एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै

४ फागुन, काठमाडौं

नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ।  खेल नेपाली समय अनुसार बिहान ११:१५ मा बायोमास ओभलमा सुरु हुनेछ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन्। सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन्। नेपालको चारमध्ये तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन्।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतकको मद्दतले २१३ रनको फराकिलो अन्तरले हराएको थियो। मलेसिया घरेलु मैदानको फाइदा उठाउन चाहन्छ।

यस प्रतियोगितामा नेपाल अपराजित छ। नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेत तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो। मलेसियाले समूह सीबाट इन्डोनएसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो। मलेसिया पनि अपराजित यात्राका साथ सेमिफाइनलमा आइपुगेको छ।

नेपाल र मलेसियाबीच महिला टी–२० आई खेलमा कुल १० खेल भएका छन् । नेपाल ७ खेलमा जित र ३ खेलमा पराजित भएको छ। पछिल्ला पाँच भेटमा नेपाल तीन र मलेसिया दुई खेलमा विजयी भएका छन्।

यसअघि विश्वकप छनोटका लागि भएको मलेसिया यात्रा नेपालका लागि सम्झनलायक भएको थिएन। उक्त प्रतिस्पर्धामा नेपाल र यूएईको खेल वर्षाले प्रभावित भएको थियो भने थाइल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

आजै हुने अर्को सेमिफाइनलमा थाइल्याण्ड र यूएई भिड्दैछन्। यी दुईबीचको खेल विहान सवा ७ मा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation