आज तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै

तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ। विक्रम संवत् अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ। यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ।

वैशाख सङ्क्रान्तिमा शुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ। यसैगरी दोस्रो दिन वैशाख २ गते घरपरिवारका ज्येष्ठजनले सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन्।

मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल  पर्दछ। यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ। बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी सोहिजनको तरकारी,  चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढीबरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन्।

नयाँ वर्षले जीवनमा  शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा सुपाच्य र शरीरलाई स्वस्थ्य राख्ने पदार्थ खाइने परम्परा चलेको मैथिल लोकसंस्कृतिका ज्ञाता जलेश्वरको बखरी बस्तीका बासिन्दा ८७ वर्षीय महेश्वर राय बताउँछन्।

सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरूआज मध्याह्न साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन्। जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation