उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक, विद्यार्थी नगदसहित पुरस्कृत (फाेटाे फिचरसहित)

२५ पुस, प्युठान

प्युठान जिल्लाको गौमुखी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा पालिका भित्र उत्कृष्ट नतिजा निकाल्न सफल विभिन्न विद्यालयका विषयगत शिक्षकहरुलाई “नतिजाकाे आधारमा” सम्मान कार्यक्रम गरेको छ । पालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, कर्मचारी तथा प्रधानाध्यापकलाई सम्मान गरेको हो ।


गौमुखी गाउँपालिकामा आयोजित एक समारोहबीच पालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम अर्याल, पालिकाका अध्यक्ष विष्णुकुमार गिरी तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीहरुलाई हौसलास्वरुप सम्मान गरिएको गौमुखी गाउँपालिकाले जनाएको छ ।
पुरस्कृत हुनेहरुमा कक्षा ५ मा अध्यापन गराउने ७ जना शिक्षक रहेका छन् भने कक्षा ८ मा अध्यापन गराउने ७ जना शिक्षक रहेका छन् । त्यस्तै कक्षा १० मा अध्यापन गराउने ८ जना शिक्षक, विद्यालय सहायक कर्मचारी १ जना, विद्यालय सहयोगी कर्मचारी १ जना, बाल विकास शिक्षक १ जना र प्रधानाध्यापक (प्रावि, आवि र मावि) ३ जना (तहगत प्रथम, द्वितीय र तृतीय) गरी २८ जना शिक्षक-कर्मचारी पुरस्कृत भएका छन् । उत्कृस्ट नतिजा ल्याउने पालिकाका विभिन्न विद्यालयका ९ जना जेहेन्दार विद्यार्थीसहित जम्मा ३७ जना शिक्षक विद्यार्थीलाई सम्मान गरेकाे हाे ।

गौमुखी गाउँपालिकाकाे गाउँसभाको अवसर पारेर सम्मान कार्यक्रम गरिएको हो । पालिकाले शैक्षिक सत्र २०८१ को नतिजाको आधारमा सम्मानित एवम् पुरस्कृत हुने सबैलाई दोसल्ला, सम्मानपत्र र ३ हजार नगदसहित प्रदान गरेको छ । पुरस्कार तथा सम्मान थाप्दै शिक्षकहरुले अझ राम्रो र स्तरीय नतिजा प्राप्तिमा सबैले जोड गर्नुपर्ने चुनौती थपिएको बताएका छन् भने इमान्दार र पौरखी शिक्षककाे आत्मसम्मान वृद्धि गरी थप उर्जावान ढंगले शिक्षण पेशामा दत्तचित्त भएर लाग्ने प्रेरणा मिलोस् भनेर सम्मान गरिएको पालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताएका छन् ।

नतिजाको आधारमा उत्कृष्ट हुने विद्यार्थी, प्रधानाध्यापक र विषय शिक्षकहरूलाई सम्मान तथा पुरस्कृत गर्दा सिंगो पालिकाको शैक्षिक गुणस्तरमा फड्को मार्न सकिने विश्वास आफूले लिएको पालिकाका उपाध्यक्ष तथा कार्यक्रमको सहजीकर्ता महावीर रानाले बताएका छन् ।
नतिजाको आधारमा सबैलाई सम्मान कार्यक्रमको सुरुवात गरेकोमा गौमुखी गाउँपालिका परिवारलाई सम्बन्धित सरोकारवालाहरुले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation