देशमै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

 

१९ वैशाख, काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेसमेत बताएका छन् ।

‘नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ’, उनले भनेका छन् ।

साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्न सरकार गम्भीर रुपमा लागेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइँदै आइएको छ । उक्त आन्दोलनको बलमा सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation