Pranmancha

Advertisment

SKIP THIS

असारे बजेट स्वाहा पार्न विदेश भ्रमण जानेकाे नालिवेली

देशी मुद्रा सञ्चितिमा आएको गिरावट रोक्न गत वैशाखमा सरकारले अनिवार्य प्रतिनिधित्व हुनुपर्नेबाहेक निजामती कर्मचारीको विदेश भ्रमण रोक्ने निर्णय गरेको थियो । तर, बजेट सक्न आर्थिक वर्षको अन्त्यमा विदेश सयरमा कर्मचारी लर्को लागेका छन् । मध्य जेठयता मात्रै एक सय ७९ कर्मचारीले विदेश भ्रमण गरेका छन् ।

कृषि मन्त्रालयका ६० कर्मचारी अधिकांश थाइल्यान्ड भ्रमणमा जेठ र असारमा कृषि मन्त्रालयका ६० कर्मचारीले सरकारी खर्चमा विदेश भ्रमण गरेका छन् । १८ देखि २५ जेठसम्ममा नौ कर्मचारी भारत गएका थिए । ‘हाई लेभल नेपाल स्टडी मिसन टु इन्डिया अन राइट टु फुड एन्ड फुड सभर्निटी एक्ट’ नामको भ्रमण टोली आठ दिन भारत घुमेर फर्केको थियो ।

लगत्तै १९ देखि २५ जेठसम्ममा कृषि अनुसन्धान तथा बजार अवलोकनका लागि भनेर तीनजनाको टोली थाइल्यान्ड गएको थियो । जेठमै ४४ जनाको अर्को जम्बो टोली वैदेशिक तालिम/अवलोकन भ्रमणअन्तर्गत थाइल्यान्ड नै गएको थियो । त्यस्तै, १३ देखि १७ असारसम्म अर्को तीन सदस्यीय टोली पनि कृषि अनुसन्धान तथा बजार अवलोकन भ्रमणका लागि भनेर थाइल्यान्ड घुमेर आयो ।

वन तथा वातावरण मन्त्रालयका ४१ कर्मचारी घुमेर आए
यो अवधिमा वन तथा वातावरण मन्त्रालयबाट पनि ४१ कर्मचारीले विदेश सयर गरेका छन् । यो संख्या मन्त्रालय र मातहतका निकायका सहसचिवसम्मका भ्रमणमा गएका कर्मचारीको हो । कर्मचारीहरू कुन–कुन देश भ्रमणमा गए भन्ने मन्त्रालयले खुलाएको छैन । ०७९/८० को बजेट ल्याएपछि अर्थ मन्त्रालयका कर्मचारी पालैपालो विदेश भ्रमणमा निस्किए । घुम्ने क्रम अझै सकिएको छैन । नौ सदस्यीय टोली अहिले पनि अस्ट्रियामा छ । यसअघि अर्को टोली फ्रान्सलगायत युरोपका विभिन्न मुलुक पुगेर आएको थियो । त्यस्तै, अर्को टोली स्विट्जरल्यान्ड गएर फर्किएको थियो । सहसचिवसहितको एउटा टोली त्यसअघि क्यानडा गएर फर्किसकेको छ ।

सबै टोलीले कम्तीमा एक साता भ्रमण गरेका थिए । सहसचिव नेतृत्वको टोली बजेट महाशाखाको हो । यो टोलीमा सातजना उपसचिव, एक कम्प्युटर इन्जिनियर, १६ शाखा अधिकृत र चार कम्प्युटर अधिकृत थिए । यीबाहेक अन्य महाशाखाबाट पनि भ्रमणमा गएका छन् । विभिन्न संस्थान तथा निकायको सञ्चालक समितिमा अर्थको प्रतिनिधित्व अनिवार्य हुने भएकाले त्यहाँबाट विदेश जाने कर्मचारीको संख्या पनि ठूलो छ ।

कर्मचारी सञ्चय कोष, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलगायतबाट पनि अर्थका कर्मचारी विदेश गएका छन् । आन्तरिक राजस्व विभागका उपमहानिर्देशकसहितको टोलीले अस्ट्रिया घुमेको छ । विभागको अर्को टोली पनि विदेश जान लागेको स्रोतले बतायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २६ कर्मचारी, दुई टोली थाइल्यान्ड पुगेर फर्किए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २६ सदस्यीय टोली थाइल्यान्ड पुगेर फर्केको छ । आयोगकै बजेटमा सहसचिव नेतृत्वमा दुई टोली थाइल्यान्ड गएका हुन् । पहिलो टोलीले ३० जेठदेखि ८ असारसम्म तथा दोस्रो टोलीले १३ देखि २२ असारसम्म भ्रमण गरेको हो ।

थाइल्यान्डको ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको संयोजन’मा आयोगको टोली थाइल्यान्ड गएको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत नै अनुसन्धान अधिकृतको क्षमता विकासको कार्यक्रमका लागि गएको उनको भनाइ छ । यसअघि कोभिड महामारीका कारण गर्न नपाएको कार्यक्रम अहिले गरिएको आयोगले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका १२ कर्मचारी माल्दिभ्सदेखि स्विट्जरल्यान्डसम्म घुमघाम
पर्यटन मन्त्रालयका १२ कर्मचारीले पनि विभिन्न देशको भ्रमण गरेका छन् । संस्कृति महाशाखाका प्रमुखको नेतृत्वमा उपसचिव र शाखा अधिकृतसहितको सात सदस्यीय टोली मन्त्रालयकै खर्चमा माल्दिभ्स घुमेर फर्केको छ । जलवायु परिवर्तनको असरबाट नेपाल पनि अछुत नभएको सन्देश लिएर सगरमाथाको ढुंगो बोकेर टोली माल्दिभ्स गएको हो ।

जलवायु परिवर्तनको असरको अध्ययन तथा त्यसलाई न्यूनीकरण गर्ने कार्यक्रमअन्तर्गत टोली माल्दिभ्स गएको मन्त्रालयका सूचना अधिकारी टेकनारायण पौडेलले बताए । उनका अनुसार सगरमाथाको ढुंगा माल्दिभ्स पुर्‍याउने र माल्दिभ्सको ढुंगाको प्रतिमा नेपाल ल्याउने कार्यक्रम हो । त्यसअघि संस्कृति महाशाखाकै चार सदस्यीय टोली श्रीलंका पुगेर आएको थियो । त्यस्तै, मन्त्रालयका एक सहसचिव स्विट्जरल्यान्ड र दक्षिण कोरिया पुगेर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation