१४ अर्ब ५४ करोड डलर राष्ट्रिय ढुकुटीमा सञ्चित

२९ जेठ, काठमाडौं

कुनै समय ६ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा नियमित रूपमै थुप्रिन थालेको छ। चालु आवको वैशाखसम्मको तथ्यांक समेटेको प्रतिवेदनले समीक्षा महिनासम्म मुलुकसँग १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ अर्थात् १४ अर्ब ५४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ। यस्तो सञ्चितिमध्ये २२.१ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ भने बाँकी अमेरिकी डलर छ।

चालु आव १० महिनामै मुलुकसँग चार खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा थपिएको प्रतिवेदनमा उल्लेख छ। २०८० असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी मुद्रा रहेको पछिल्ला १० महिनामा २६।२ प्रतिशतले सञ्चिति बढेको हो।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकसँग मात्रै १७ खर्ब २२ अर्ब दुई करोड रुपैयाँ रहेको छ भने राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित छ। सञ्चित कुल विदेशी मुद्राबाट अहिलेको औसतमा १२ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको अनुमान छ। त्यस्तै उक्त सञ्चितिले १५ महिना तीन दिनको वस्तु आयात धान्न पुग्ने प्रतिवेदनमा उल्लेख छ।

घट्दो आयात र बढ्दो विप्रेषणका कारण पछिल्लो समय विदेशी मुद्रा थुप्रिँदै गएको देखिन्छ। राष्ट्र बैंकका अनुसार वैशाखसम्म मुलुक भित्रिने विप्रेषण १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा भने यस्तो आप्रवाह २३.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation