असुरक्षित भयो हाम्रो समाज !

 

फागुन १८ गतेको बेलुकीको ७ बजेको छ ।आज राती १२ बजेपछि सामाजिक सञ्जालबाट समेत चुनावको बारेमा विचार सार्वजनिक गर्न पाइदैन । अर्थात यो वा त्यो पक्ष राम्रो वा नराम्रो भन्न पाइदैन ।

यद्यपि नेपालीहरुमा एउटा सनक चढेको छ । विवेकशून्य अवस्थामा समाज पुगेको छ । त्यसैले बोल्नु नबोल्नुको अर्थ छैन तापनि भोलि पनि “हामीले भनेकै हो, समाजले पत्याएन” भन्ने ठाउँ राख्नैका लागि अन्तिम पटक सिर्फ एकपटक एउटा कुरा भनिहालौं जस्तो लागेको छ ।

भारतको मध्यप्रदेशमा एउटा ठाउँ छ “चम्बलको घाँटी” ! चम्बलको घना जङ्गल र अप्ठेरो भूगोल सदियौंदेखी “डाँकाहरुको आश्रयस्थल” को रुपमा लोकपरिचित छ । बदनाम छ ।

राज्यको सुरक्षा संयन्त्रको नियन्त्रण बाहिर रहेको चम्बल आम सर्वसाधारणको लागि आज पनि आतङ्कको पर्याय मानिन्छ । चम्बलमा लुकेर बस्ने डाँकाहरुको झुण्ड कुनबेला कताबाट गाउँ पस्छ, धनमाल लुट्छ, महिलाहरुको अस्मितामा दाग लगाउँछ, घरहरु तोडफोड र आगजनी गरेर फर्कन्छ भनेर त्रासमा बाँच्नुपर्छ ।

मानिसहरुमा भय यति गढेर रहेको हुन्छ कि कसैले पनि आफ्नो घरमा कुनै मूल्यवान बस्तु राख्ने कुरा त परै जावस खाने प्युने प्रयोजनका लागि सिलेबरका टटेला मात्र प्रयोग गर्छन ।

न धनको सुरक्षा छ न जीवनकै सुरक्षा छ, न अस्मिताकै सुरक्षा छ । स्थानीय समाज मात्रै होइन, सरकारी सुरक्षा संयन्त्र पनि डाँकादलका अगाडि निरीह छ ।

भदौं २४ पछि नेपालको परिस्थिति पनि दुरुस्तै चम्बल वरपरको गाउँलेबस्ती जस्तै भएको छ । न धनको सुरक्षा छ, न ज्यानको सुरक्षा छ । भरोसा गर्नुपर्ने प्रहरी संगठन आफै निरीह बनेको छ । आफ्नै सुरक्षा गर्न नसकेको प्रहरी प्रशासन आम जनताको भरोसाको केन्द्र बन्न सक्ने अवस्थामा छैन ।

देशमा असुरक्षाको भयावह स्थिति निम्त्याउने को हो भन्ने कुरा सबैलाई जानकारी छ तर कोही मुख खोल्ने पक्षमा छैन । त्यस्तो हिम्मतै छैन । जसरी चम्बलका डाँकाहरुको ज्यादतीको विरुद्धमा गाउंलेहरु उजुर नालिस गर्न सरकारी सुरक्षा संयन्त्रमा जान सक्दैनन्, नेपालीहरु पनि देश जलाउने, लुट्नेहरु आफ्नै वरिपरि भएपनि मुख खोल्न तयार छैनन् ।

विवशता कस्तो छ भने सुभचिन्तक आफन्तहरुले सामाजिक सञ्जालमा समेत नलेख्न नबोल्न सचेत गराउँछन् । आफूहरुले त मुख बन्द गरेका मात्रै होइन आंखा पनि चिम्लेका छन् ।

हिजोसम्म आध्यात्मिक शान्तिको अनुभूति गराउने मन्दिरका घण्टीहरुको आवाजले समाजमा आज एक खालको आतङ्कको आभास गराउँछ । घन्टीको आवाजले भदौं २४ गतेको विध्वंश र आतङ्कको स्मरण गराउँछ ।

यतिखेर देखिएको देशभरको घन्टीको लहर त्यही मनोवैज्ञानिक त्रासको परिणाम हो । हिजो जसले देशभर आगजनी गर्‍यो । मानिसका निजी सम्पत्तीमा आगजनी गरेको मात्रै होइन, हाकाहाकी लुट्यो, नास्यो भन्ने कुरा सबैलाई जानकारी छ ।

मानव समाजको विकासक्रम १५/२० हजार बर्षपूर्व सुरु भएको हो । मानव समाजमा बाजे मर्छ, बाबुको हातमा घर परिवारको सत्ता सर्छ । बाबुमरेपछि छोरामा र छोराको शेषपछि नातिमा पुस्तान्तरण हुन्छ । स्वभावत राजनीतिक उत्तराधिकार पनि पुस्तान्तरण हुँदै जाने हो । बूढो पुस्तालाई तन्नेरी पुस्ताले विस्थापित गर्छ नै । गर्नै पर्छ ।

एकाइसौं शताब्दीमा आइपुग्दा पनि राजनीतिक उत्तराधिकार प्राप्त गर्नका निमित्त नेपालमा जस्तो भयावह स्थिति सायदै अन्त कतै भयो होला न त भविष्यमा कतै हुनेछ ।

अर्थात दुर्भाग्यको कुरो के हो भने नेपाली समाजले एउटा निर्दयी, अविवेकी र अपराधी पुस्ता जन्माएछ जसले बुढाबुढी भएका आमा बाबुलाई घरबाट निकाल्न उनीहरुले बनाएको घर धन्सार जलायो !!?खरानी बनायो । घर भवन मात्रै जलाएन, समाजलाई सुरक्षा र न्यायको प्रत्याभूति दिने पुलिस प्रशासन र अदालत ध्वस्त बनायो । स्वयम् प्रहरी र न्यायाधीशहरुले असुरक्षित महसूस गर्नुपर्ने अवस्था उत्पन्न गर्‍यो

घन्टी घन्टी भनेर जप्ने बन्धुहरु हो, तपाईको घर कसैले दिउँसै लुट्पाट गर्‍यो र त्यसको सम्बन्ध रास्वपासंग रहेछ भने तपाईं कतै उजुर गर्न जान सक्नुहुन्छ ?!! कुनै प्रहरी कार्यालयले उनीहरु विरुद्ध उजुरी लिने हिम्मत गर्छ ?!

दण्डित गर्नुपर्ने जमातलाई हामीले आफ्नो टाउकोमा बोकिरहेका त छैनौं ? विचार गरौं है विचार गरौं, यो भन्दा खराब परिस्थितिमा मान्छे बाँच्न सक्दैन । तपाईं हामीलाई जुनबेला पनि लुट्न, पिट्न र ज्यानै समेत लिन किञ्चित नमान्नेहरुको जमात संगठित हुंदैछ । हाम्रो आफ्नै मत लिएर सत्तासीन हुंदैछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation