पर्यटन प्रबर्द्धनका लागि भन्दै सञ्चालन गरिएका र गर्न लागिएका प्युठानका केही महोत्सव कमाउ धन्दामा परिणत भएका छन् । महोत्सव पहिले पहिले एक हाट बजारको विकसित रुप भन्ने बुझिन्थ्यो, जहाँ मनोरञ्जन, खेलकुदका साथमा स्थानीय उत्पादनको प्रदर्शनी, बिक्री वितरण गरिन्थ्यो । जसले स्थानीय उत्पादन, कृषकका उत्पादन र घरेलु सिपमा बनाइएका उत्पादनको क्षेत्रमा प्रोत्साहन गर्ने काम गर्थ्यो। जहाँ बिचौलीया नभई सिधैं उत्पादक र उपभोक्ताबीच मोलमोलाई भएर खरिद, बिक्री हुन्थ्यो । त्यसो गर्दा उत्पादकले राम्रै रेट पाउथे भने उपभोक्ताले पनि सुलभ मुल्यमा आवश्यक सामाग्री खरिद गर्न पाउँथे । हाटबजारलाई आफ्ना रितिथिती र संस्कृतीको जगेर्ना गर्ने, रमाईलो गर्ने थलो पनि थियो । मानिसहरु कहिले हाट, मेला, जात्रा लाग्ला भनेर ति दिनको पर्खाइमा रहन्थे ।
अहिले मेला–महोत्सवको नाममा भड्कीलोपन बढेको छ । अनि स्थानीय उत्पादकलाई प्रोत्साहन दिने भन्दा पनि ठुलाठुला अन्तर्राष्ट्रिय कम्पनिले उत्पादन गरेका स्टल ल्याउने र आम्दानिको राम्रो श्रोत बनाउने गरेको पाईन्छ । बर्षमा पटक पटक भागवण्डामा महोत्सव लगाउने आफ्नो पालो पर्दा खेरी पुस्तौं पुग्नेगरी अर्थोपार्जन गर्ने मानसिकता बढेको पाईन्छ ।
पहिला स्थानीय तहले केही बजेट व्यवस्था गरिदिन्थ्यो । उत्पादकहरुले सहज रुपमा आफ्ना उत्पादनहरु बिक्री गर्न पाउँथे तर पछिल्लो समयमा स्थानीय साना उत्पादनकर्ताहरु निरास हुँदै गएका छन् । अझ स्थानीय रुपमा उत्पादनकर्ता पलायन नै भए भन्दा पनि हुन्छ । स्थानीय उत्पादन पनि बिचौलियामार्फत महङ्गो मुल्य तिरेर उपभोग गर्नुपर्ने । जसमा न उत्पादकले राम्रो मुल्य पाउँछ न त उपभोक्ताले सुलभ दरमा उपभोग गर्न पाउँछन । यसको माध्यम नै छैन भन्दा पनि हुन्छ।
पछिल्लो समयमा मेला महोत्सव पनि नाफामुखी र ठेकेदारी प्रथामा चल्दा नत स्थानीय सरकारले पाउनुपर्ने जति राजश्व पाउँछ, नत उपभोक्ताले सुलभ मुल्यमा नै आवश्यक वस्तु उपभोग गर्न पाएका छन् । ठेकेदारमार्फत मेला–महोत्सव सञ्चालन गर्दा जतिसक्यो बढी नाफा कमाउनेमा ध्यानमात्र दिने भए, स्थानीय उत्पादनलाई महत्व नदिने भए । नाफा कमाउनलाई मात्र भएका छन् अहिलेका प्युठानका महोत्सव ।
हिसाव किताब देखाउन पनि नपर्ने करछली गर्न पनि पाईने । न टिकेटको रेकर्ड कहिँ दर्ता गर्नुपर्ने । औपचारिकतामा मात्र सिमित राखेर मेला एउटा राम्रो कमाउधन्दा बनेको छ । सिमित बजेट जोहो गरेर लगाएका महोत्सव भन्दापनि तडकभडक र कमाउने मात्र ध्यान राखेर चलाईएका छन् । जहाँ न कुनै स्थानीय उत्पादनको लागी कुनै स्थान छ, न त स्थानीय संस्कार–संस्कृतिको नै मुल्य, न त स्थान रहेको पाईन्छ ।
पर्यटन प्रवर्द्धनको नारा दिएर महोत्सवको आयोजना गरिएको भए पनि महोत्सवमा कति जना सहभागीहरूले कुन–कुन पर्यटकीय स्थलहरूको अवलोकन गरे भन्ने लेखाजोखा नै राखिँदैन । त्यसैले यी महोत्सव के काे लागि ? कसको लागि ? किन ? कसरी ?
-भरत आचार्य गौमुखी गाउँपालिका,प्युठान