
मेरो ‘माघ’सँग त
मेरा पुर्खाहरूको हजारौँ वर्षको इतिहास छ
तप-तप रगत चुहाएर
बन्जरभूमिसँग गरेको लामो सङ्घर्षको कथा
र, श्रमले सिँगारिएको हराभरा एउटा भूगोल पनि छ
भन, साथी !
तिम्रो ‘माघी’सँग के छ ?
मेरो माघसँग
मेरा पुर्खाहरूले छाडेर गएका
प्राचीन संस्कृतिहरू छन्
ढिक्री, सुँगुरको मासु र जाँड पनि छ
र, छन् भच्ना–बाँध, कुलो, नदी, ताल–तलैया
पुल-पुलेसो, साधु पाटीपौवा र चौपारीका सुखदुःख पनि ।
मेरो माघसँग
भुरा–खेल छ
जहाँ बनाइन्छ-
एक वर्षको अलिखित नियम कानुन
गरिन्छन्- वर्षभरि गरिएका कामका समीक्षा
र, मिलाइन्छन् लेनदेनका हिसाब-किताब
मेरो माघसँग जोडिएका छन्
एक वर्षे कर्तव्यपालक जिम्मेवारीहरू
बरघर, भल्मन्सा, ककन्डार, चिराकी, अघरिया, चौकीदार …!
मेरो माघसँग
कमैयाका सङ्घर्ष र पीडाहरू छन्
कम्लहरीका दर्दनाक कथाहरू छन्
ओर्गिन्या, सख्लहरा, बिग्लहरा, बिग्लहरीका दुखेसा पनि छन्
ऋण–धन, सौकीका कुरा पनि छन्
मालिकसँगको खुलेयाम विद्रोहका आवाज पनि छन्
कठोर सङ्घर्ष र मुक्तिका स्वरलहरी पनि छन् ।
मेरो माघसँग
विवाह-बन्धनका सन्दर्भ छन्
बसाइँ-सराइका वाध्यता पनि छन्
घरभित्र जुट्नु-फुट्नुका इतिहास पनि छन्
छरछिमेकको साथ-सहयोग पनि छ ।
भन तिम्रो माघीसँग के छ ?
तिम्रो माघीसँग
मेरो माघको कुनै आचरण मिल्दैन त !
खिचरासँग कुनै रङ-अनुहार मिल्दैन त !
तीला संक्राइतसँग पनि यसको व्यवहार मिल्दैन
तिम्रो माघी न पश्चिमको हो न पूर्वको
तिम्रो माघी न थारूको हो न पहाडीको हो न मधेशीको
यो अवैध सन्तान कसको हो ?
जसले मेरो माघलाई बलात्कार गर्न खोज्छ
मेरो खिचरासँग लसपस गर्न चाहन्छ
मेरो खिचडी जुठेल्छ
तीला संक्राइतसँगको हिमचिम बढाउन खोज्दै
माग्छ प्रत्येकसँग एकएक गरी अंश
भन, यो अवैध सन्तान
तिम्रो आफ्नै हो कि तिम्रो मालिकको ?
सुनेको छु-
मेरो गाउँ कमैया-मुक्त भएपछि
कमलहरीहरू मुक्त भएपछि
तिमी माघीलाई होरिङबोर्डमा टाँसेर विज्ञापन गरिरहेछौ
मालिककै भिक्षादानमा बनेको
मञ्चको भित्तामा तस्वीर टाँसेर माघीको
उत्सव-महोत्सव मनाइरहेछौ
यो पनि देखेको छु-
शासकहरूलाई मञ्चको अग्रभागमा राखी
एकोहोरो भाषण गर्न लगाएर
आफू भने बेसुरा थपडी बजाइरहेछौ !
भन साथी
यही हो तिम्रो माघीको स्वरूप ?
यस्तै हो तिम्रो माघीको सौन्दर्य ?
यसरी दशकको हुलिया देखाएर
मेरो माघ मेट्ने षड्यन्त्र
मेरो इतिहाससँग मजाक
र, मेरो मौलिकतामाथि खेलाँची गरेर
मेरो हजारौँ वर्षको थरूहट/थारूवान्-को इतिहास
कसरी लेख्छौ ?
भन न ओ साथी भन !
– यो अवैध सन्तान कसको हो ?