
३० असार, मकवानपुर
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी ड्याम नजिक सिमखोलाले बगाएको स्कुटर फेला परेको छ। सोमबार आएको आकस्मिक बाढीले बगाएको बागमती प्रदेश ०२-०३२ प ८०५४ नम्बरको स्कुटर मंगलबार बिहान छतविछत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ३ बजे सिमखोला तर्ने क्रममा स्कुटरसहित चालक बाढीमा बगेका थिए। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो।
तीव्र बहावका कारण सोमबार खोजीमा कठिनाइ भएपछि मंगलबार बिहानदेखि पुनः खोजी तीव्र बनाइएको थियो। खोजीका क्रममा स्कुटर फेला परे पनि चालक अझै बेपत्ता छन् र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता व्यक्तिको परिचय अझै खुल्न सकेको छैन। स्कुटर चालक कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरण पनि यकिन भइसकेको छैन। प्रारम्भिक जानकारीअनुसार बेपत्ता व्यक्ति पुरुष हुन्।
















