
२२ चैत, दाङ
राप्ती साहित्य परिषद् दाङ शाखाले आफ्नो १८औँ वार्षिकोत्सव विभिन्न साहित्यिक कार्यक्रमसहित सम्पन्न गरेको छ। घोराहीमा शनिबार आयोजित समारोहमा स्रष्टा सम्मान, पुरस्कार वितरण तथा काव्य वाचन कार्यक्रम सम्पन्न गरिएको थियो।
परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भाषा आयोगका निवर्तमान सदस्य तथा वरिष्ठ साहित्यकार डा. अमर गिरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथि रहेका थिए।
यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा. टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट डिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारी पुरस्कृत भएका हुन ।
यसैबीच, साहित्यकार गुरुप्रसाद शर्मा रेग्मी र देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक परिवारलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गिरीले साहित्यकारहरूले सिर्जनामा विधागत ज्ञानसँगै गुणस्तरमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
पुरस्कृत व्यक्तित्वहरूको परिचय प्रतिभा छनोट समितिका संयोजक तथा परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ले गराएका थिए।
कार्यक्रमअन्तर्गत काव्य वाचन सत्र पनि सम्पन्न भएको थियो, जहाँ विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले साहित्यिक गतिविधिहरूको निरन्तरता र विकासका लागि यस्ता कार्यक्रमको महत्त्वबारे जोड दिएका थिए।
समारोहमा परिषद्का कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् भने सचिव घनश्याम केसीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव केसीले नै गरेका थिए।
यसप्रकार, साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले दाङको साहित्यिक वातावरणलाई थप सशक्त बनाउने विश्वास लिइएको छ। कार्यक्रमको अन्तमा बोल्दै परिषदका अध्यक्ष एवम् सो वार्षिकोत्सव समारोहका सभापति यम रेग्मीले संगठनले आर्थिक कठिनाइका बाबजुत पनि विभिन्न रचनात्मक कार्यक्रमहरु गरिँदै आएको र यसको गतिशीलतामा सहयोग पुर्याउने सम्पूर्ण तप्कालाई आभार व्यक्त गर्दै कार्यक्रमको विसर्जन गरेका थिए । कार्यक्रमा सहभागीको तर्फबाट पनि विभिन्न विधामा आधारित साहित्यकारहरुले आफ्ना कविता, गजल, मुक्तक लगायतका रचनाहरु बाचन गरेका थिए ।
















