
जेठ २१, पोर्चुगल
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलमा लाखौँ रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आरोप लगाउँदै संस्थाभित्र असन्तुष्टि र विवाद बढ्दै गएको छ।
संस्थाका उपाध्यक्ष गनी गुरुङका अनुसार अध्यक्ष दीपा काफ्ले र महासचिव गोविन्द बुढाथोकी (सागर) ले संस्थाको करिब २२ हजार युरो रकम एकलौटी रूपमा खर्च तथा हिनामिना गरेको आरोप लागेको छ। उक्त विषयलाई लिएर संस्थाभित्र व्यापक असन्तुष्टि देखिएको उनले बताएका छन्।
उपाध्यक्ष पेमा शेर्पाले कार्यकाल सुरु भएको एक वर्ष बितिसक्दा पनि संस्थाको बैंक खाता कोषाध्यक्षको नाममा सञ्चालन नगरिनु आफैंमा अनियमितताको संकेत भएको दाबी गरेका छन्। संस्थाको आर्थिक कारोबार पारदर्शी ढंगले सञ्चालन हुनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ।
त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य राज गुरुङले संस्थागत रूपमा गरिने कुनै पनि निर्णय सामूहिक छलफल र सहमतिबाट हुनुपर्नेमा जोड दिएका छन्। संस्थाका महत्वपूर्ण विषयहरू सीमित व्यक्तिको निर्णयमा आधारित हुनु उचित नभएको उनको भनाइ छ।
संस्थाका अर्का उपाध्यक्ष निर्पेश गिरिले कार्यसमितिसँग कुनै परामर्श नगरी विभिन्न पदमा एकलौटी रूपमा मनोनयन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले मनोनित सदस्यहरूसँग सम्बन्धित शुल्क तथा अन्य आर्थिक विषयमा समेत पारदर्शिता कायम नभएको आरोप लगाएका छन्।
संस्थाभित्र एकलौटी निर्णय लाद्ने प्रवृत्ति संस्थाको हितमा नरहेको अधिकांश सदस्यहरूको भनाइ रहेको छ। पछिल्लो समय संस्थामा विभिन्न पदमा एक दर्जनभन्दा बढी सदस्यहरू मनोनित गरिएको बताइएको छ।
यसअघि सम्पन्न अधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका सुजन लामा मोक्तानले पनि संस्थाभित्र पारदर्शिता र सुशासनको अभाव रहेको भन्दै आलोचना गरेका थिए। उनले संस्थाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अलग संस्था स्थापना गरी छुट्टै रूपमा गतिविधि सञ्चालन गरिरहेका छन्।
यद्यपि, समाचारमा उल्लेख गरिएका आर्थिक अनियमितता तथा हिनामिनासम्बन्धी आरोपबारे अध्यक्ष दीपा काफ्ले र महासचिव गोविन्द बुढाथोकीको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
















