गरिबीको दर्दनाक पीडा ! किरिया बस्दा खाने खर्च पनि छैन

‘शववाहनलाई पैसा तिर्न नसक्दा श्रीमान्को शव रिक्सामा राखेर आर्यघाट पुर्‍याएँ’

२८ फागुन, काठमाडौं

दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती थपिएको छ । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही छैन । पशुपति आर्यघाटनस्थित किरियापुत्री भवनमा बसिरहेकी माइलीसँग बिहान–बेलुका खाने सामग्रीसमेत छैन ।

भवनको १०७ नम्बर कोठामा किरिया बारिरहेकी उनले भनिन्, ‘श्रीमान्को मृत्यु भयो । बल्लतल्ल शव दहन गर्‍यौँ । बाँकी संस्कार गर्नैपर्‍यो । किरिया बस्ने ठाउँ बल्लतल्ल मिल्यो । तर, किरिया बस्दा बिहान–बेलुका खाने खानासमेत छैन ।’डेरामा बस्दै आएकी माइली बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे । तर, शनिबार बिहान पाण्डवको अचानक मृत्यु भयो । शव घाटसम्म लैजानै समस्या भयो । उनीहरूले शववाहन बोलाए । केहीबेरमै शववाहन कोठामा आइपुग्यो । तर, आर्यघाटसम्म लैजान चार हजार रुपैयाँ माग्यो । माइलीसँग त्यत्रो पैसा थिएन । शववाहन शव नलिई फर्कियो ।

शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन दबाब दिन थाले । समस्यामा परेकी माइलीले श्रीमान्ले चलाउँदै आएको रिक्सामा शव राखिन् । छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन् । दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे । केन्द्रका कर्मचारीले चार हजार रुपैयाँ शुल्क मागे । शुल्क तिर्न सक्ने स्थितिमा माइली थिइनन् । बिहान करिब १० बजे शव दहन केन्द्र पुगे पनि पैसा नभएकाले दिनभरजसो रिक्सामै राखिन् ।

माइलीलाई घाटकै कसैले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यको फोन नम्बर दिए । वैद्य तुरुन्तै घाट पुगे । शुल्क भुक्तानी गरिदिए । माइलीका लागि श्रीमान्को शव जलाउन बाटो बल्ल खुल्यो । विद्युतीय शव दहन केन्द्रमा माइलीले श्रीमान्को दाहसंस्कार गरिन् । तर, किरिया बस्ने कार्यले उनलाई तनाव दियो । डेरामा घरबेटीले अवरोध गर्ने भए । घाटमै बस्दा कोठाको बहाल तिर्नुपर्ने भयो । रनभुल्लमा परेकी उनले पुनः वैद्यलाई सम्पर्क गरिन् । वैद्यले उनलाई किरिया बस्ने कोठाको प्रबन्ध पनि गरिदिए । अहिले माइली सोही कोठामा किरिया बसिरहेकी छिन्, तर उनलाई बिहान–बेलुका खाने अन्नको अभाव छ ।

 नरोत्तम वैद्य, पूर्वसांसद

आर्थिक अवस्था नाजुक रहेछ । शव दहन गर्ने हैसियतसमेत रहेनछ । शुल्क तिरिदिएर शव दहन काम भयो । किरिया बस्दा लगाउने कपडा किन्ने रकम दिएँ । पछि थाहा भयो, किरिया बस्दा बस्ने कोठा भाडामा लिनसमेत पैसा रहेनछ । त्यो पनि मैले व्यवस्था गरिदिएँ । तर, उनलाई बिहान–बेलुका खाने अन्नको समस्या छ ।

-न.प.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation