
आजको आवश्यकता प्रतिस्पर्धाभन्दा सहकार्य, आरोपभन्दा आत्मसमीक्षा, र नाराभन्दा नतिजामा केन्द्रित राजनीति हो। जनताको विश्वास जित्ने एउटै उपाय छ इमानदार प्रयास, पारदर्शी व्यवहार र परिणाममुखी शासन। म्यान्डेटले दिएको सन्देश स्पष्ट छः परिवर्तन केवल नारा होइन, व्यवहारमा देखिनुपर्छ।
नेपालको समकालीन राजनीतिमा पछिल्ला दिनहरूमा विकसित घटनाक्रमहरूले पुनः एउटा गम्भीर बहस जन्माएको छ राजनीति आखिर कसको लागि, कस्तो उद्देश्यका लागि र कस्तो चरित्रसहित सञ्चालन भइरहेको छ? गृहमन्त्री सुधन गुरुङको राजीनामा प्रकरणलाई सामान्य प्रशासनिक वा औपचारिक घटनाका रूपमा मात्र बुझ्ने हो भने हामी यसको गहिरो राजनीतिक सन्देशबाट टाढा रहनेछौं। वास्तवमा, यो प्रकरणले नेपालको सत्ता संरचना, राजनीतिक संस्कार, मिडियाको प्रभाव, स्वार्थ समूहहरूको चलखेल र पुराना दलहरूको मनोविज्ञानसम्मलाई उजागर गरेको छ ।
पहिलो दृष्टिमा हेर्दा, कुनै पनि मन्त्रीको राजीनामा प्रायः सडक आन्दोलन, नागरिक दबाब वा अदालती प्रक्रियाको प्रत्यक्ष प्रभावमा हुने गर्छ भन्ने आम बुझाइ छ। तर यसपटकको घटनाले फरक संकेत दिएको देखिन्छ। केही मिडिया प्लेटफर्महरू, विशेषगरी निश्चित दृष्टिकोण बोकेका पत्रपत्रिकाहरू, केही विश्लेषकहरूको व्यक्तिगत कुण्ठा, र पुराना राजनीतिक दलहरूको असहजता यी सबैको मिश्रित दबाबले यो अवस्था सिर्जना भएको भन्ने धारणा बलियो देखिन्छ। यसले नेपाली राजनीतिमा “अदृश्य शक्ति केन्द्रहरू” अझै सक्रिय छन् भन्ने संकेत पनि दिएको छ ।
तर, यस समग्र परिदृश्यबीच गृहमन्त्री गुरुङले देखाएको व्यवहारलाई फरक ढंगले मूल्यांकन गर्न आवश्यक छ।
आफ्नो पदमा रहँदा नै छानबिन प्रक्रियालाई सहज बनाउन र प्रणालीप्रति विश्वास कायम राख्न उनले देखाएको तत्परता राजनीतिक परिपक्वताको संकेत हो। यसले कम्तीमा पनि यो देखाएको छ कि जवाफदेहिता, पारदर्शिता र सुशासनका मूल्यहरू केवल भाषणमा सीमित छैनन्, व्यवहारमा पनि लागू हुन सक्छन्। यो अभ्यासलाई सकारात्मक कदमका रूपमा लिन सकिन्छ, जसले आगामी दिनमा अन्य नेतृत्वलाई पनि जिम्मेवार बन्न प्रेरित गर्न सक्छ।
अर्कोतर्फ, नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना र स्थापित राजनीतिक शक्तिहरूका लागि यो घटनाक्रम एउटा स्पष्ट सन्देश हो। विगतका वर्षहरूमा राज्य सञ्चालनका क्रममा देखिएका नेपोटिजम, फेवरिजम, दण्डहीनता, चरम भ्रष्टाचार, र जनताप्रति जवाफदेहिताको कमीले आम नागरिकमा गहिरो निराशा जन्माएको छ। जनताले दिएको पछिल्लो म्यान्डेट कुनै आकस्मिक निर्णय होइन, बरु लामो समयदेखिको असन्तोषको परिणाम हो। त्यसैले, अब पनि पुरानै शैलीमा राजनीति गर्ने हो भने जनताको विश्वास पुनः प्राप्त गर्न गाह्रो हुने निश्चित छ ।
यस्तो अवस्थामा, “पर्ख र हेर” भन्ने निष्क्रिय रणनीतिभन्दा अघि बढेर संगठन सुदृढीकरण, नीतिगत सुधार, नेतृत्व विकास र रचनात्मक प्रतिपक्षको भूमिकामा केन्द्रित हुनु आजको आवश्यकता हो।
सरकारको आलोचना गर्नु लोकतान्त्रिक अधिकार हो, तर त्यो आलोचना तथ्य, तर्क र वैकल्पिक दृष्टिकोणमा आधारित हुनुपर्छ। केवल असफलताको कामना गरेर राजनीति गर्ने प्रवृत्तिले न त दललाई बलियो बनाउँछ, न त लोकतन्त्रलाई नै ।
नेपालको राजनीतिमा पछिल्ला केही वर्षहरूमा उल्लेखनीय ‘प्याराडाइम सिफ्ट’हरू देखिएका छन्। दुईतिहाइ बहुमत प्राप्त सरकारहरू, पार्टीभित्रको पूर्ण नियन्त्रण, संसदमा स्पष्ट बहुमत । यी सबै हुँदा पनि अपेक्षित परिणाम नआएको यथार्थ हामीसँग छ। यसले देखाएको छ कि केवल संख्यात्मक बहुमत पर्याप्त हुँदैन; आवश्यक हुन्छ । दृष्टिकोण, नीतिगत स्पष्टता, नैतिकता र कार्यान्वयन क्षमता। यही सन्दर्भमा केही नेताहरूले व्यक्तिगत महत्वाकांक्षालाई नियन्त्रण गर्दै प्रधानमन्त्री पदप्रति लोभ नगरी राजनीतिक सन्तुलन कायम राख्ने प्रयास गरेका छन् भन्ने तथ्य पनि उल्लेखनीय छ। यो प्रवृत्तिले नेपाली राजनीतिमा नयाँ संस्कारको संकेत दिन सक्छ ।
आजको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको जनताको भूमिका हो। नेपाली जनता अब केवल दर्शक होइनन्; उनीहरू सक्रिय मूल्यांकनकर्ता बनेका छन्। सामाजिक सञ्जालदेखि सडकसम्म, हरेक ठाउँमा जनमत निर्माण भइरहेको छ। जनताले दिएको म्यान्डेट स्थायी होइन । यो निरन्तर परीक्षणको प्रक्रिया हो। यदि वर्तमान नेतृत्वले अपेक्षाअनुसार काम गर्न सकेन भने जनमत फेरिन समय लाग्दैन।
त्यसैले, सत्ता पक्षले विनम्रता, पारदर्शिता र परिणाममुखी कार्यशैली अपनाउन आवश्यक छ भने प्रतिपक्षले जिम्मेवार र रचनात्मक भूमिका खेल्नुपर्छ।
अन्ततः, नेपालको लोकतान्त्रिक यात्रा अझै परिपक्वताको चरणमा छ। यहाँ अझै पनि चुनौतीहरू छन्, संरचनागत कमजोरीहरू, संस्थागत अस्थिरता, र राजनीतिक संस्कारको अभाव। तर, यी सबैबीच अवसरहरू पनि उत्तिकै छन्। यदि राजनीतिक दलहरूले विगतका गल्तीहरूबाट इमानदारीपूर्वक सिक्ने, नयाँ पुस्तालाई अवसर दिने, र राज्य सञ्चालनलाई सेवा केन्द्रित बनाउने हो भने नेपालको भविष्य उज्यालो हुन सक्छ ।
आजको आवश्यकता प्रतिस्पर्धाभन्दा सहकार्य, आरोपभन्दा आत्मसमीक्षा, र नाराभन्दा नतिजामा केन्द्रित राजनीति हो। जनताको विश्वास जित्ने एउटै उपाय छ इमानदार प्रयास, पारदर्शी व्यवहार र परिणाममुखी शासन। म्यान्डेटले दिएको सन्देश स्पष्ट छः परिवर्तन केवल नारा होइन, व्यवहारमा देखिनुपर्छ।
















