सिट प्लानिङ गरेर शिक्षक नियुक्तिकाे परीक्षा स्थगित !

२९ असोज, प्युठान

विद्यालय अबोध विद्यार्थीहरूले असल शिक्षा प्राप्त गर्ने ज्ञानको सुन्दर मन्दिर हुन । असल ज्ञानका किस्साहरू बाँड्ने यस्ता मन्दिरहरू पवित्र हुनुपर्दछ । सफा हुनुपर्दछ । व्यवस्थित हुनुपर्दछ । पारदर्शी हुनुपर्दछ । न्यायपूर्ण हुनुपर्दछ । निष्पक्ष हुनुपर्दछ । तपाईँ हामी सबैको चाहाना हरेक संघसंस्था, कार्यालय अन्य सार्वजनिक संस्था र त्यसकाे महत्वपूर्ण पदमा पदासीन व्यक्तिहरु जिम्मेवार, उच्च नैतिकवान् र कर्तव्यनिष्ठ हुनुपर्छ भन्ने नै हाे । एवम् रितले राजनीतिक नेतृत्वकर्ताहरु, कर्मचारी वृत्तका पदाधिकारीहरु सबै जिम्मेवार र व्यवहारिक हिसाबले भ्रष्टाचारमा सुन्ने सहनशीलता अपनाउनु आजकाे अनिवार्यता हाे । यसरी पवित्र ज्ञान, शिक्षा र आदर्श बाँड्ने हाम्रा महत्त्वपूर्ण संवेदनशील संस्था सबै ढंगले उत्कृष्ट बनुन् भन्ने उत्कट चाहाना राख्दै गर्दा पनि व्यक्तिका निहित स्वार्थहरू बाँझिदा दिनप्रतिदिन कुरुप बन्दै गइरहेकाे तितो यथार्थ छ । हाम्रा विद्यालयमा घरी शिक्षक हुँदैनन्, विद्यार्थी हुन्छन् बेन्चडेस्क हुँदैनन् । शाैचालय लगायतका अन्य भौतिक पूर्वाधार विकासकाे स्थिति नाजुक छ । भएको शिक्षकले गुणस्तरीय ढंगले पढाउँदैनन् । आजका एक्काइसौं सदीका नौजवान विद्यार्थीहरु विभिन्न कुलतमा फसेर रनभुल्लमा छन् । हामीले देख्दा, सुन्दा सामान्य लाग्ने एउटा उदाहरण यहाँ खोतल्ने प्रयत्न गरेका छौं । कुरा हो, क्षेत्र विकास माध्यमिक विद्यालय प्युठान नगरपालिका ४ पुण्यखोला प्युठानको ।

त्यहाँ शिक्षण गरिराखेका शरद पौडेलको गत साउनमा अकस्मात निधन भइसकेपछि विगत २ महिनादेखि पद रिक्त भएको स्थितिमा विद्यालय व्यवस्थापन समितिले राहत दरबन्दी शिक्षक पदपूर्तिको लागि प्युठान नगरपालिकाको शिक्षा शाखामा विज्ञापन अनुमोदन गराएर परीक्षा गराउने मिति तय गर्दछ । भदाै ९ गते सार्वजनिक गरिएको साे सूचनाका आधारमा १० जनाले उम्मेदवारी हाल्छन् । जेनजी आन्दोलनका कारण समयमै नभएको परीक्षाको मिति असाेज २७ गते बिहान ११ बजेलाई तय गरिन्छ । परिक्षार्थीलाई साेहिबमाेजिम सूचित गरिन्छ । । परीक्षा छनोट समितिले प्रश्नपत्र तयार गर्छ ।परीक्षा केन्द्र क्षेत्र विकास माविमै गराए पनि हिजो आज विद्यार्थीको भिडभाड छैन र जुन विद्यालयमा शिक्षक नियुक्ति गर्ने हो सोही विद्यालयमा नै परीक्षा गराएर शिक्षक नियुक्ति गर्ने सकिने भएपनि पनि परीक्षा केन्द्र मुक्ति माध्यमिक विद्यालय रातामाटामा तय गरिन्छ । परीक्षामा सहभागी हुने सम्पूर्ण उम्मेदवारहरू जागिर खाने उत्कट अभिलाषासहित परीक्षा केन्द्रमा पुगेर परीक्षाको अन्तिम समय कुरिराखेका हुन्छन् । ११ बजेबाट सुरु हुनुपर्ने लिखित परीक्षा १२ बजेसम्म नगरपालिकाका शिक्षा शाखा प्रमुख बासुदेव पण्डित आइहाल्छु, हिँडिहालें भनेर बाटैबाट अन्तै कतै गायब हुन्छन् । परीक्षा केन्द्रमा परीक्षा समितिका व्यक्ति, विषय विज्ञ, परीक्षार्थी विद्यालयका प्रधानाध्यापक सबै कुरेर बसिरहन्छन् तर अकस्मात पालिकाबाट हिँडे भनेका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख वासुदेव पण्डित परीक्षा केन्द्र नगएपछि परीक्षा स्थगित गराइन्छ । बिनाकारण परीक्षा स्थगित भएपछि परिस्थिति सन्नाटायुक्त हुन्छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा शाखा प्रमुख र मेयरकाबीचमा असमझदारी र रस्साकस्सी हुँदा परीक्षा नियाेजित ढंगले गराइएन भन्ने सामान्य चेतले पनि निष्कर्ष निकाल्न गाह्रो हुँदैन ।

एकाएक परीक्षा स्थगित भइसकेपछि निराश हुँदै प्युठानकाे पश्चिमी कुना भिङ्री, पूर्वी बाँधिकोट लगायत विभिन्न भूगोलबाट परीक्षामा सहभागी हुन आएका नौ जना विद्यार्थी आफ्नो घर फर्कन विवश हुन्छन् । परीक्षा कहिले गरिन्छ भन्ने प्रसङ्गको उत्तर नपाइकन निराश भएर घर फर्किएका विद्यार्थी परीक्षा स्थगित भएको तेस्रो दिनसम्म आइपुग्दा अनुत्तरित नै छन् । घटना असाेज २७ गतेकाे हाे ।

पालिकाकाे शिक्षा शाखा प्रमुखकाे मनाेमानीका कारण परीक्षा स्थगित भएपछि यसलाई कसैगरी खबरदारी गर्नुपर्छ भन्दै प्राणमञ्चकाे टिमसँग जानकारीहरू आइपुग्छन् । हामीले सम्बन्धित निकायबाट जानकारी लिनको निम्ति प्युठान नगरपालिकाका शिक्षा शाखा प्रमुख समेत रहेका अधिकृत वासुदेव पण्डितलाई फोन लगाउँछौँ । उनको फोन बारम्बार गर्दा पनि उठ्दैन । कुनै जरुरी विषयमा सल्लाह गर्नु छ, फोन गर्नुस् वा फोन उठाउनुस् भनेर म्यासेज गर्दा पनि कुनै रेस्पाेन्स नभएपछि सोही शाखामा कार्यरत प्रा.स. प्रतिमा पौडेलको नम्बरमा फोन लगाएपछि उहाँको फोन तुरुन्त उठ्छ र शिक्षा शाखा प्रमुखको फोन किन उठ्दैन, अफिस आउनुभएको छ कि छैन वा नजिकै हुनुहुन्छ भने फाेन दिनुस् न त भनेपछि कुराकानी गर्ने माैका जुर्छ ।

एकाएक परीक्षा स्थगित गर्नुपर्ने के आपत आइपर्यो र परीक्षा स्थगित गर्नुभयो, अब परीक्षा कहिले गराउने हाे ? प्युठान नगरपालिकामा वा साेही विद्यालय क्षेत्र विकास माविमा गर्न सक्ने परीक्षाको केन्द्र किन मुक्ति माध्यमिक विद्यालय रातामाटा सार्नुभयो भनेर प्रश्न गर्दा उनी निकै झर्किन्छन्, धम्की दिन्छन्, विषयान्तर गर्छन् र कुनै पनि उल्लेखित विषयकाे जिम्मेवार प्रतिक्रिया राख्दैनन् । उनले त उल्टै लोकसेवा आयोगले परीक्षा स्थगित गराउँछ भने याे सामान्य परीक्षा स्थगित गरेर हजुरकाे के सकियाे र भनेर प्रतिप्रश्न गर्छन् ।

उनले आफू काममा व्यस्त भएकाेले परीक्षा स्थगित गर्न भनेकाे ठाडाे प्रतिक्रिया राख्दै पदीय मर्यादा र जिम्मेवारीभन्दा बाहिर गएर सञ्चार माध्यमसँग जुहारी खेल्न तम्सिन्छन् । घटनाकाे जानकारी लिने कुरा पनि सूचना अधिकारीमार्फत आउन उर्दि जारी गर्दै फाेन काट्छन् । पुनः हामीले कैयौंपटक हानेकाे फाेन उठ्दैन ।

निजकाे मानसिक अवस्था ठिक नभएको हाे कि भनेर उक्त गैरजिम्मेवारपूर्ण जवाफको उत्तर खोज्दै हामीले प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीलाई फोन गर्दा यस विषयमा आफूलाई त्यति धेरै जानकारी नभएको र यो समस्या तत्काल हल गरिहाल्ने सामान्य जवाफ राख्छन् । वासुदेव पण्डित कार्यालयको शिक्षा शाखा प्रमुख सम्हालेर बसिरहँदा किन गैरजिम्मेवार बनेकाे ? कि डिप्रेसनमा पर्नुभएको छ वा कुनै अम्मलमा फस्नुभएकाे छ ? भन्ने हाम्रो जिज्ञासामा मेयरले वाशुदेवसँग उचित जवाफ माग्ने प्रतिबद्धता जनाउँछन् । प्युठान नगरपालिकामा किन सधैं विवाद मात्रै निस्कन्छ, किन जनप्रतिनिधि र कर्मचारीकाे तादम्यता मिलेकाे छैन भन्ने हाम्रो जिज्ञासामा याेगीले आफूले निहित स्वार्थ केही नराखेकाे राम्रो र क्षमतावान उम्मेदवार शिक्षक बनाेस् भन्ने चाहना राखेकाे जिकिर गर्छन् ।

उता यस विद्यालयको शिक्षक नियुक्तिको परीक्षामा देखिएको समस्याका सवालमा विद्यालयका प्रधानाध्यापक पिताम्बर खड्कासँग कुराकानी गर्दा पालिकाले सबै सूचना सार्वजनिक गर्न भनी परीक्षाको अन्तिम तयारी गरिरहँदा अकस्मात शिक्षा शाखा प्रमुख नआइदिएपछि आफूहरू पनि समस्यामा परेको र विद्यार्थीहरुलाई परीक्षा हुँदैन भन्ने अमूर्त प्रतिक्रिया दिन विवश भएको बताए । परीक्षार्थीलाई कक्षाकाेठामा प्रवेश गराएर १ घण्टा सम्म कुराएर अन्तिममा परीक्षा स्थगित गर्नुपर्दा नैतिक रुपमा पनि आफूलाई निकै अप्ठ्यारो परेकाे बताए । प्राणमञ्चसँग कुराकानी गर्दै खड्काले नजानिदो ढङ्गले महत्त्वपूर्ण मान्छेहरूका स्वार्थ बाँजिएको हुनसक्ने आशंका गर्दै परीक्षा स्थगित गर्नुपर्नेको ठोस जवाफ आफूले अहिलेसम्म पनि नपाएकोमा दुःख व्यक्त गरे । अब कहिले परीक्षार्थीहरुलाई परीक्षा गराउने हो र रिक्त पदपूर्ति गर्ने भन्ने कुराको यकिन जानकारी दिन नसकेकोमा दुख व्यक्त गरे ।

ठेक्कापट्टामा व्यस्त रहेका प्युठान नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष एवं सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेत्रबहादुर केसीलाई एकाएक परीक्षा किन स्थगित गराउनुभएको, तपाईँको के स्वार्थ थियो र एकाएक परीक्षा स्थगित गर्नुभयो अब कहिले परीक्षा गराउने हो भन्ने प्रश्न गर्दा हेडसरलाई परीक्षा सुरु गरिहाल्न आफूले जानकारी गराएको भएपनि एकाएक वासुदेव पण्डित नै परीक्षा केन्द्रमा नपुगेपछि स्थगित भएको बताएका छन् ।

उनले आफूले पाँचवटा प्रश्न गराएको र यदि ती प्रश्नको उत्तर परीक्षार्थीहरुले दिन नसकेको खण्डमा परीक्षा भित्र कोठामा गरिएकाे परीक्षा नमान्ने भन्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको हुनाले परीक्षा नभएको हो कि भन्ने आशंका गर्ने ठाउँ रहेको हामीसँग स्वीकारे ।

तपाईंले परीक्षामा परीक्षा समितिले दिने प्रश्नपत्रको अलावा अलग्गै परीक्षा प्रश्न किन बनाउनुपर्यो भन्ने हाम्रो जिज्ञासामा उनले आफ्ना पनि भाेटरकाे आशा रहने हुनाले झक्झकाएकाे मात्रै हाे भने । याे सिलसिला सुन्दा अध्यक्षकाे आफ्नो स्वार्थ बाँझिएकाे प्रष्ट देखिन्छ ।

हामीसँग अनाहकमा आवेगमा आएर फाेन काटेका शिक्षा प्रमुख वाशुदेवसँग जिम्मेवार जवाव खाेज्दा जवाफ नभेटिएपनि घुमाउराे ढंगले साेही विद्यालयका अध्यक्ष नेत्र केसीले नै परीक्षामा भाँजाे हालेकाे हुनसक्ने सहज अनुमान उनकै अभिव्यक्तिका आधारमा लगाउन सकिन्छ । विद्यालयमा राम्रो क्षमताकाे टिचर आओस्, स्वच्छ प्रतिस्पर्धाले नियूक्ति होस् भन्ने उद्देश्यमा आफू प्रतिबद्धता केसीले बताए । कस्ता प्रश्न निर्माण गर्नुभएकाे थियाे तपाईंले अलग्गै भन्ने जिज्ञासामा भने उनले स्पष्ट पार्न सकेनन् । डाेजरले बाटाे बनाइराखेकाे नेत्रले व्यस्त छुँ भन्दै फाेन राखे ।

नेत्रबहादुर केसीले अरु क-कसको स्वार्थ के के थिए भन्ने जानकारी नभएको तर नगर प्रमुख विष्णु योगीको भने कुनै पनि शर्त नरहेको र योग्य व्यक्तिलाई उसको गुणस्तरको आधारमा स्वच्छ परीक्षा बनाएर शिक्षक नियुक्ति गर्नुपर्नेमा प्रतिबद्ध रहेको स्वीकारे । केसीका अनुसार योगीले आफूले कुनै पनि विषयमा आफ्नो निहित स्वार्थ दाबी नगर्ने तर उत्पन्न समस्याको सही समयमा व्यवस्थित समाधान निकाल्ने याेजनाकाे विकास गर्न नसकेको गुनासो व्यक्त गरे ।

परीक्षामा सहभागी हुने उत्कट चाहना बोकेर बाँधिकोटबाट रातामाटा आइपुगेका परीक्षार्थी लक्ष्मण नेपाली परीक्षा केन्द्रमा पुगेर दुई तीन घण्टासम्म पर्खेर सिट प्लानिङ समेत भएर एकाएक परीक्षा स्थगित भएको सूचना सुन्दा दुःख लागेको र निराश भएर घर फर्कन विवश भएको बताए । उनले बिनाकारण परीक्षा स्थगित भएको तेस्रो दिन सकिरहँदा पनि अब परीक्षा कहिले हुने हो भन्ने कुरा जानकारी कतैबाट नआएको हामीसँग गुनासो गरे ।

त्यस्तै अर्काे परीक्षार्थी सिर्जना गौतमले पनि पालिकाबाट प्रश्नपत्र लिएर वासुदेव पण्डित विद्यालयमा १२ बजेसम्म पनि नआएपछि परीक्षा स्थगित भएको भन्ने कुरा विद्यालयका प्रधानाध्यापक पिताम्बर पौडेलले जानकारी गराएको बताइन् ।

स्मरण रहाेस् मुक्ति माध्यमिक विद्यालयमा गत साउनमा नेपाली विषयकाे शिक्षक नियुक्ति गर्दा पनि शिक्षा तथा समन्वय इकाई, नगरपालिकाकाे सामाजिक विकास शाखाकाे वेभसाइड तथा स्वयं विद्यालयमा पनि प्रयाप्त सूचना सार्वजनिक नगरिकन गुपचुप ढंगले शिक्षक नियूक्ति गरिएकाे शैक्षिक जानकारहरु बताउने गर्छन् । याे प्रकरणमा वाशुदेव पण्डित, नगर प्रमुख विष्णु याेगी, मुक्ति माविका प्रधानाध्यापक लगायतका पात्रहरुकाे गडबडीका कारण मनाेमानी ढंगले शिक्षक नियुक्ति गरिएकाे सराेकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation