Pranmancha

Advertisment

SKIP THIS

नयाँ नेतृत्व चयनका लागि अखिल क्रान्तिकारीको निर्वाचन कार्यतालिका सार्वजनिक

 

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्‍मेलनमा विवादका कारण नेतृत्व चयन गर्न नसकेको अखिल क्रान्तिकारीले तीन महिनापछि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि दुई चरणमा निर्वाचन हुने छ । पहिलो चरणमा नेतृत्वमा उमेर हद (३२ वर्ष) लगाउने कि नलगाउने भनेर निर्वाचन हुनेछ । त्यसबाट जे नतिजा आउँछ, त्यसको आधारमा उम्मेदवारी दर्ता गरी नयाँ नेतृत्व चयनका लागि फेरि मतदान हुने छ ।

मंगलबार प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जारी गरेको सूचना अनुसार उमेर हदका लागि पुस १० गते मतदाता नामावली सार्वजनिक हुनेछ । पुस ११ गतेदेखि १२ गते बिहान १० बजेसम्म मतदाता नामावली उपर दावीविरोध र पुस १२ गते साँझ ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

उमेर हदको विषयमा पुस १३ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदात हुने छ । उमेर हदमा मतदानका लागि भूगोल र गैरभूगोल गरी ८६ जिल्लाहरूमा मतदान केन्द्र तोकिएको छ ।

उमेर हदको निर्वाचनको नतिजा पुस १४ गते सार्वजनिक हुने छ । त्यसपछि दोस्रो चरणको निर्वाचन केन्द्रीय पदाधिकारी र सदस्य चयनका लागि हुने छ । यो निर्वाचनका लागि पुस १५ गते मनोनयन दर्ता हुने छ ।

पुस १६ गते उम्मेदवारी उपर दावीविरोध, अन्तिम नामावली प्रकाशन हुने छ । पुस १७ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुने छ ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेशस्तरीय मतदान केन्द्र तोकिएको छ ।

गत असोज १० गतेदेखि कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने भनिएको थियो । तर विवादका कारण सम्मेलन स्थलमा तोडफोड भएपछि सम्मेलन स्थगित गरेर २३ र २४ मंसिरमा गर्ने भनिएको थियो । तर निर्धारित समयमा सम्मेलन हुन सकेको थिएन ।

अहिले भने ३२ वर्ष उमेर हद कायम गर्ने कि नगर्ने भनेर मतदानको निर्णय भएको फ्र्याक्सनइन्चार्ज हिमाल शर्माले जानकारी दिए । ‘अब उमेर हदमा एउटा मात्र विकल्प छ । ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने भनेर भोटिङ हुन्छ र त्यसबाट जे नतिजा आउँछ, त्यही अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्छ ।’

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भए अहिले अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation