हामीले निशुल्क बिजुली दियौं, सरकारले घर भत्कायो: कुलमान घिसिङ

 

२२ जेठ, काठमाडौं

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासीको बस्ती हटाएका सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सुकुमवासीलाई विस्थापित गरिरहँदा आफूले बिजुली दिएको बताएका हुन् ।

‘सुकुमवासी समस्या उहाँहरूले जुन किसिमले सम्बोधन गर्न खोज्नुभयो त्यो मानवीय दृष्टिकोणले र कानुनी दृष्टिकोणले त्यो ठीक होइन भनेर हामीले विरोध गरेका छौं,’ उनले भने ।

देशमा १०/१२ लाख सुकुमवासी रहेको बताउँदै उनले सुकुमवासीलाई तत्कालीन समयमा विद्युत् दिनुहुँदैन भनिरहँदा आफूले निःशुल्क मिटर दिएको बताए ।

‘म विद्युत् प्राधिकरणमा आएपछि एउटा नागरिकता भए हरेक नेपालीले बिजुली बाल्न पाउनुपर्छ भनेर हामीले मिटर निःशुल्क दिएर विद्युत् दियौं,’ उनले भने, ‘सुकुमवासीका बस्तीबस्तीमा हामीले निःशुल्क विद्युत बाल्यौं । अहिले सरकारले एक रातमा जानकारी दिएर भोलिपल्ट घर भत्काइएको छ । यो कुनैपनि हिसाबले ठीक कुरा होइन ।’

सुकुमवासी समस्याको मानवीय र कानुनी हिसाबले व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ । देशमा सुकुमवासी समस्या मात्र नभई ऐलानी जग्गाको पनि ठूलो समस्या रहेको उनले बताए ।

‘जथाभावी घर भत्काउने र विध्वंस गर्ने मात्रै सरकारको काम हुन्न । निर्माण हुनुपर्छ । यो देशमा जहिले पनि विध्वंस मात्रै भयो’ उनले थपे ।

विगतमा १० वर्षे द्वन्द्व र पछिल्लो समय जेनजी आन्दोलनका बेला पनि धेरै ठूलो विध्वंस भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation