
२५ वैशाख, दाङ
दाङमा पनि अब कपडा बैंकमार्फत लत्ताकपडा लेनदेन गर्न सकिने छ । यद्यपि याे लेनदेन पूर्णरूपले नि:शुल्क हुनेछ । साे कुराकाे जानकारी मंगलबार पूर्वी दाङको देउखुरीस्थित गढवा गाउँपालिकामा आयाेजित कपडा बैंकको शुभारम्भ कार्यक्रममार्फत गरिएको हाे ।
हुनेले दिने र नहुनेले लिने अर्थात धनाढ्यले दिने र विपन्नले लिने उदेश्यले देशका लुम्बिनी, बागमती र गण्डकीका १५ जिल्लामा साे अभियान थालिएको कपडा बैंकका अभियन्ता कमल जिसीले बताए । उनले विपन्न परिवार, बाढी पहिराे तथा आगलागी पीडितहरुका घाउमा मलहमपट्टी लगाउने उदेश्यले कपडा बैंककाे जन्म भएको र यसलाई देशव्यापी कपडा संकलन तथा वितरणमा सबै सराेकारवालाहरुले साथ, सहयोग र ऐक्यबद्धता जारी गर्न जरुरी भएको बताए । गढवा गाउँपालिका र कपडा बैंक बीचको लागत साझेदारीमा स्थापना गरिएको उक्त बैंकको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बाेल्दै अध्यक्ष यम नारायण शर्मा पोखरेलले कपडा बैंकको स्थापनाले प्रयोगमा नआएका कपडाहरू पुनः उपयोग गर्न मद्दत पुग्ने र यसले असहाय तथा विपन्न नागरिकहरूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले हाम्रो समाजमा अनुपयोगी वस्तुहरूलाई सदुपयोग गर्न नजान्दा वायु, जल र जमिनकाे प्रदुषण बढ्नुका साथै आर्थिक उन्नति प्रभावित भएकोले कपडा बैंकको याे पवित्र अभियानले सरसफाइ, मानवीय सेवाभावकाे विकास र विपन्नकाे उथ्थानमा काेसेढुङ्गा साबित हुने बताए ।
गाउँपालिकामा स्थापना भएको कपडा बैंकलाई सफल पार्नका लागि सम्पूर्ण गढवावासी एवम् देशवासीको साथ, सहयोग र सहभागीता अपरिहार्य रहेको पालिका अध्यक्षले बताए ।
हरेककाे घरमा राखिएको पुराना तथा नयाँ प्रयोग नगर्ने खालका कपडाहरू कपडा बैंकमा जम्मा गर्ने र प्रशोधन पश्चात गढवा गाउँपालिकाका प्राकृतिक प्रकाेप आगलागी, बाढी पीडित, शितलहर एवम् विपन्न वर्गका समुदायमा आवश्यकता अनुसारको वितरण गरिने आयाेजकले बताएको छ ।
कपडा बैंक शुभारम्भ कार्यक्रममा बाेल्दै गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कपडा बैंककाे अभियानले विपन्न नागरिकहरूलाई सहज बनाउने बताउँदै अन्य क्षेत्रहरूमा समेत यस्तो पहल आवश्यकता रहेकाेमा जाेड दिइन् ।
कपडा बैंकका अध्यक्ष कमला जिसीका अनुसार, “आफ्नो घर, टोल, समाज सफा राखौं – कोही पनि बस्त्रबिहिन नरहोस्” भन्ने मूल मन्त्रका साथ कपडा बैंकको स्थापना गरिएकोले प्रयोगमा नआएका कपडाहरू नजिककाे बैंकमा जम्मा गर्न सबैमा अनुराेध गर्दै त्यसरी जम्मा भएका प्रशोधन गरी आवश्यक व्यक्तिहरूलाई निःशुल्क वितरण गर्ने जानकारी दिए ।
आफ्नो घर टोल र समाजलाई सफा राख्नु कोही कपडा बिहिन नरहुन् भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै पुण्यकार्यमा सहभागी बनौं भन्ने मूल मन्त्रका साथ क्लोथ एण्ड फुड बैङ्क नेपालले प्रयोगमा नआएको प्रयोगजन्य सामग्री पुनः प्रशोधन गरेर आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने कार्यक्रम अन्तर्गत दाङ देउखुरीको गढवा गाउँपालिकासँग सहकार्य गरेर कपडा बैंक सञ्चालनमा ल्याएको हो ।
महानायक राजेश हमालकाे संरक्षकत्व रहेकाे साे बैंक २०७८ सालमा स्थापना भएको र हाल देशभरका १५ जिल्लाका १५७ भन्दा बढी स्थानीय तहमा विस्तार भइसकेको कमल जिसीले बताए ।