
३० वैशाख, रोल्पा
श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, मिझिङमा आज किशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन र महिनावारी सरसफाइ सम्बन्धी एकदिने विशेष कार्यक्रम सञ्चालन भएको छ।
सुनिलस्मृति गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित सो कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा स्वास्थ्य शाखा प्रमुख श्री मोतीम आलमले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रमका दौरान किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यको आधारभूत ज्ञान, शारीरिक तथा मानसिक परिवर्तनका चरणहरू, सुरक्षित व्यवहार, महिनावारी व्यवस्थापन, स्वच्छता र पोषण सम्बन्धी व्यवहारिक सीपहरू प्रदान गरियो।
प्रशिक्षक आलमले किशोर अवस्था जीवनको संवेदनशील मोड भएको उल्लेख गर्दै स्वास्थ्य सम्बन्धी चेतनाले भविष्यलाई सशक्त बनाउने बताए । उनले अझै पनि समाजमा यस्ता विषयहरू लाजको कारण खुलस्त छलफल नभएको उल्लेख गर्दै विद्यालयस्तरमै यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए।
कार्यक्रममा ५० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो भने विद्यालयका शिक्षकहरू, अभिभावक प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको समेत उपस्थिति थियो। सहभागीहरूले यस कार्यक्रमबाट महत्वपूर्ण जानकारी पाएको महसुस गरेका छन्।
स्वास्थ्य शाखाले आगामी दिनहरूमा अन्य विद्यालयहरूमा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।