), क्रोमेग्नन मानव (होमो सेपियन्स फोसिलिस) र आधुनिक मानव (हामो सेपियन्स) पर्दछन्।
ड्रायोपिथेकस अफ्रिकेन्सको जीवावशेष अफ्रिका र युरोपका चट्टानहरूबाट प्राप्त भएको हो। यसलाई मानिस एवम् वनमानिस दुवैको पूर्वज मानिन्छ। यसले चिम्पान्जीसँग निकटतम् सम्बन्ध देखाउँदछ। यो मायोसीनको समयमा २५० लाख वर्ष पहिले जीवित थियो। यो शाकाहारी थियो कोमल फलहरू तथा पातहरू खान्थ्यो। रामापिथेकसको जीवावशेष लेविसले सन् १९३२ मा शिवालिक पहाडका प्लीयोसीन चट्टानहरूबाट खोजी गरेका थिए। यो १४ देखि १५ मिलियन वर्ष पहिले पश्च-मायोसीनबाट प्लायोसीन युगमा जीवित थियो। रामापिथेकस आफ्ना पछिल्ला खुट्टाहरूमा सीधा उभिएर हिड्दथ्यो। यसले आधुनिक मानव जस्तै कठोर नट र बीज खान्थ्यो। अस्ट्रेलोपिथेकसलाई प्रथम वनमान्छे भनिन्छ। यो लगभग ४ देखि १.५ मिलियन वर्ष पहिले प्लीस्टोसीन युगको क्रममा गुफाहरूमा रहन्थ्यो। यसको टाउकाको क्षमता ५०० देखि ७०० घन सेमी थियो। यो पूर्ण रूपले दुइ खुट्टाले हिड्ने होमिनिड थियो। बंगारा र दाँत मानिसका जस्तै थिए र यो सर्वहारी थियो। यसको खोज एल. बी. बी. लिकीले गरेका थिए। जावा मानवको विकास पूर्व तथा मध्य प्लीस्टोसीनमा लगभग ६००००० वर्ष पहिले भएको थियो। यसको जीवावशेष जावाको त्रिनिल स्थानमा प्राप्त भयो, जसलाई डुबोइसले खोजेका थिए। होमो इरेक्टस नाम भने मेयर (१९५०) ले राखेका थिए। यसको बंगारा ठूला तथा भारी तर आधुनिक मानवको लगभग समान थियो। यसको टाउकाको क्षमता लगभग ४० घन सेमी थियो। औसत शारीरिक लम्बाई १७० सेमी तथा भार ७० किलोग्राम थियो। यो सर्वहारी थियो। यसले सबभन्दा पहिले खाना पकाउन, आफ्नो रक्षा गर्न तथा शिकार गर्न सिकेको थियो। पेकिङ मानवको खोज पाईनेले सन् १९२४ मा चीनको पेकिङमा गरेका थिए। यसका जीवावशेष लगभग ६ लाख वर्ष पुराना थिए। यिनीहरू जावा मानव जस्तै सर्वहारी थिए। यिनीहरूका चिउँडो थिएनन्। यिनीहरू पत्थरका औजारहरूलाई शिकार गर्न तथा आफ्नो रक्षाको लागि प्रयोग गर्थे। नियन्डरथल मानवका जीवावशेष जर्मनीको नियन्डर घाँटीबाट सन् १८५६ मा प्राप्त गरिएका थिए। यिनीहरू सबभन्दा पुराना जीवावशेष हुन्। यिनीहरूको विकास लगभग १५०००० वर्ष पहिले भएको थियो र लगभग २५००० वर्ष पहिले यिनीहरू विलुप्त भए। यिनीहरूको टाउकाको आयतन १४५० घन सेमी थियो। यिनीहरूका बंगारा गहिरा, चिउँडोरहित र खोपडीका हाडहरू चौडा थिए। यिनीहरू सर्वाहारी थिए र आगोको प्रयोग खाना पकाउन र तातो राख्नको लागि गर्थे। यिनीहरू वास्तविक मानिस थिए, जसमा संस्कृतिको उत्पत्ति भयो र यिनीहरू हतियार बनाउन पनि जान्दथे। क्रोम्याग्नन मानव लगभग ५०००० वर्ष पहिले उत्पन्न भए तथा २०००० वर्ष पहिले विलुप्त भए। यिनीहरूका जीवावशेष क्रोम्याग्नन (फ्रान्स) का पत्थरहरूबाट म्याक प्रीगरले सन् १८६८ मा प्राप्त गरे। यिनीहरूको टाउकाको आयतन १६६० घन सेमी थियो, जुन आधुनिक मानवभन्दा पनि बढी थियो अर्थात् यिनीहरू आधुनिक मानवभन्दा बढी बुद्धिमान थिए। यिनीहरू गुफाहरूमा सुन्दर चित्र बनाउँथे। नियन्डरथल र क्रोम्याग्नन दुवै आधुनिक मानवका प्रत्यक्ष पूर्वज मानिन्छन्। आधुनिक मानव अर्थात् होमो सेपियन्स लगभग १०००० वर्ष पहिले अन्तिम हिम युग (glacial period) पछि आधुनिक मानवको विकास क्रो-म्याग्नन मानवबाट भएको हो। यिनीहरूको टाउकाको आयतन लगभग १४६० घन सेमी हुन्थ्यो। यिनीहरूमा सेरेब्रेम अत्याधिक विकसित हुन्छ। आधुनिक मानवका केही प्रजातिहरूमा नीग्रोइड्स, ककेसोइड्स, मोन्गोलोयड्स हुन्। डोशेपीरोका अनुसार होमो सेपियन्स सेपियन्स विस्तारै-विस्तारै होमो सेपियन्स-फ्युचुरियसमा विकसित हुनेछ। यो मानवको मस्तिष्क धेरै उन्नत र जटिल हुन्छ। टाउको गुम्बज आकारको हुनेछ। यो धेरै लामो हुनेछ र शरीर केशरिहत हुनेछ।
यसरी जीवको उत्पत्ति हुनुभन्दा पहिले ब्रम्हाण्ड र पृथ्वीको उत्पत्ति भयो। पृथ्वी अन्य ग्रहहरू, तिनीहरूका उपग्रहहरू, सूर्य, चन्द्रमा र कैयौं आकाशसंगासहित ब्रम्हाण्ड बनेको छ। सौर्यप्रणालीको बीचमा एक तारा (सूर्य) हुन्छ, जसको चारैतिर कैयौं ग्रहहरूले आफ्ना उपग्रहहरूलाई लिएर परिक्रमा गर्दछन्। पृथ्वीलाई ४.५ अरब वर्ष पुरानो मानिन्छ। पृथ्वीको सौर्य प्रणालीको एक हिस्सा हो र सूर्यको चारैतिर यो घुम्दछ। शुरूवातमा पृथ्वी धेरै तातो थियो तर विस्तारै-विस्तारै चीसो भएर सतह सरल चट्टान जस्तै बन्यो। अधिकांश वैज्ञानिकहरूको विश्वास अनुसार जीवको उत्पत्ति यौगिकहरूको रासाइनिक संश्लेषणबाट पानीमा भएको हो। यसरी जीवको उत्पत्ति रासायनिक विकासबाट नै भएको हो अर्थात् जीवको प्रथम कोशिकीय रूपहरूको उदय हुनुभन्दा पहिले द्विअणु पैदा भए। ठूला अणु जस्तो कि प्रोटीनको गठन भएपछि त्यसको चारैतिर एक झिल्ली बन्यो र प्राचीन कोशिका बने। यसरी एककोशीय जीव अस्तित्वमा आयो। क्याम्ब्रियन नामक भूगर्भीय युगमा बहुकोशीय जीवहरूका विभिन्न आकृति, आकार र कार्यहरुमा महान विविधीकरण भयो। यसलाई क्याम्ब्रियन विस्फोटकको रूपमा जानिन्छ। विकास सरल रचनायुक्त पूर्वजहरूमा भूगर्भीय समयको माध्यमबाट परिवर्तित गरी जटिल जीवहरूको गठनको प्रक्रिया हो। प्रथम जीवहरूपछिका उत्तरोत्तर घटनाक्रम कल्पना मात्र हुन्, जसको आधार प्राकृतिक छनौटद्वारा जैव विकास सम्बन्धी डार्विनको विचार हो। विकासको प्रक्रियामा डार्विनको योगदान – साझा पूर्वज र प्राकृतिक छनौटद्वारा विकासको प्रक्रिय हो। डार्विनका अनुसार जीव जीवित रहने क्षमताभन्दा बढी सन्तानहरू उत्पन्न गर्दछन्। किनकि पर्यावरण संसाधन सीमित छ। जीवहरूको जीवत्वको संघर्षमा तिनै जीव बाँच्दछन् र प्रजनन गरी अधिक सन्तान उत्पन्न गर्दछन्, जसमा विभिन्नताहरू अनुकूल हुन्छन्। प्रतिकूल विभिन्नताका जीवहरू नष्ट हुन्छन्। यसलाई नै प्राकृतिक छनौटको सिद्धान्त भनिन्छ। विभिन्नताहरूका आनुवंशिक खोजमा प्रगतिसँगै डार्विनका मौलिक, प्राकृतिक छनौटको सिद्धान्तमा परिमार्जनसहित नवडार्विनवाद वा आधुनिक संश्लेषणवादको विकास भयो। पृथ्वीको उत्पत्तिदेखि लिएर आजसम्मको अवधिलाई प्रिक्याम्ब्रियन, पेलिओजोइक र सीनोजोइकमा विभाजित गरिएको छ। क्याम्ब्रियन विस्फोट र क्रिटेसियस युगमा स्तनधारीहरूको आगमन तथा विकास भएको थियो । करोडौं वर्षको क्रममा जीवनमा विविधता रहेको छ। के मानिन्छ भने जीव संख्याको विविधता परिवर्तित चरणहरूको क्रममा भयो। आवास विखण्डन र आनुवांशिक प्रवाहले नव-प्रजातिको उत्पत्तिमा सहायता पुर्यायो र यसरी विकास संभव हुनसक्यो। शाखाहरूमा अतवरणको स्पष्टीकरण सहजताले गर्यो। तुलनात्मक शरीर रचना, जीवावशेष तथा तुलनात्मक जीव रसायनले विकासका प्रमाण उपस्थित गर्दछन्। मानव विकास लगभग १.५ मिलियन वर्ष पहिले शुरु भयो र अस्ट्रेलोपिथेकस, होमो इरेक्टस र होमो स्यापियन्स यसका प्रमुख चरण थिए। व्यक्तिगत प्रजातिका विकासका कहानीहरूमा आधुनिक मानवको विकास कथा सबभन्दा रोचक छ र के लाग्दछ भने यो मानव मस्तिष्क र भाषामा विकाससँग अगाडि बढ्दछ।
-नारायण गिरी
सन्दर्भ सामग्रीहरू
Evolution, Origin of Life, Concepts and Methods – Pierre Pontarotti Editor, Springer
The Staircase of Life: The Story of the Origin and Evolution of Life and Humankind, by Gerard Alexander Willighagen (Author), Kindle
The Origin and Evolution of Life, Henry Fairfield Osborn (Author), Legare Street Press
Origins & Evolution: Evolution of Our Universe and Planet, and the Origins of Life and Meaning, Frank H Laukien (Author), Evolution Press
The Origins of Life: From the Birth of Life to the Origin of Language by John Maynard Smith (Author), Eörs Szathmáry (Author), Oxford University Press, 2000
The Origin and Early Evolution of Life: Prebiotic Systems Chemistry Perspective, Editors Michele Fiore Emiliano Altamura . MDPI
The Origins of Life, Subject Area(s): Cell Biology; Molecular Biology; Biochemistry; Origin and Evolution of Life, Edited by David Deamer, University of California, Santa Cruz; Jack W. Szostak, Howard Hughes Medical Institute, Massachusetts General Hospital
Origin of the Life of a Human Being: Conception and the Female According to Ancient Indian Medical and Sexological Literature, Rahul Peter Das (Author), Motilal Banarsidass publishers, 2003
Discovering the Origin of Human Life (Science Frontiers) Library Binding – January 1, 2017 by Todd Kortemeier (Author), 12-story Library
The Origin of Life: A Popular Treatise on the Philosophy and Physiology of Reproduction, in Plants and Animals, Including Details of Human Generation, … the Male and Female Organs Frederick Hollick, Forgotten Books publishes
सेपियन्स (मानव-जाति का संक्षिप्त इतिहास), युवाल नोआ हरारी, हिन्दी संस्करण, अनुवाद – मदन सोनी, मंजुल पब्लिसिङ हाउस
चार्ल्स डार्विन, विनोद कुमार मिश्र, हिन्दी संस्करण, प्रभात प्रकाशन
ब्रम्हाण्ड की उत्पत्ति एवं श्रेष्ठ मानव जीवन- डा. महेशचन्द्र बंसल, हिन्दी संस्करण, साहित्यघर जैपुर २०२२
जीव रसायन, डा रन्जना नागर, डा सुस्मिता नायर, हिन्दी संस्करण, राजस्थान हिन्दी ग्रन्थ एकेडेमी, २०१९
जातिहरूको उत्पत्ति, चार्ल्स डार्विन, नेपाली संस्करण, अनुवाद – रमेश सुनुवार र नारायण गिरी, विएन पुस्तक संसार प्रालि
विश्वको रूपरेखा, राहुल सांकृत्यायन, नेपाली संस्करण, अनुवाद – नारायण गिरी, प्रगति पुस्तक सदन
सौर जगत एक परिचय, पुण्य प्रसाद ओली, नेपाली संस्करण,मणिचूड प्रकाशन