चन्द्रप्रभामा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न : विद्यार्थीमार्फत समाजमा सन्देश फैलाउने लक्ष्य

९ जेठ, रोल्पा

सुनिलस्मृति गाउँपालिका–३, मिझिङस्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा “उपभोक्ता हित सम्बन्धी जागरण कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता निर्देशनालयका निर्देशक कृष्णप्रसाद गौतमले गरेका थिए भने सहजीकरण अधिकृत हिमाल भुसालले गरेका थिए। कार्यक्रममा निर्देशकसँगै वरिष्ठ शाखा अधिकृत इश्वरचन्द्र अर्याल, लेखा अधिकृत महेन्द्रप्रकाश भुसाल, अधिकृत हिमाल भुसाल लगायतको उपस्थिति रहेको थियो।

वरिष्ठ शाखा अधिकृत इश्वरचन्द्र अर्यालले उपभोग्य वस्तु खरिद गर्दा उत्पादन मिति, लेबलिङ, गुणस्तर जाँच गर्नुपर्ने आवश्यकताबारे प्रकाश पारे। उनले उपभोक्ता चेतनाको सबैभन्दा प्रभावकारी माध्यम विद्यार्थी नै भएकाले, विद्यार्थीमार्फत हरेक अभिभावक र समुदायमा सचेतना फैलाउने जिम्मेवारी शिक्षक र शिक्षालयको भएको बताए।

विद्यालयका सामाजिक शिक्षक घनश्याम अस्तित्वले उपभोक्ता अधिकार र उपभोग सम्बन्धी कानुनी ज्ञान प्रदान गर्दै व्यावहारिक प्रशिक्षण दिए। उनले सामाजिक विषयको नागरिक चेतना एकाइ अन्तर्गत उपभोक्ता अधिकारलाई पाठ्यक्रममा पनि समावेश गर्नु र संविधानको धाराको ४४ मा मौलिक हकका रूपमा व्यवस्था पनि गरिएको जानकारी गराउँदै हरेक उपभोक्ता चनाखो बन्नुपर्ने कुरा बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक रत्नलाल सुवेदीले सबै उपभोक्ताहरूलाई सजग, सतर्क र सचेत बन्नुपर्ने कुरामा जोड दिए।

कार्यक्रमको दौरान उपभोक्ता सचेतना सम्बन्धी शैक्षिक भिडियोहरू पनि प्रदर्शन गरिएका थिए जसले विद्यार्थीहरूलाई दृश्यात्मक तरिकाले बुझ्न थप सजिलो बनाएको थियो।

कार्यक्रममा करिब १०० जना विद्यार्थी र केही शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले विद्यार्थीमार्फत उपभोक्ता अधिकारबारे व्यापक सन्देश प्रवाह गर्ने लक्ष्य लिएको कार्यक्रमका अध्यक्ष समेत रहनुभएका निर्देशनालयका निर्देशक कृष्णप्रसाद गौतमले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation