खोटाङ कारागारमा कैदीको मृत्यु, पोष्टमार्टमपछि मात्रै कारण खुल्ने

 

 

३१ असार, खोटाङ

खोटाङमा एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राईको मृत्यु भएको हो ।

कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि उनलाई राति १:५० बजे अस्पताल पुर्‍याइएको थियो तर अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

अस्पताल पुर्‍याउँदा कैदीलाई मृत्यु भइसकेको अवस्थामा पाइएको डा. पुष्कल राईले बताए । उनको मृत्युको कारण खुलेको छैन । पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने डा. राईको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले भने घटनाको विषयमा आधिकारिक जानकारी नआएको बताए । राई खाना खाएपछि १२:४५ बजेको ‘वर्ल्डकप गेम हेर्न’ उठाउनु है भन्दै सुतेका थिए । वर्ल्डकप सुरु भएपछि उठाउँदा उनी बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएको जानकारी आएपछि उनलाई अस्पताल लगिएको सूचना अधिकारी कठायतले बताए ।

चालकको रुपमा कार्यरत राई सवारी ज्यान मुद्दामा दुई वर्षका लागि जेल परेका थिए । जरिवाना तिरेको खण्डमा उनी आगामी साउन ११ गते जेलमुक्त हुँदै थिए ।

कैदीको मृत्युको विषयमा मृतक परिवार, प्रशासन, प्रहरी र राजनीतिक दलसँग छलफल गरेर मात्रै शव बुझ्ने आफन्त बुद्धिबोल राईले बताए । मृत्युको कारण एकिन हुनुपर्ने मृतक पक्षको माग छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation