१८ चैत, काठमाडौं
मुगु जिल्लाका युवाहरूले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनाको ध्यानाकर्षण गरेका छन् ।
सरकारको १०० बुँदे शासकीय सुधार अन्तर्गतको कार्यसूचीमा समेत यो विषय नपरेको भनेर उनीहरूले सञ्चारमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् ।
आशिष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले सञ्चारमन्त्री तिमल्सिनासँग भेटेर जिल्लाको वास्तविक अवस्था, भौगोलिक समस्या र समाधानका उपायसहितका सुझाव प्रस्तुत गरेका हुन् ।
उनीहरूले प्रस्तुत गरेको तथ्यांकअनुसार मुगु जिल्लामा रहेका २४ टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र फोरजी सेवा सञ्चालनमा रहेको छ भने बाँकी स्थानमा अझै टुजी वा कमजोर नेटवर्क छ ।
४५ वडामध्ये करिब ३० वडामा मात्र सीमित कभरेज पुगेको छ र प्रभावकारी इन्टरनेट पहुँच ५ प्रतिशतभन्दा कम रहेको भनिएको छ ।
६४ हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा इन्टरनेट प्रयोगकर्ता अत्यन्त न्यून रहेको र धेरै नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको भनेर युवाहरूले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

















