दाङको देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गढवा–कोइलावास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका –५ कक्रहवामा घुम्तिमा मोड्ने क्रममा अनियन्त्रित भएर अटो दुर्घटना भएको हो। बुधवार दिउँसो करिव २ बजेतिर भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको दाङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा राजपुर गाउँपालिका –३ भैसहवा निवासी ५० बर्षीय तुलाराम बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो।
सोही दुर्घटनामा राजपुर गाउँपालिका –२ भैसहवा निवासी ४० बर्षीय बसन्ती विक र राजपुर गाउँपालिका –४ निवासी ३६ बर्षीय प्रेमचन्द्र यादव घाइते भएका छन । घाइते मध्य विकको लमही अस्पताल देउखुरी र यादवको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
दुर्घटना सम्बन्धी आवास्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी दाङले जनाएको छ।