
११ चैत, घोराही
घोराही उपमहानगर पालिका– ३, वर्गदुवामा रहेको संजीवनी टिचिङ अस्पतालले अत्याधुनिक प्रविधिको एमआरआई मेसीन ल्याएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोका क्षेत्रीका अनुसार सो मेसीनबाट बिरामीहरुले यही चैत्र ११ गतेबाट एमआरआइ सेवा लिन पाउनेछन्। अस्पतालका रेडियोलोजि विभाग प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. जेशन के.सी.का अनुसार जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको नेपालमै पहिलो हिलिएम फ्री अत्याधुनीक स्क्यान क्षमता एमआरआई मेसीनबाट सेवा थालिएको बताएका छन् ।
सोही एमआरआई मेसीन सार्वजनीकरणको लागि बुधबार बिहान दाङमा उपलब्ध विभिन्न संचार गृहमा क्रियाशील पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो । रेडियोलोजिष्ट डा. जेशनका अनुसार यस मेसीनमा डिप रिजोल्भ भन्ने एआइ टेक्नोलोजि प्रयोग हुन्छ जसले स्क्यानीङ समय छिटो र इमेज गुणस्तर राम्रो बनाउछ ।
यसमा मुटुको एमआरआइ गर्दा अटोमेटेड पोजिसनीङ हुने हुँदा छिटो समयमै उच्च गुणस्तरको फोटो स्क्यान हुन आउँछ । साथै अस्पतालमा सोही कम्पनीको १९२ स्लाइस क्षमता भएको सिटी स्क्यान मेशिन पनि उपलब्ध रहेको उनले बताए । यसमा टिन फिल्टर प्रयोग भएको हुँदा नचाहिने रेडियसन रोकिने र चाहिने रेडियसन मात्र प्रयोग हुने हुँदा मेशिनले कम रेडियसनमा राम्रो इमेज निकाल्छ । रेडियोलोजिस्टका अनुसार यस मेसीनमा एआइ प्रविधिको प्रयोग गरी कम रेडियसनमा उच्च गुणस्तरको इमेज निकाल्न सकिन्छ ।
हाल उक्त विभागमा डिजिटल एक्सरे, भिडियो एक्सरे, मेमोग्राफि, सिटि स्क्यान र एमआरआइ सेवा उपलब्ध छन् । एमआरआइ सेवा सुरु भएको छ भने अब साविक राप्तीका रोल्पा, रुकुम, सल्यान र प्युठान जिल्ला र आसपासका बिरामीहरु दाङमा नै रेडियालोजीका सम्पूर्ण सेवाहरु लिन सक्नेछन् । अस्पतालका सिइओ दिपक रोका क्षेत्रीले यस क्षेत्रका विरामीको लागि अत्याधुनिक प्रविधिको एमआरआइ, सिटी स्क्यान लगाएतका सेवाहरु प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरी स्वास्थ्य सेवा प्रदानमा आपूmहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
अस्पतालका निमित्त मेडिकल डाइरेक्टर कन्सल्टेन्ट फिजिसियन डा. बाचसपति सुवेदीका अनुसार अस्पतालले ओपिडिमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, शिशु तथा बालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटि, डेन्टल, नेत्ररोग तथा फिजियोथेरापी विशेषज्ञ सेवा दिइरहेको छ । यसैगरी क्रिटिकल केयरमा आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु हाल संचालनमा रहेको र हेमोडायलासिस सेवा छिटै संचालन हुने बताए । रेडियोग्राफी तर्फ डिजिटल एक्स रे, भिडियो एक्स रे, म्यामोग्राफी, इसिजि, इको, सिटि स्क्यान, एमआरआइ।, इन्टर्भेन्सनल इन्डोस्कपी, क्लोनस्कपी आदि सेवा रहेका समेत उनले बताए ।
















