१८ फागुन, काठमाडौं
आजदेखि डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना सुरु हुँदैछ। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुईदिने कन्क्लेभमा ४० भन्दा बढी सरोकारवाला र विज्ञहरु वक्ताका रुपमा सहभागी हुँदै छन्।
कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा अन्य प्रदेशबाट सम्बन्धित मन्त्री र सचिवहरुको पनि उपस्थिति रहनेछ। यसैगरी संघीय सरकार र सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बन्धित सरोकारवालाहरुको कार्यक्रममा उपस्थिति रहनेछ।
कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्रीहरुको पावर सेसन छ भने सम्पूर्ण स्थानीय पालिका र जिल्लाबाट सरकारी र अन्य सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको छ।
कन्क्लेभमा चारवटा किनोट प्रस्तुति र ६ वटा प्यानल सेसन छन्। आज हुने उद्घाटन सत्रमा डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्वमुख्यमन्त्रीहरुको पावर सेसन मनोहरकुमार भट्टराईको कर्णालीका लागि डिजिटल रुपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुति रहनेछ।
यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युतीय सुशासन आयोगका सीइओ दीपेश विष्ट, न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठसँगै यूएनडीपी, नेपाल दूरसञ्चार प्राधिकरण, पीएलजीएसपी र एसिया फाउन्डेसनका तर्फबाट कार्यपत्र प्रस्तुति हुनेछ।
पहिलो दिन उद्घाटनपछिको सत्रमा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरु सञ्चालन हुनेछन्। दोस्रो दिनको पहिलो सत्रमा डिजिटल अभियान, आइडिया र प्रविधिबारे प्रस्तुति रहनेछ।
कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुँचलगायत आइडियाहरु प्रस्तुत हुनेछन्। यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ।
कर्णालीलाई प्रविधिका माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक संस्थाहरुको दाबी छ। दुईदिने कन्क्लेभले प्रदेशका लागि डिजिटल रोडम्याप बनाउन सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीको प्रतिबद्धता छ।
– था.ख.