Pranmancha

Advertisment

SKIP THIS

अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित

आईसीसी टी- २० विश्वकप  अन्तरगत पहिलो सुपर एटको खेलमा अमेरिकालाई दक्षिण अफ्रिकाले १८ रनले हराएको छ।

१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए।

हरमित सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए।

छैटौं विकेटका लागि हरमित र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए।

अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो। कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए।

कप्तान एडेन माक्ररम ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए। ओपनर रिजा हेन्ड्रिक्स टप एज लागेर मिडअफमा क्याच आउट हुँदा दक्षिण अफ्रिका २ दशमलव ४ ओभरमा १६/१ को अवस्थामा थियो। दोस्रो विकेटका लागि डिकक र माक्ररमले १ सय १० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा नट आउट रहे। ट्रिस्टन स्टब्स १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहे । अमेरिकाका हरमित सिंह र सौरभ नेत्रवालकरले समान २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation