
केही दिनअघि म एउटा सेमिनारमा सहभागी हुन धुलिखेल अस्पताल गएको थिएँ। त्यहाँ जाँदा मैले एउटा राम्रो कुरा थाहा पाएँ। अस्पतालको क्यान्टिनमा जंकफुड बेचिँदैन रहेछ। जंक फुडले स्वास्थ्यमा नराम्रो असर पार्ने भएकाले अस्पतालले यस्तो खाना नबेच्ने निर्णय गरेको रहेछ।
यो कुरा थाहा पाएपछि मलाई सोच आयो। नेपालका कति अस्पतालहरूले यस्तै निर्णय गरेका होलान्? अस्पताल भनेको मानिसलाई निको पार्ने ठाउँ हो। त्यसैले अस्पतालको क्यान्टिनमा पनि स्वास्थ्यकर खाना मात्र बेच्नु राम्रो हुन्छ। यदि सबै अस्पतालहरूले यस्तो गरे भने मानिसहरूलाई स्वस्थ खाना खाने बानी बस्न मद्दत पुग्ने थियो।
मेरा एक मित्रकी छोरी १६ वर्षकी भइन् । उनको तौल झन्डै 90 केजी छ ।
पहिले माया गरेर छोरीले मागेजस्तो बजारिया र महँगो खाना दिँदा-दिँदा छोरीले घरको खाना नै खान छोडेकी हुन्। चाउचाउ, कोकाकोला र फ्यान्टा उनको खाना हुन्थ्यो । खाजा पनि बिस्कुट र कुरमुरे आदि हुन्थे । उनमा यस्तो कुराको लत बस्दै गयो । र, उनको तौल अस्वाभाविक रुपमा बढ्दै गयो । अहिले उनी अनेक समस्याबाट पीडित छिन् ।
कतिपय स्वास्थ्य समस्या हाम्रै बानी, व्यवहार, भोजन र जीवनशैलीका कारण निम्तिएका हुन्छन् । हाम्रो खानपानमा आएको परिवर्तनले साना बालबालिकादेखि वयस्कसम्म समस्यामा छन् ।
कति आमाबुबाले ‘हामी त छोराछोरीलाई भान्साको काम लगाउँदैनौं, उनीहरूलाई त चिया पनि राम्रोसँग पकाउन आउँदैन’ भनेर बडो गर्वपूर्वक सुनाउँछन्। यो त गर्व गर्ने विषय होइन, लज्जाको कुरा हो। बाल्यकालदेखि नै भान्छामा सहभागी हुन सन्तानलाई प्रेरणा दिइरहनुपर्छ।
खाना बनाउनु एउटा कला हो, पाँचतारे होटेलको जस्तो बनाउन सबैले सक्दैनन् र जरुरत पनि छैन । तर, साधारण खाना बनाउन जान्नु निकै राम्रो हो। अहिले वैदेशिक रोजगारमा जानेहरू आफूसँगै चाउचाउ लिएर जान्छन् । दिनभर काम गरेर कोठा फर्किएपछि चाउचाउ उमालेर खान्छन् । अनि, अस्वस्थ हुन्छन्।
सरकारी र निजी अस्पतालका क्यान्टिनमा प्याकेट बन्द पत्रु खाना, केक, चिसो पेय पदार्थ धमाधम बेचिन्छन्। मानिसहरू मुटु र मिर्गौला खराब पार्ने तिनै वस्तु धमाधम खाइरहेका हुन्छन्, अस्पतालभित्र चाहिं परिवारका कुनै सदस्यको मुटु वा मिर्गौलाको उपचार चलिरहेको हुन्छ।
पत्रु खानाको वर्चस्व कस्तो छ भने, यसलाई विशिष्ट र आकर्षक परिकार मान्दै महत्त्वपूर्ण जमघटहरूमा छुटाइँदैन। अरूको के कुरा, विभिन्न मन्त्रालयका बैठकहरूमा खाजा राख्दा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस राख्छन्। त्यस्ता बैठकमा सहभागी हुँदा म त्यस्तो खाजा बहिष्कार गर्छु। तर, सरकारी कर्मचारी, मन्त्रीगण, नेता स्वादको भुलभुलैयामा लागेर आफू र अरूलाई रोगी बनाउन उद्यत छन्। त्यस्तो खानपानकै कारण होला, प्रायः नेपाली नेताहरू नसर्ने रोगबाट पीडित छन्।
समाजका यी ‘ठूलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर ‘पत्रु खाना’ को कुलतमा परेका छन्। यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ। बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ
















