१७ फागुन, काठमाडौँ
पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि बिहीबार नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ।
साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ। पहिलोपटक सहभागिता जनाएको नेपाल उपाधि चुम्दै इतिहास रच्ने दाउमा छ।
जोर्डन पनि फाइनलमा नेपाललाई हराउँदै छैँटौँ पटक उपाधि उचाल्ने योजनामा छ । डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालेको छ ।
फाइनल खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ खेल्ने छैनन् । वाफमा सर्वाधिक ९ गोल गरेकी सावित्रा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा अगाडि छिन् ।
फ्रेन्च क्लब इभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा सावित्रको उपस्तिथि नहुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।