२४ जेठ, काठमाडौं
इरानका विश्वकप फुटबल खेलाडीहरूले अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन् ।
दुई देशबीच तनावपूर्ण सम्बन्ध र सैन्य द्वन्द्व जारी रहेका बेला लस एन्जलसमा हुने आफ्नो पहिलो खेलभन्दा १० दिनअघि उनीहरूले भिसा पाएका हुन् ।
मेक्सिकोका लागि इरानी राजदूत अबोलफजल पसन्दिदेहले बिहीबार रातिसम्म टोलीले अमेरिकी भिसा नपाएको बताएका थिए । तर ह्वाइट हाउसका एक अधिकारीका अनुसार रातारात खेलाडीहरूको भिसा स्वीकृत गरिएको हो ।
टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले शुक्रबार एक्समा सन्देश लेख्दै भिसा जारी भएको पुष्टि गरेका छन् । उनले इरानी राष्ट्रिय फुटबल टोलीका लागि भिसा प्रक्रिया पूरा गर्न सहयोग गर्ने अंकारास्थित अमेरिकी दूतावास टोलीको प्रशंसा गरेका छन् ।
बीबीसीका अनुसार इरानी वर्ल्ड कप टोलीले अमेरिकी भिसा पाएको वाशिङ्टनबाट पुष्टि समेत भइसकेको छ ।
यद्यपि, यद्यपि, इरानी टोलीका केही प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूले अझै भिसा नपाएको इरानी मिडियाहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इरानको फुटबल महासंघले भने हालसम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
आफूसँग युद्ध लडिरहेको देशलाई स्वागत गर्न लागेको पहिलो अवसर
अमेरिका र इजरायलसँगको युद्धका कारण विश्वकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने फिफा वर्ल्ड कप पनि भूराजनीतिक प्रतिस्पर्धाको रंगमञ्च बनेको अलजजिराले जनाएको छ । उसका अनुसार सन् १९३० मा विश्वकप सुरु भएयता आयोजक राष्ट्रले आफूसँग युद्ध लडिरहेको देशलाई स्वागत गर्न लागेको यो पहिलो अवसर हो ।
भिसा समस्याका कारण इरानले अन्तिम समयमा टोलीको प्रशिक्षण आधार अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारेको थियो । इरानभित्र पनि टोलीको अमेरिका बसाइलाई सकेसम्म छोटो राख्नुपर्ने धारणा बलियो बनेको थियो ।

इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डविरुद्ध समूह ‘जी’ को पहिलो खेल खेल्नेछ । त्यसपछि उसले त्यही शहरमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल सियाटलमा इजिप्टविरुद्ध खेल्ने तालिका छ । इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले सन् २०२६ को फिफा विश्वकपमा राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् ।
‘शान्तिको संकेत’
मेक्सिकोका लागि इरानी राजदूत अबोलफजल पसन्दिदेहका अनुसार अमेरिकाले औपचारिक रूपमा इरानी टोलीलाई आफ्नो भूमिमा बस्न नदिने कुनै घोषणा गरेको छैन ।
तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार सांसदहरूलाई सम्बोधन गर्दै इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिहरूलाई विश्वकप प्रतिनिधिमण्डलमा सहभागी हुन नदिइने बताएका थिए । कोर्प्स इरानी सशस्क्र बलको शत्तिशाली शाखा हो ।
इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई गत डिसेम्बरमा वासिङ्टनमा भएको विश्वकप ड्र कार्यक्रममा प्रवेश अनुमति दिइएको थिएन । उनी पूर्व रिभोल्युसनरी गार्ड कमान्डर हुन् ।
राजदूत पसन्दिदेहका अनुसार विश्वकपमा सहभागी हुने इरानको निर्णयले वासिङ्टनसँगको युद्ध अन्त्यका लागि समाधान खोज्ने उसको प्रयासलाई पनि देखाउँछ ।
उनले भने, ‘इरानले आफ्नो शत्रु ठानिने देशको भूमिमा समेत विश्वकप खेल्न जानु उसले शान्ति चाहेको संकेत हो ।’
इरान र अमेरिकाबीच शान्ति वार्ता सुस्त गतिमा अघि बढिरहेको छ। दुवै पक्ष अन्तरिम सम्झौताका दिशामा बिस्तारै अघि बढेको देखिए पनि सैन्य आक्रमणहरू भने जारी रहेका छन् ।

















