प्रहरिको घेरा तोडेर संसद्परिसर छिरे लघुवित्तपीडित, कहाँ चुक्यो प्रहरी ? 

१५ फागुन, काठमाडौँ

निषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूको प्रवेश । ऋणको सावाँब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका उनीहरू सोमबार दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दुई नम्बर गेटस्थित प्रहरीको सुरक्षाघेरा तोडेर प्रवेश गरेका हुन् । सुरक्षा निकायले उपलब्ध गराएको विवरणअनुसार ४८ महिला र एक पुरुष अनधिकृत रूपमा प्रवेश गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए

कहाँ चुक्यो प्रहरी ? 

विभिन्न जिल्लाबाट आएका लघुवित्त तथा सहकारीपीडितहरू संगठित भएर एक सातायता उपत्यकामा आन्दोलन गर्दै आएका छन् । उनीहरूको बसाइ भने गौशालानजिकैको सिफल चौरमा छ, जहाँ सादा पोसाकमा प्रहरीहरू निगरानीमा खटाइएका छन् ।

आन्दोलनकारीहरू सोमबार दिउँसो छरिएर एक्लाएक्लै विभिन्न क्षेत्रमा लागे । कोही पशुपति घुम्न त कोही सहर घुम्न । फिल्डमा खटिएका प्रहरीले माथिल्लो निकायलाई जानकारी गरायो– आन्दोलनकारीहरू घुम्न निस्किएका छन्, आज बाहिर आन्दोलन छैन । तर, त्यो प्रहरीलाई झुक्याउने उनीहरूको रणनीति थियो, जसमा उनीहरू सफल भए ।

एक्लाएक्लै बानेश्वरको पानीट्यांकी क्षेत्रमा उनीहरू जम्मा भए । संसद् भवनछेउमा जम्मा हुने र गेटभित्र प्रवेश गर्ने योजना थियो । सोही योजनाअनुसार शान्तिपूर्वक गेटसम्म पुगेका उनीहरू गेटमा रहेका प्रहरीलाई धकेलेर भित्र छिरेका हुन् । प्रहरीको सूचना संयन्त्र भुत्ते हुँदा गम्भीर सुरक्षा चुक हुन पुगेको उपत्यका प्रहरी कार्यालयका एक अधिकारी बताउँछन् । जब कि सो क्षेत्रमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना तथा प्रहरीबाट सादा पोसाकमा समेत सुरक्षाकर्मीहरू खटिदै आएका छन् । सिसी क्यामेराको समेत निगरानीमा रहने सो क्षेत्रमा उनीहरूको योजना कसैले चाल पाएनन् ।

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी संसद् भवनपरिसरभित्र यसरी योजनाबद्ध रूपमा सहजै मान्छेहरू प्रवेश गर्नु गम्भीर भएको बताउँछन् । ‘संसद् भवनजस्तो संवेदनशील ठाउँमा यो लापरबाही सामान्य होइन,’ उनले भने, ‘यो प्रोएक्टिभ पुलिसिङको अभाव हो, प्रविधि र सूचना संयन्त्रमा आधारित भएर सुरक्षा चुनौतीको पूर्वानुमान हुन नसक्दा यस्तो भएको हो । यसले सुरक्षा व्यवस्था उदांगो भएको छ ।’

यस्तो संवेदनशील ठाउँमा सुरक्षाको तीन तह बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । साथै, प्रविधिमाथि निगरानी महत्वपूर्ण हुने भण्डारी बताउँछन् । ‘अमेरिकाको ह्वाइटहाउसअगाडि पनि प्रहरी बस्दैन, तर कसैको गतिविधि शंकास्पद लाग्नेबित्तिकै उनीहरू चनाखो भइहाल्छन्,’ उनी भन्छन्, ‘तर, हाम्रोमा डिउटीमा बस्ने प्रहरीहरूसमेत सतर्क र चनाखो देखिएनन् ।’
प्रहरी प्रधान कार्यालयले संसद्परिसरको सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वका सबै ३२ प्रहरीलाई हटाएको छ । त्यहाँ नेपाल प्रहरी विशेष कार्यदलबाट प्रहरी खटिएका हुन् । कार्यदलमा सुरक्षासम्बन्धी विशेष तालिम गरेका प्रहरी रहन्छन् ।

घटनाको अध्ययन गर्न छानबिन समिति गठन 

घटनालगत्तै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । सभामुख घिमिरेले संसद्परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट जानकारी लिँदै सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए । जवाफमा गृहमन्त्री श्रेष्ठले सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक राखेर घटनाको समीक्षा गरी छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी गराए । प्रहरी महानिरीक्षक कुँवरले पनि घटनालगत्तै तीनसदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले घटनाबारे बुझ्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डिएसपी दिनेश घिमिरे रहेको तीनसदस्यीय छानबिन समिति गठन गरिएको बताए । ‘के कसो भएको भन्ने बुझ्नका लागि एउटा समिति गठन गरिएको छ । समितिले बुझेर प्रतिवेदन तयार पारेपछि थप कदम चाल्छौँ,’ प्रवक्ता ढकालले भने । उनका अनुसार संसद् भवन सुरक्षार्थ खटिएको इन्स्पेक्टरसहितको टोली परिवर्तन गरिएको छ ।

सुरक्षा व्यवस्थाप्रति गृहमन्त्री नै असन्तुष्ट

सोमबार संसद्परिसरमा भएको घटनामा गम्भीर चासो व्यक्त गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रबन्धप्रति असन्तुष्टि जनाएका छन् । संसद्परिसरमा गम्भीर सुरक्षा लापरबाही भएको भन्दै उनले सुरक्षा प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग यस विषयमा सोधपुछ गरेका छन् ।

मन्त्रालयमा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख एआइजी दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतलाई मन्त्रालयमा उनले स्पष्टीकरण लिएका छन् । सुरक्षाको पूर्वानुमान हुन नसक्दा सो घटना भएको भन्दै तत्काल सुधार गर्न उनले प्रहरी नेतृत्वलाई सचेत गराएका छन् । साथै, यस विषयमा केही दिनभित्रै निर्णय हुने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

एक उच्च प्रहरी अधिकारी फिल्डमा मनोबल खस्किएका कारण पनि यस्तो घटना भएको बताउँछन् । ‘बालकुमारीमा प्रहरीले बल प्रयोग गर्दा कारबाही गरियो,’ ती अधिकारी भन्छन्, ‘यहाँ पनि आन्दोलनकारीलाई रोक्न बल प्रयोग गर्दा कारबाहीमा परिने मनोवैज्ञानिक डरका कारण प्रहरी रक्षात्मक बन्न पुगेकोजस्तो देखिन्छ ।’

विगतमा भएका थिए बम विस्फोटदेखि दर्शकदीर्घाबाट राजालाई गुनासो सुनाउनेसम्मका घटना
आफ्ना माग सम्बोधन गराउन संसद् भवनमा यसअघि पनि थुप्रै घटना भएका छन् । तर, यसरी सुरक्षा घेरा तोडेर अनधिकृत रूपमा प्रवेश गरेको पहिलोपटक भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

‘जनताले आफ्ना जनप्रतिनिधिसँग प्रणालीभित्र रहेर व्यवस्थित रूपमा भेट्ने, कुरा राख्न पाउने हक नै हो । तर, जानकारी नदिई सुरक्षाको घेरा तोडेर प्रवेश गरेको यो पहिलोपटक हो,’ उनले भने । उनका अनुसार प्रतिनिधिसभाको पहिलो कार्यकालमा बैठक चलिरहेका वेला अस्थायी शिक्षकको माग सम्बोधन गर्न भन्दै दर्शकदीर्घाबाट नाराबाजी भएको थियो । तुरुन्तै मर्यादापालकले नियन्त्रणमा लिएर बाहिर पठाएका थिए ।

संविधानसभाको समयमा दर्शकभन्दा सांसदहरूबाटै कुर्सी फोड्नेदेखि माइकले हिर्काउनेसम्म उच्छृंखल गतिविधि संसद्भित्र भएका थिए । संसद् सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङका अनुसार सिंहदरबारभित्रको पुरानो ग्यालरी संसद् भवनमा राजा वीरेन्द्रको पालामा दर्शकदीर्घाबाट एकजना कराएका थिए । ‘सम्बोधन सकिएपछि राजा वीरेन्द्र फर्किने वेला लक्ष्मण खड्का भन्ने व्यक्ति सरकार बागमती फोहोर भयो भनेर कराए,’ उनले भने, ‘त्यसपछि उनलाई मर्यादापालकले नियन्त्रणमा लिएर बाहिर निकाले, प्रवेश नपाउने सूचीमा उनको नाम राखियो ।’

गुरुङले जनप्रतिनिधिलाई भेट्न नपाउने भन्ने नहुने, तर हुलहुज्जत गर्नु संसदीय मर्यादाभित्र नपर्ने बताए । ‘यसरी सुरक्षा ब्यारिएर तोडेर आएको यो पहिलो घटना हो, नियोजित ढंगले गरेको देखिन्छ । अहिलेको घटना सुरक्षामा ठूलो कमजोरी हो । यसमा संसद्का पदाधिकारी, सचिवालय र सुरक्षा निकाय सतर्क हुनुपर्छ,’ उनले भने ।

पूर्वमहासचिव गुरुङको पालामा एकपटक कार्यालय सहयोगी बैठक चलिरहेका वेला सभामुखको कुर्सीको छेउमा पुगेर बोल्न खोजेका थिए । ‘सभामुखको कुर्सीको छेउ पुगेर केही बोल्न खोजे, भित्रैको कर्मचारी हो भनेर हामीले रोकेनौँ, ख्याल गरेनौँ, तर बोल्नै खोजेपछि तत्कालै सभामुखको पछाडि रहेका मर्यादापालकले नियन्त्रणमा लिएर निकाले,’ उनले भने, ‘पछि केरकार गर्दा अवस्था ठीक लागेन । मेडिकल जाँचमा पठाउँदा मानसिक अवस्था ठीक छैन भनेपछि बिदा गर्‍यौँ ।’

गुरुङले पञ्चायतको समयमा संसद् भवनको मुख्य प्रवेशद्वारमा बम विस्फोट भएको र एकजना कर्मचारीको मृत्यु भएको घटना पनि सुनाए । ‘संसदीय इतिहासमा यो दुःखद घटना थियो,’ उनले भने ।

-न.प.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation