कश्मिर घटना : सुदीपको शव आजै नेपाल ल्याइने

१० वैशाख, काठमाडौं

कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ ।

हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो ।

आक्रमणमा परेर रिमकला घाइते छिन् ।

परराष्ट्रमन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग शव ल्याउने विषयमा समन्वय गरेकी थिइन् ।

आजै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ हवाई जहाजमा ल्याइने मन्त्री राणाको सचिवालयले बताएको छ । त्यस्तै, लखउनबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो ।

दिल्लीबाट लखनउको उडानका लागि उनीहरुलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना कर्मचारी खटाइएको छ ।

त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरूलाई पुर्‍याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेका छन् ।

घटनास्थलमा रहेका सुदीपका आफन्तहरुले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आजै फर्किने वातावरण मिलाउन मन्त्रालयसँग समन्वय गरेको थियो ।

सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation