
त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र ४ सयभन्दा बढी सामुदायिक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ, तेसै अनुरुप हुन गइरहेको प्यूठानको गौमुखी क्याम्पस मच्छीमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उठाइएका उम्मेदारहरुले अहिले चर्चा पाएका छन। सबै उम्मेदवार छात्रा रहेको नमुना टिम बनाएर अहिले अनेरास्ववियुले सबैको ध्यानाकर्षण गराएको छ ।
प्युठानसँगै बाग्लुङ, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुमका विद्यार्थीहरुले अध्ययन गर्ने यो क्याम्पसमा धेरै छात्राहरु नै छन् । एजुकेशन र कमर्श पढाई हुने यहाँ अहिले ३६६ विद्यार्थी मतदाता रहेका छन् ।
बीबीएस दोस्रो वर्षमा अध्ययरत अबिना श्रेष्ठ अहिले यो प्यानलबाट कोषाध्यक्षको उम्मेदार छिन । कलेजमा धेरै पुरुष साथीहरुले स्ववियुको नेतृत्वमा जान इच्छुक नभएकाले आफूहरुले टोली बनाएर अघि सरेको उनको भनाइ छ ।
उनले भनिन् ‘हामीसँग पढ्ने धेरै पुरुष साथीहरु पनि हुनुहुन्छ तर उहाँहरुले नेतृत्वको लागि त्यति धेरै चासो देखाउनुभएन अनि हामीहरु बसेर अगाडि बढ्नुपर्छ भन्ने योजनाका साथ टोली बनाएका हौं, काम गर्न सकिन्छ, नयाँ सन्देश दिन सकिन्छ भन्ने हिम्मतका साथ मैदानमा आएका छौं’ ।
बीबीएस तेस्रो वर्षमा अध्ययनरत गिता जिसी सचिव पदमा उम्मेदार छिन । उनको पनि अबिनाकै जस्तै भनाइ छ । ‘महिलाहरु पनि नेतृत्वमा जान पाए केही नयाँ काम गर्नसक्छन् भन्ने उदाहरण देखाउन हामीले यो टोली बनाएका हौं, पक्कैपनि हामीलाई विद्यार्थी साथीहरुले सहयोग गर्नुहुनेछ’ ।
बीएड तेस्रो वर्षमा अध्ययन गर्ने स्नेहा केसीले यो प्यानलको नेतृत्व गरेकी छिन ।
त्यस्तै छात्राहरु मात्र उम्मेदवार रहेको अनेरास्ववियुको प्रतिस्पर्धामा तीन ठूला संगठन नेविसंघ, क्रान्तिकारी र अनेरास्ववियु छैठौंको संयुक्त प्यानल बनेको छ ।
तुलनात्मक हिसाबले बलिया संगठनहरु एकातिर भएपनि आफूहरुको स्पष्ट अवधारणा भएकाले सहजै जित्ने दावी केसी नेतृत्वको प्यानलले गरेको छ ।
संयुक्त प्यानलको नेतृत्व प्रविन जिसीले गरेका छन । तर त्यो प्यानलमा पदाधिकारीमा महिलाहरु छैनन । ०६३ सालमा स्थापित यो क्याम्पसमा अहिले ३६६ मतदातामध्ये २९१ जना छात्रा र ७५ जना मात्रै छात्र रहेका छन ।