
आज बैशाख २३ गते धेरैले बिर्सिसके होलान । आजकै दिन १३ वर्ष अगाडि पोखराको सेती नदीमा भयावह बाढी आएको थियो । जसका कारणले करिव ७० जनाको मृत्यु तथा केही बेपत्ता भएका थिए । सो दिन पोखरा बजारमा त्रासपूर्ण वातावरण भएको थियो ।
पोखरामा यस किसिमको घटना भएको यो पहिलो पटक थिएन । दश हजार वर्ष अगाडि पनि यस्तै घटनाले सिङ्गो पोखरा जलमग्न भएको थियो । त्यस्तै बि.सं. १३१२ मा पनि यस्तै घटनाले नै सिङ्गो पोखरा जलमग्न भएको थियो । १३१२ को घटना आउनु पछाडि सो समय लोमाथाङ केन्द्रविन्दु भएर गएको ७.८ रेक्टरको ठूलो भूकम्प थियो । जसले गर्दा अन्नपूर्ण चौथोको टुप्पाका करिव ५०० मीटर चोइटिएर साब्चे उपत्यकामा खसेर हिमनदी बग्ने बाटो रोकिएको थियो । जसले गर्दा साब्चे उपत्यकामा ठूलो ताल बन्यो । जुन हिमताल फुट्ता सेती नदीमा ठूलो बाढी आयो । ढुङ्गा, माटो, गेग्रान सहितको सो बिशाल बाढीले पोखरा जलमग्न बनाइदिएको थियो । त्यो समय शायद पोखरा उपत्यकामा कुनै बस्ति थिएन होला तसर्थ जनधनको क्षति खासै भएन होला । तर यहाँको संरचनामा भने ठूलो फेरबदल भयो । यस क्षेत्रको वास्तविक जमिनलाई ४० मीटर गेग्रानले छोपिदियो । अहिले सेती जहाँ बगेको छ, त्यो त्यसबेलाको वास्तविक धरातल हो । तर अहिले जहाँ बस्ति बसेको पोखरा छ त्यो बाढीले बगाएर ल्याएको ढुङ्गा, माटो र गेग्रानहरुले ढाकिएको जमिन हो ।
त्यो दिन २०६९ बैशाख २३ गते शनिवारको दिन थियो । शनिवारको दिन भएको हुँदा प्राय पिकनिक जाने तथा रमाइलो गर्ने दिन थियो । हामी पनि मन्दिर दर्शन गर्न पोखराको उत्तरमा पर्ने अकला माई पुगेका थियौ । कतिपय भने खारापानीमा पिकनिकका लागि पुगेका थिए । यस्तै पिकनिक समुहमा पोखराको ला ग्रान्डी इन्टरनेशनल कलेजका बिद्यार्थीहरु पनि थिए । यस कलेजका बिद्यार्थीहरुमा एक बिद्यार्थीको पनि सो बाढीमा मृत्यु भएको थियो । कति तातोपानीमा डुबुल्की मार्न खारापानी नजिकै तातोपानी पुगेका थिए । हामी भने मन्दिर दर्शन पछि मन्दिर देखि तल रहेको सेतीको किनारमा गएर तस्विरहरु खिच्ने योजनाका साथ भिडियो क्यामेरा नै लिएर पुगेका थियौ । अन्य शनिवार झै त्यस शनिवार पनि मन्दिरमा केही भिड थियो । हामी लाइनमा उभिएका थियौ । मन्दिर नजिकै पुग्दै थियौ । एक बृद्ध आमाले म पछाडि बस्दा धेरै उभिन सक्दिन म यहाँ बस्छु भन्दै मेरो अगाडि लाइनमा उभिन आउनुभयो । मैले हुन्छ भनेर ठाउँ दिएँ । जसले गर्दा हाम्रो पालो केही ढिलो आयो ।
पूजा सकिएर हामी नदि तर्फ जाने तैयारी गर्दै थियौ । नदिमा निकै ठूलो आवाज सुनिन थाल्यो । वरपर बस्नेले भन्न लागे बाढी आउन लाग्यो, नदि तर्फ कोही नजानु है । बाढी आउनु पूर्व नै खोलाको बेगको आवाज पहिल्यै सुनिन थाल्ने रहेछ हामीलाई थाहा थिएन । खोला किनारमा बाढी एक किलोमिटर टाढा हुँदा नै अनौठो किसिमको आवाज आउने रहेछ । सबै मन्दिरको नदि तर्फको बारमा उभिएर हेर्न थाल्यौ । यस्तैमा केही बेरमा ठूलो आवाज सहित बाढी आयो । हामी हेरिरह्यौ, नदिले बगाएर ल्याएको वस्तुहरु देख्दा कुनै गाउँ नै बगाएको आभास भइसकेको थियो । ग्यासका सिलिण्डर, गाडीका पाङ्ग्रा, दलिनका काठ दाउराहरु बगाएर ल्याएको थियो । हामीले हेर्दा हेर्दै नदि किनारमा ढुङ्गा बोक्न रोकिराखेको ट्रक पनि बगाएर लगेको थियो ।
निकै बेर हेरे पछि हामी फर्कियौ । बाटोमा सोच्दै आयौ, यदि बुढी आमा लाइनमा हामी अगाडि उभिन नआउनु भएको भए हाम्रो दर्शन गर्ने पालो छिटो आउँथ्यो । हामी पक्कै पनि नदि किनारमा पुग्दथ्यौ होला र खोलामा फोटो खिच्न लागेका हुन्थ्यौ होला । शायद यिनै बुढी आमाले गर्दा हामीलाई नदी किनारमा जानबाट रोकियौ र हामी हुनसक्ने दुर्घटनाको सम्भावनाबाट जोगियौ ।
बाटोमा फर्कदै गर्दा मानिसहरु भागाभाग गर्दै थिए र भन्दै थिए, अब पोखरा डुबाउँछ । सेतीमा ठूलो बाढी आएको छ, नदि किनारमा बस्नु हुदैन । टिभी तथा एफएमका समाचारहरुले यसको चर्चा बढि गरिदिँदा अझ बढि त्रास फैलिएको थियो । पोखरा देखि टाढा हुने र बिदेशमा हुने आफन्तहरुले समेत फोन गरेर पोखरा देखि टाढा सुरक्षित ठाउँमा गएर बस्न सुझाएका थिए ।
बैशाख महिना त्यो पनि कति दिन देखी खासै पानी नपरेको मौसममा पनि सेती नदिमा बाढी आउनु निकै रहस्यमय थियो । त्यस दिनको मुख्य त्रासदी खारापानी क्षेत्रमा परेको थियो । त्यहाँ रहेका घरहरु धेरै जसो बगाएर लगेका थिए । साथै त्यहाँ पिकनिक खान पुगेकाहरुलाई पनि बगाएको थियो । त्यस भयावह बाढीका कारण मृत्यु हुनेहरु पनि अधिकांश खारापानी क्षेत्रकै थियो । खारापानी रमाइलो ठाउँ भएको हुँदा पोखराबाट घुम्न जाने, पिकनिक मनाउन जाने र तातोपानीमा डुबुल्की मार्न जानेहरुका लागि बिशेष ठाउँ थियो । त्यहाँ सानो बजार नै बनेको थियो । तसर्थ पनि शनिवारका दिन बिशेष घुइचो पनि थियो ।
करिव ७० जनाको मृत्यु भएको सो बाढीको प्रत्यक्षदर्शीको रुपमा त्रासदीपूर्ण घटना मैले हेर्ने तथा क्यामेरामा कैद गर्न पाएको थिएँ । भिडियो यूट्यूव च्यानलमा राखेको थिएँ हेर्न सक्नुहुन्छ ।
आखिर बैशाख महिनामा बाढी कसरी आयो भन्ने विषयमा बिज्ञहरुको अध्ययनले अन्नपूर्ण चौथोको बिच भागमा ठूलो हिमपहिरो खसेको जसले साब्चे उपत्यकामा हिमताल बनेको थियो । २८०० मीटर उचाइमा रहेको हिमताललाई पनि सोहोरेर सेतीको साँघुरो भागमा पहिरोले बहाव रोकिएको थियो । जुन अचानक फुटेपछि बाढी आएको निष्कर्ष निकालेका थिए । ६००० मीटरको उचाइबाट २८०० मीटरको उचाइमा खसेको हिमपहिरोमा ठूलो शक्ति भएको हुँदा पनि यो बाढी अनुमान भन्दा ठूलो रहेको भनिएको थियो । यस बाढीले बाटोमा रहेको जमिनहरु पनि काट्दै आउँदा अझै बेग बढ्दै गएको हुँदा पनि खारापानीमा मानविय क्षति बढि भएको थियो । बिहान ८:५५ को समय एक पाइलटले हिमपहिरो खसेको देखेपछि समयमै प्रशासनले त्यस क्षेत्रमा सूचित गराएको भए शायद मानविय क्षति कम हुने थियो होला । तर बिडम्बना हामी कहाँ त्यस्तो संयन्त्रको बिकास नै भएको छैन ।
अन्नपूर्ण क्षेत्रमा बिहान ९ बजे शुरु भएको बाढी खारापानी क्षेत्रमा ९:३८ मा आइपुगेको देखिन्छ । ३० देखि ४० किमी प्रति घण्टाको बेगमा आएको यो बाढीले पोखराको जनजीवनलाई केही समय निकै त्रसित बनाएको थियो । देशबिदेशका आफन्तहरुले फोनमा पोखराबाट सुरक्षित ठाँउमा जान समेत आग्रह गरिसकेका थिए ।
पोखरा अझै पनि सुरक्षित छैन । सेती किनारमा बलमिच्याइले बनाइने संरचनाहरु उच्च जोखिममा छन् । पोखराको उत्तरमा रहेको अन्नपूर्ण चौथो हिमाल सबैभन्दा कमजोर हिमालमा रहेको छ । यस हिमालमा हिमपहिरो गइरहने गर्दछ । दोश्रो पोखरा क्षेत्रमा बि.सं. १३१२ पछि बि.सं. १५६२ जेठ ३१ गते ठूलो भूकम्प गएको थियो । जुन भूकम्पलाई हालसम्म नेपालमा गएका भूकम्पमा सबैभन्दा ठूलो भन्ने गरिन्छ । यस भूकम्प पछि पनि अन्तिम पटक पोखरा जलमग्न भएको पृथ्वीनारायण कलेजमा रहेको भीमढुङ्गाको अध्ययन पछि पत्ता लगाएका छन् । सो अध्ययनले बि.सं. १३१२ मा माछापुच्छ्रे क्षेत्रबाट सो ढुङ्गा बगाएर ल्याएर त्यहाँ रहेपछि पनि सो ढुङ्गा तीन पटक डुबानमा परेको तथ्य प्रकाशित भएको छ । जसले गर्दा पोखरा समय समयमा डुब्ने गरेको देखिन्छ ।
बि.सं. १५६२ पछि यस क्षेत्रमा कुनै पनि किसिमको ठूला भूकम्प नगएको हुँदा भूकम्पका सम्भावना उच्च रहेको छ । यसर्थ यहाँ प्रकृतिसंग खेलवाद हुने गरि ठूला संरचना बनाउँदा भविष्यमा ठूलो क्षति हुने सम्भावनाहरु हुन्छन् ।