२४ असार, काठमाडौं
काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, फार्मेसी युनिट स्टोर किपरहरू विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरूविरुद्ध जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभए पनि बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्याङमा करोडौँको औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको भन्ने उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।
अनुसन्धानको क्रममा उनीहरूले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी गराई सार्वजनिक सम्पत्तिको हिनामिना, हानीनोक्सानी पुर्याउने काम गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

















