‘नीलो क्रान्ति टिक्दैन, अन्तिम क्रान्ति हरित क्रान्ति हो’ : कुलमान घिसिङ

२२ जेठ, काठमाडौं

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले अब हरित क्रान्ति गर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले हिजो धेरै नाममा क्रान्ति हुँदा राजनीतिक परिवर्तन मात्रै भएको बताउँदै अब हरित क्रान्तिमार्फत देशको स्थिति परिवर्तन गर्ने बताएका हुन् ।

‘उज्यालो नेपाल पार्टीले नेपालमा अब हरित क्रान्ति गर्छ । अब हरित क्रान्ति गर्छौं हामी,’ घिसिङले भने, ‘हिजो धेरै क्रान्तिका नाममा राजनीतिक परिवर्तन भए । सेतो क्रान्ति भनेर परिवर्तन भए, रातो क्रान्ति भनेर परिवर्तन भए १० वर्षे जनयुद्ध भयो ।’

पछिल्लो जेनजी आन्दोलनअघि रास्वपाले नीलो क्रान्ति भनेर भनेको उनले बताए । ‘जेनजी आन्दोलनका बेला त्यो भन्दा अगाडि स्थापित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले नीलो क्रान्ति भनेर भन्नेभयो,’ उनले भने ।

तर, रास्वपाको नीलो क्रान्ति धेरै नटिक्ने उनले ठोकुवा गरे । ‘नीलो क्रान्ति धेरैदिन टिक्दैन । त्यसैले अन्तिमको क्रान्ति भनेको यो हरित क्रान्ति हो,’ घिसिङले भने ।

यसले दिगो रूपमा नेपाललाई संस्थागत गर्ने उनले दाबी गरे । उनले अगाडि भने, ‘यो देशको दिगो विकासका लागि, दिगो राजनीतिक स्थायित्वका लागि, अब यो देशमा आवश्यक भनेको हरित क्रान्ति हो । यो हरित क्रान्ति उज्यालो नेपाल पार्टीले गर्छ ।’

त्यसैले उज्यालो नेपाल पार्टीको झन्डा हरियो रहेको अध्यक्ष घिसिङले बताए ।

‘हरित क्रान्तिको मुख्य विषय भनेको सुशासन हो । यसलाई हामीले आधारभूत विषय बनाउँछौं र हरित क्रान्तिका अन्य विभिन्न पाटाहरू पनि छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation