सेवाग्राहीको काममा बाधा पारेर कार्यालयमै लोकसेवाको तयारी

१४ फागुन, काठमाडौं 

कतिपय सरकारी कर्मचारीले अचेल नागरिकलाई सेवा दिन छाडेर आफ्नै वृत्तिविकास र सेवा-सुविधाका लागि मात्रै समय खर्चिने गरेका छन्।

लोकसेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्वीकार गर्छन्।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल निजामती कर्मचारी स‌गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय संघीय कार्यालयमा कार्यरत कर्मचारी परीक्षाको तयारीका लागि कार्यकक्षमै बसेर परीक्षाको तयारी गर्ने गरेको स्वीकार गरे। ‘केही कार्यालयमा कतिपय कर्मचारी कार्यकक्षमै अध्ययन गरेर बसेको पाइन्छ तर हामीले परीक्षाको तयारी गर्ने भए बिदा लिएर बस्नु भनेका छौँ’, उनले भने, ‘सेवाग्राहीको कामलाई बाधा पारेर कुनै पनि कर्मचारीले वृत्तिविकासका लागि मात्र समय दिनु हुँदैन।’

उनका अनुसार संघीय निजामती सेवा ऐनको अभावमा अहिले १७ वर्षसम्म पनि कतिपय कर्मचारीको बढुवा नहुँदा त्यसको असर परीक्षाको तयारी गर्ने क्रममा सेवाग्राहीलाई परेको हो। कम्तीमा छदेखि सात वर्षमा एक तह बढुवा हुने स्थिति भयो भने कर्मचारी परीक्षाकै लागि कार्यालयमा नै बसेर वा बिदामा बसेर पढ्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ।

कारागार कार्यालय सुन्धारामा कार्यरत उपसचिव ललित बस्नेतले निजामती कर्मचारी माथिल्लो पदमा जानका लागि कतिपय कार्यालयमै बसेर पढ्ने प्रवृत्ति अहिले पनि कायम रहेको बताए। सरकारले कानुन निर्माण गरेर बहालवाला कर्मचारीलाई माथिल्लो पदमा जानका लागि आन्तरिक प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था भयो भने बल्ल कर्मचारीले पढेरै मात्र बस्ने प्रवृत्ति अन्त्य हुने उनको भनाइ छ।

‘सेवाग्राही र सरकारको काममा बाधा पुर्‍याएरै त कुनै पनि कर्मचारीले कार्यालयमै वा कार्यालयबाहिर बसेर पढेका छैनन्’, उनले भने, ‘तर माथिल्लो पदमा जानका लागि भने कर्मचारीले काममा बाधा नपारी कार्यालयमा बसेर पढ्ने गरेका छन्।’

बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले निजामती सेवा ऐनकै कमजोरीका कारण कर्मचारीमा स्वअध्ययन गर्ने प्रवृत्ति बढ्दै गएकाले ऐनमा नै सुधार गर्नुपर्ने धारणा राखे । ‘शैक्षिक योग्यता भएका कर्मचारीले पनि खरिदार, नासु वा शाखा अधिकृत पदबाट सेवा प्रवेश गरेपछि उपसचिव वा सहसचिव पदमा र अन्तरसेवा खुला प्रतिस्पर्धाबाट जान पाउने व्यवस्थाको अन्त्य हुँदा मात्र कर्मचारीले पढेर बस्ने अवस्थाको अन्त्य हुन्छ’, उनले भने,‘अन्यथा कर्मचारीले जुनसुकै समयमा स्व-अध्ययन गर्ने प्रवृत्ति कायम रहन्छ।’

संसद्, प्रशासन, न्याय, वनलगायतका कतिपय सेवामा खुला प्रतिस्पर्धाबाट बहालवाला कर्मचारीले नै माथिल्लो पदमा नाम निकाल्दा तल्लो तहमा छिटै नै पद रिक्त हुने गरेको उनले बताए। रिक्त पदमा पूर्ति गर्नका लागि पुनः लोक सेवाको प्रक्रियामा जाँदा करिब एक वर्ष नै समय लाग्ने गरेको छ।

लोक सेवा आयोगले हरेक वर्ष खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरेको छ। राजपत्राङ्कित प्रथम श्रेणीको असोज अन्तिम साता विज्ञापन प्रकाशित भई सिफारिस हुँदा अर्को वर्षको वैशाखसम्म लाग्ने गरेको आयोगले जनाएको छ। त्यस्तै राजपत्र अनङ्कित पदको माघको अन्तिम साता विज्ञापन भई सिफारिस हुँदा साउन\भदौसम्म पुग्ने आयोगले सार्वजनिक गरेको वार्षिक परीक्षाको कार्यतालिकामा उल्लेख छ।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईले कुन कर्मचारीलाई कहिले बिदा बस्न दिने भन्ने विषय सम्बन्धित कार्यालयको भएकाले लोकसेवा आयोगसँग कर्मचारीको परीक्षाको तयारी र बिदाको विषय नजोडिने बताइन्।

– था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation