सहभागिता नै अहिलेका लागि महत्वपूर्ण बन्दै आएको छ । एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ भन्छन्, ‘एसियन लेभलमा हामी धेरै तल छौं । पदकका लागि यो किसिमको दुई-तीन महिनाको तयारीले पुग्दैन ।’
धनवीर चौधरीको सहयोगमा ७ जना खेलाडीलाई दशरथ रंगशालामा प्रशिक्षक गराइरहेका गुरुङले साउन १ देखि विशेष प्रशिक्षण सुरु गरेका छन् ।
यसपालिको एथ्लेटिक्समा राजन रोकाय र पुष्पा भण्डारीले म्यारथनमा तथा दीपक अधिकारी र सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडने छन् । दीपक गत फागुनमा काठमाडौंमा नै भएको १६ औं एसियन क्रस कन्ट्रीमा तथा सन्तोषीले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका थिए । एशियाली खेलकुदका लागि विदेशमा प्रशिक्षण गर्न पाउने एक्ली धाविका सन्तोषीले इथियोपियामा प्रशिक्षण गरिरहेकी छिन् । इथियोपियाको प्रशिक्षण प्रभावकारी भइरहेको भन्दै उनले लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताए । ‘यसअघि विभि्न समस्याले धेरैमा राम्रो प्रदर्शन गर्न सकेको छैन । यस पटक एसियन गेम्समा भने साँच्चै राम्रो गर्ने लक्ष्य छ ।’
राजपुरा पछाई र गोपीचन्द्र पार्की ५ हजारमिटर तथा सोमबहादुर कुमाल ४०० र ८०० मिटर, फूलमती राना ८०० र १५०० मिटरमा सहभागी हुने छन् । गोपीचन्द्र पार्की र सोमबहादुर कुमालको यो दोस्रो सहभागिता हो । यसअघिको एसियाली खेलकुदमा म्यारथन दौडिएका गोपीचन्द्र यसपालि ५ हजार मिटरमा दौडिने छन् । उनीले गएको दक्षिण एसियाली खेलकुद सागमा ५ हजार मिटरमा स्वर्ण जितेका थिए । त्यसैले यसपालि एसियाली खेलकुदमा पनि उनलाई ५ हजार मिटरमै दौडाउने गुरुङले बताए ।एसियाली खेलकुद खेल्ने दीपक, सोम, राजपुरा र फूलमतिले गत असारमा थाइल्याण्डमा भएको एसियन च्याम्पियनसिप खेलेका थिए । एसियाली खेलकुदका लागि अनुभव बटुल्नकै लागि थाइल्याण्ड पठाइएका उनीहरुबाट नयाँ राष्ट्रिय कीर्तिमान बन्ने अपेक्षा गरिए पनि त्यो पूरा भएको थिएन । ‘एसियन च्याम्पियनसिपमा गर्मीले गर्दा गाह्रो भयो । तर राम्रो अनुभव रह्यो । अब एसियन गेम्समा राम्रो टाइमिङ निकाल्ने लक्ष्य छ,’ दीपकलेअनुभव सुनाए ।
दीपकको इभेन्ट १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान गोपीको नाममा छ । उनले २०१८ मा ३० मिनेट ३०:९९ सेकेण्डको कीर्तिमान बनाएका थिए । त्यसमा ह्याण्ड टाइमिङको कीर्तिमान भने दिपकले गत वर्ष नवौं राष्ट्रिय खेलकुदमा बनाएका थिए । उनले १० मिनेट १०:३ सेकेण्डमा पूरा गरेका थिए ।
यस्तै राष्ट्रिय र व्यक्तिगत नयाँ कीर्तिमान एसियाली खेलकुदमा बनाउने नेपालको लक्ष्य छ । ५-१० वर्षको तयारी गरेर पदक जित्ने गरेको सुनाउँदै मुख्य प्रशिक्षक गुरुङले भने, ‘यस पटक नेपालको लक्ष्य पदक भन्दा राष्ट्रिय कीर्तिमान बनाउने र कीर्तिमान सुधार गर्ने हो।’
एसियाली खेलकुदको अनुभवले आउँदो सागमा पदक जित्ने अर्को लक्ष्य नेपालले राखेको मुख्य प्रशिक्षक गुरुङ सुनाउँछन् । ‘हाम्रो मुख्य लक्ष्य आउने साउथ एसियन गेम्समा गत संस्करण भन्दा बढी मेडल जित्ने हो,’ उनी भन्छन्, ‘किनभने साउथ एसियामा हाम्रो प्रदर्शन राम्रो छ । १३औं भन्दा १४औं संस्करणमा मा धेरै मेडल जित्ने लक्ष्य हो ।’
नेपालले एसियन च्याम्पियनसिप, वर्ल्ड च्याम्पियनसिप, एसियन गेम्स जस्ता ठूला प्रतियोगितामा भाग लिँदा त्यहाँको अनुभवले सागमा फाइदा पुग्ने विश्वास प्रशिक्षक गुरुङलाई छ ।
क्लोज क्याम्पमा बसेर तयारी
सन्तोषीबाहेकका ७ जना खेलाडी मुख्य प्रशिक्षक गुरुङकै योजना अनुसार क्लोज क्याम्पमा बसेर तयारीमा छन् । तयारी राम्रो भइरहेको गुरुङ बताउँछन । ‘अहिले हामीले क्याम्प राखेर तयारी गराइरहेका छौं। होटलमा बसेका छन् । उनीहरुलाई रेस्टको समय पनि मिलेको छ ।’
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेका म्याराथन धावक राजन देशको प्रतिनिधित्व गर्न उत्साहित छन् । उनी भन्छन्, ‘खेलमा बोलेर भन्दा पनि गरेर देखाउने हो । स्टार्ट भएर फिनिस नभएसम्म थाहा हुँदैन, राम्रो टाइमिङ निकाल्न मिहिनेत गरिरहेको छु ।’
प्रशिक्षणकै क्रममा सोमबहादुरलाई डेंगु भए पनि उनी अहिले निको भएर प्रशिक्षणमा फर्केका छन् ।
‘सोमबाटको आशा थियो । तर उसलाई डेंगु भइदियो । अहिले हप्ता दश दिन पछि रिकभर भएर आएको छ । अब एक महिना बाँकी छ । आशा छ कि उसले ठिक भएर राम्रो गर्नेछ ।’
इथियोपियामा तयारी गरिरहेकी सन्तोषीले पनि एसियन गेम्समा राम्रो गर्ने अपेक्षा छ ।
एसियन च्यामपियनसिप र वर्ल्ड च्याम्पियनसिपमा १०० र २०० मिटर दौडमा भाग लिएको भए पनि एसियन गेम्समा भने यो विधामा खेलाडी सहभागी छैनन् ।
१३औं सागमा पदक जितेका खेलको इभेन्टमात्र सहभागी गराउने हाई परफरमेन्स कमिटीको सुझाव अनुसार १०० र २०० मिटर दौड समावेश नगरिएको गुरुङ बताउँछन् ।
अरु खेलाडीलाई पनि वैदेशिक प्रशिक्षण गराउन पाए अझ राम्रो गर्न सक्ने गुरुङले बताए । ‘जस्तै सन्तोषी इथियोपियामा तयारी गरिरहेकी छिन् । त्यहाँ म्यारथनमा र लङ डिसट्यान्समा विश्वस्तरीय खेलाडी छन् र उसको ट्रेनिङ राम्रो हुन्छ र आफ्नो स्तर जाँच्न पाउछन् । उनीजस्तै सम्भावना बोकेका खेलाडीलाई ६ महिना वा वर्ष दिन विदेश पठाउने वा विदेशी प्रशिक्षक ल्याउने गरे राम्रो हुन्छ,’ गुरुङले भने, ‘साउथ एसियामा त हामी जित्छौं ।’