मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई खुलापत्र !

 

अमेरिकी साम्राज्यवादले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको हो भन्दै देशव्यापी अभियान चलाउने, रवि लामिछाने सहकारी ठग हुन् भनेर चित्रबहादुर केसी दिनरात चिच्याउने, तिनै रवि लामिछानेलाई काँधमा बोकेर मोर्चाबन्दी गर्ने सैद्धान्तिक, राजनीतिक आधार के हो ? देशमा राजेन्द्र लिङ्देन र रवि लामिछानेसँग मोर्चाबन्दी गर्नुपर्ने बाध्यता के हो ? संयुक्त वक्तव्यमा रवि लामिछानेलाई सहकारी ठगीमा जोगाउने गरी दृढ र स्पष्ट भाषा प्रयोग गरिएको छ ।

प्रचण्डले आफ्नो स्वार्थको लागि लामिछानेलाई जोगाउने अभिव्यक्ति दिंदै आएका थिए, अब चित्रबहादुर केसी पनि सोही लाइनमा उभिएको देखियो । त्यो डीपी अर्याल र दुर्गा पौडेलको संयुक्त वक्तव्य होइन, चित्रबहादुर केसी र रवि लामिछानेको संयुक्त वक्तव्य हो । प्राविधिक कारणले मात्रै रवि लामिछाने र चित्रबहादुर केसी बैठकमा नगएका हुन् !

राजनीतिमा के गर्ने, के नगर्ने भनेर मोहनविक्रम सिंहले ठम्याउन सक्ने क्षमता गुमाइसक्नुभयो । नत्र शेरबहादुर देउवा र केपी ओलीका विरुद्धमा राजावादी र सहकारी ठगको पार्टीलाई काँधमा हाल्नुपर्ने बाध्यता कसरी आइ लाग्यो ? छ कुनै सैद्धान्तिक, राजनीतिक आधार ? अध्यादेशको कुरा गर्ने हो भने अहिले ल्याइएका अध्यादेश विषयवस्तुका हिसाबले सही छन् । पोखरा काण्डदेखि मोहनविक्रम सिंहले पार्टीको सारा इतिहास दाउमा लगाउनु भएको हो । अब झन् रवि लामिछाने र राजेन्द्र लिङ्देन बोक्न थाल्नु भयो ।

केपी ओलीको रिसले हिजोका दिनमा कांग्रेस बोक्नुभयो, पार्टीलाई धेरै ठूलो क्षति भयो । अब राप्रपा र राजेन्द्र लिङ्देन तथा रास्वपा र रवि लामिछाने बोक्न थाल्नुभयो । यसले पनि ठूलो नोक्सान पुग्ने निश्चित छ । प्रचण्डको सत्ता स्वार्थको गोटी बनेर पालैपालो कांग्रेस, राप्रपा र रवि लामिछाने बोक्दै हिंड्ने हो भने मसालको औचित्य के रहन्छ ? गम्भीर भएर सोच्न आवश्यक छ ।

मोहनविक्रम सिंहले रवि लामिछाने र राजेन्द्र लिङ्देन बोकेर कहाँ पुर्‍याउन खोज्दै हुनुहुन्छ पार्टीलाई ? मसालका नेताहरूलाई मेरो अनुरोध छ, समय घर्किइसकेको छैन, राजावादी र सहकारी ठगहरूको हालीमुहाली भएको मोर्चाबाट पार्टीलाई बाहिर निकाल्नुस् । चित्रबहादुर केसीले राजेन्द्र लिङ्देन र रवि लामिछाने बोकेर हिंड्दै हुनुहुन्छ । अब राजेन्द्र लिङ्देन र रवि लामिछाने जिन्दावाद भन्ने दिन ल्याउनु भयो । एउटै मोर्चामा बसेर रवि लामिछाने जोगाउने संयुक्त वक्तव्य निकालेपछि चित्रबहादुर केसीले कुन मुखले रवि लामिछानेको ठगीको विरोध गर्नुहुन्छ, हेरौंला नि !

तपाईंहरूले जतिसुकै जिद्दी गरे पनि, दर्जनौं तर्क वा कुतर्क गरे पनि प्रचण्डको स्वार्थका लागि राजेन्द्र लिङ्देन र रवि लामिछानेलाई बोकेर बाटो बिराउनुभएको छ । जिद्दी त्यागेर त्यो बेकारको मोर्चाबाट अलग हुनु सही हुनेछ । बाँकी तपाईंहरूकै इच्छा !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation