
५ चैत, काठमाडौँ
काठमाडौं महानगरकाे सुरक्षा फाैजले सुन्धारामा भएको झडपकाे अकस्मात रिपोर्टिङ गरिरहँदा ममाथि बिनाकारण निर्घात कुटपिट र लुटपाट गर्याे ।
गम्भीर घाइते हुनेगरी महानगरका प्रहरी साँढेहरुद्वारा साे पासविक घटना भएको १८ औँ दिन तथा साे अपराधिक जत्थाकाे आततायी ज्यादतिले निम्त्याएकाे शारीरिक, मानसिक र आर्थिक नाेक्सानीकाे क्षतिपूर्तिमा महानगर प्रशासन अनपेक्षित उदासीन भयाे ।
पाेसिलाे खानपिन तथा उचित स्याहारसुसार पाउनुकाे सट्टा बिरानाे याे केन्द्रीय राजधानीमा चर्काे खडेरी र हावाहुरीकाे हुण्डरीबीच गम्भीर घाइते शरीर बाेकेर श्रमजीवी पत्रकार संघकाे अगुवाइमा थालिएकाे रिले अनसनकाे छैठौं दिनपछि अन्ततः उहाँहरु(बालेन सम्राट)काे प्रशासनलाई सहमतिकाे दायरामा ल्याउन सफल भएका छाैँ ।
आज भएको सहमति अनुसार साे घटनाकाे छानवीन गर्न महानगर प्रशासन विभागका प्रमुख दीपक अधिकारीकाे संयाेजकत्वमा ५ सदस्यीय छानवीन समिति बनेकाे छ । साे समितिले शुक्रबारसम्म न्यायीक प्रतिवेदन सार्वजनिक गर्नेछ ।
निमुखाहरुलाई जस्तोसुकै अन्याय र अत्याचार गरेपनि “झुक्दै नझुक्ने नेपालकाे छाेराे” ठानिएका बालेनरुपि राजसी प्रशासनलाई गल्तीको महसुस गर्दै सहमतिमा ल्याउनकाे निम्ति पहल गर्ने आदरणीय नेतृत्व जन्मदेव जैसी (श्रमजीवी पत्रकार संघका अध्यक्ष) प्रति हार्दिक कृतज्ञतासहित साधुवाद छ ।
घाइते शरीर बाेकेर टन्टलापुर खडेरीमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म थालिएकाे रिले अनसनमा साथ, सहयाेग र ऐक्यबद्धता जाहेर गर्ने सम्पूर्ण सञ्चारमाध्यम तथा आवद्ध पत्रकार मित्रहरु, साहित्यकार, मानवअधिकारकर्मीहरु, कानुन व्यवसायी साथीहरू, आफन्त तथा महानगरकाे ज्यानमारा ज्यादती विरुद्ध एकताबद्ध भएर हाैसला प्रदान गर्नुहुने सम्पूर्ण आफन्तजनहरुमा एकमुष्ट धन्यवाद छ ।
न्यायकाे लडाइँ सकिएकाे छैन । कुख्यात अपराधी एसपी मनाेज लामिछाने नेतृत्वकाे अपराधिक समूह विरुद्ध कानुनी उपचारकाे अब नयाँ ढंगले सुरुवात भएको छ ।
पदमप्रसाद पोख्रेल – प्रधान सम्पादक – प्राणमञ्च राष्ट्रिय मासिक