
नेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, संघर्ष, र जनआन्दोलनहरूको शृङ्खला हो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनले जहानिया राणा शासनको अन्त्य गर्दै संवैधानिक राजतन्त्रको प्रारम्भ गर्यो। तर, जनताको आशा अनुरूप व्यवस्था अगाडि बढ्न सकेन। २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै पञ्चायती व्यवस्था लागू गरे। त्यसपछि झन्डै तीन दशकसम्म नेपालमा जनताको राजनीतिक अधिकार खोसियो, बहुदलीय प्रणाली निषेध गरियो, प्रेस स्वतन्त्रता सीमित गरियो, र सरकारको आलोचना गर्नेहरूमाथि कठोर दमन गरियो। यसले जनतामा असन्तुष्टि बढाउँदै लग्यो।
राजा वीरेन्द्रको पालासम्म राजसंस्थाप्रति जनताको केही सहानुभूति थियो। उनी समावेशी सुधारका पक्षधर देखिए पनि उनको शासनकालमा व्यापक राजनीतिक अस्थिरता रह्यो। २०३६ सालको जनमत संग्रहपछि पनि राजतन्त्रले प्रजातान्त्रिक धारलाई दबाउन प्रयास गर्यो। जब २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्यो, त्यसपछि पनि राजसंस्थाले आफ्नो शक्ति गुम्न नदिने रणनीति अख्तियार गर्यो। २०५८ सालमा दरबार हत्याकाण्ड भएपछिको अवस्थाले राजतन्त्रलाई अझ कमजोर बनायो। राजा ज्ञानेन्द्रले २०६१ सालमा प्रत्यक्ष शासन लिँदै संसद् विघटन गरे, राजनीतिक दलका नेताहरूलाई गिरफ्तार गरे, नागरिक स्वतन्त्रतामा कडा नियन्त्रण लगाए, प्रेस स्वतन्त्रता निलम्बन गरियो, र राष्ट्रलाई पुनः निरंकुश शासनतर्फ धकेल्ने प्रयास गरे। त्यसको जवाफस्वरूप, नेपाली जनताले २०६२/६३ को जनआन्दोलन गरे, जसको प्रत्यक्ष नतिजा नेपालमा गणतन्त्र स्थापनाको रूपमा देखियो।
नेपालमा गणतन्त्र आइसकेपछि पनि देशले तीव्र गति लिने आशा गरिए पनि विगत डेढ दशकमा राजनीतिक अस्थिरता, नेतृत्वको असक्षमता, र भ्रष्टाचारका कारण नेपालले अपेक्षित रूपमा आर्थिक प्रगति गर्न सकेन। हिजो सैन्य संकटकाल थियो, आज आर्थिक संकटकाल छ। लाखौँ युवा विदेशी भूमिमा हरुवा–चरुवा बन्न बाध्य भएका छन्। नेपालबाट हली प्रथा हटेको छ, तर रोमानियाका खेतबारीमा नेपाली युवा हली बनेका छन्। दास प्रथा नेपालबाट समाप्त भएको छ, तर कुवेतका भिल्लाहरूमा हजारौँ नेपाली चेलीहरू ‘केयरगिभर’को नाममा बन्धक बनेका छन्। यही अस्थिरता र असन्तोषको लाभ उठाउँदै राजसंस्था पुनर्स्थापनाका पक्षधरहरू अहिले बलियो हुने प्रयास गरिरहेका छन्।
राजावादीहरू आजको समस्याको दोष गणतन्त्रलाई दिँदै राजसंस्थाको पुनरागमनको सपना देखिरहेका छन्। उनीहरूको दाबी छ कि राजसंस्थाले देशलाई स्थिरता दिन सक्थ्यो, तर इतिहासले यो कुरा सत्य होइन भन्ने प्रमाणित गरिसकेको छ। नेपालमा विकासको अवरोध राजतन्त्र थियो। पञ्चायती व्यवस्थामा आर्थिक अनियमितता व्यापक थियो, अवसरहरू सीमित थिए, र निरंकुशताको कारण सिर्जनशील नेतृत्वलाई दबाइन्थ्यो। गणतन्त्रले जनतालाई मतदानमार्फत आफ्नो नेतृत्व छान्ने अधिकार दियो, जुन राजतन्त्रमा कहिल्यै सम्भव थिएन। लोकतान्त्रिक प्रणालीमा समस्या भए पनि समाधान खोज्न सकिन्छ, तर राजतन्त्रमा समस्या समाधानको कुनै विकल्प हुँदैन।
नेपाल अहिले कठिन मोडमा छ। भ्रष्टाचार, दलीय खिचातानी, नीति निर्माणको कमजोरी, र आर्थिक मन्दीका कारण जनतामा असन्तोष बढेको छ। तर यसको समाधान पुनः राजसंस्थालाई फर्काउनु होइन। बरु, लोकतान्त्रिक प्रणालीलाई सुधार गर्दै पारदर्शिता, जवाफदेहिता, र सुशासनको मार्ग अवलम्बन गर्नु जरुरी छ। नेपाललाई स्थायित्व दिन आवश्यक पक्ष भनेको प्रभावशाली नीति निर्माण, भ्रष्टाचार नियन्त्रण, र जवाफदेहितालाई मजबुत बनाउनु हो। यदि नेपालले प्रगति गर्न चाहन्छ भने, अब नयाँ पुस्ताका सक्षम, इमानदार, र दूरदर्शी नेताहरूलाई अघि सार्नुपर्छ।
राजसंस्थाका समर्थकहरूले यदि मुलुकको सेवा गर्न चाहन्छन् भने, तिनीहरूले राजसंस्था पुनर्स्थापनाको एजेन्डा त्यागेर लोकतान्त्रिक प्रक्रियाभित्र रहेर भूमिका निर्वाह गर्नुपर्छ। उदाहरणका लागि, पूर्वराजा ज्ञानेन्द्र शाह वा उनका समर्थकहरू साँच्चै राष्ट्रको सेवा गर्न चाहन्छन् भने, उनीहरूले निरंकुश राजसंस्थाको पुनर्स्थापनाको प्रयास नगरी लोकतान्त्रिक प्रणालीमा समाहित हुनुपर्छ। ज्ञानेन्द्र शाहले राजा बन्ने होइन, बरु राष्ट्रपतिको तयारी गर्ने मार्ग अपनाउनुपर्छ। उनी राजावादी विचारधारा बोकेको कुनै राजनीतिक दल खोल्न सक्छन् वा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व गर्दै राष्ट्रपतिको उम्मेदवारी दिन सक्छन्। यदि उनी साँच्चै सक्षम नेता हुन् भने, जनताको मत लिएर राष्ट्रपतिको भूमिकामा योगदान पुर्याउने अवसर खोज्न सक्छन्। यसो गर्दा, उनीहरूले लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सक्छन्।
नेपालको भविष्य अब निरंकुश शासनमा फर्कने होइन, बरु लोकतान्त्रिक प्रणालीलाई सुधार्दै देशलाई समृद्धिको दिशामा लैजाने हो। नेपाल आमाको कोखबाट पनि ली क्वान यु, महाथिर मोहम्मद, शिन्जो आबे, र मोहम्मद बिन राशिद अल मकतुमहरू जन्मिन सक्छन्। यही भिरपाखामा पनि फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ जूनियर, ए.पी.जे. अब्दुल कलाम, हो चि मिन्ह, र ह्युगो चाभेजहरू जस्ता नेताहरू हुर्किन सक्छन्। नेपाललाई अब निरंकुशतातर्फ फर्काउनु हुँदैन। गणतन्त्रलाई सुधार्दै सक्षम नेतृत्वका साथ अगाडि बढ्नुपर्छ। यही नेपालको समृद्धिको सही मार्ग हो।