१३ माघ, दाङ
शान्तिनगर गाउँपालिका-३ भलानेटीका जनक सीलाई माघ ७ गते ठूलो बज्रपात पर्यो । विहान करिव ३:३० बजेतिर जनकले आफ्ना बुवालाई सदाका लागि गुमाए ।
उनका बुवा बल बहादुर सीको राप्ती प्रादेशिक अस्पतालमा ७४ वर्षको उमेरमा दुखद निधन भयो । बुवा दमको रोगी थिए ।
बुवाको निधन भएलग्गतै अस्पतालमा परिवारका सदस्यहरु , आफन्तजन , इस्टमित्र एवम समर्थक शुभचिन्तकको घुइँचो लाग्यो ।
जनक एउटा छोरा मात्रै होइनन् , उनी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य समेत भएकाले बुवाको निधनमा पार्टीका नेताकार्यकर्ताको अस्पताल परिषरमा घुइँचो लाग्नु स्वभाविक थियो ।
यसैपनी कसैको मृत्यु भएपछि मान्छेहरुको जमघट हुने , दुख साट्ने सामाजिक परम्परा नै हो ।
बुवाको निधनपछि नेता जनकलाई पुरानो सांस्कृतिक मूल्य , मान्यता तोड्नुपर्ने थियो ।
कम्युनिस्टहरुले यसलाई नैतिकताको प्रश्न बुझ्ने गर्दछन । उनिहरु भौतिकवादी हुन्छन् । तर पछिल्लो समय माओवादी आन्दोलनमा जुन प्रकारका विचलनहरु देखापरेका छन् त्यसले तल्लो तहका नेताकार्यकर्ताहरु लाई पुराना मूल्य , मान्यताहरु भत्काउन पक्कै सहज छैन्।
जब उपल्लो तहको नेतृत्व नै जनयुद्धका मूल्य , मान्यता र कम्युनिस्ट आदर्शबाट बिचलित भइरहेका छन् त्यस्तो बेलामा नेता जनकले परिवार , समाजलाई भौतिकवादी संस्कृतिमा रुपान्तरण गर्न पक्कै सहज थिएन होला ।
तर उनले आफ्नो परिवारलाई कन्भिन्स गरे र धार्मिक मूल्य , मानयतामा आधारित कुनैपनी प्रक्रिया पूरा गरेनन्।
बिशेषगरि हिन्दु धर्ममा मृत्यु संस्कारका थुप्रै धार्मिक मान्यता र परम्पराहरु छन् ।
शवको शुद्धीकरण , मन्त्र , पाठ र प्रार्थना , पिण्डदान , श्राद्ध कार्य , अस्थी विसर्जन लगाएतका परम्पराहरु कायम छन् ।
यो सम्पूर्ण प्रक्रिया मृतकको आत्मालाई मोक्ष प्राप्त गर्न सहयोग पुर्याउने विश्वासमा आधारित छ। स्थानीय परम्परा र ब्राह्मणको निर्देशन अनुसार यसमा केही भिन्नता हुन सक्छ ।
तर नेता जनकले यी कुनैपनि परम्पराहरु गरेनन् । उनले भौतिक संसारलाई वास्तविक मान्ने , चेतना र विचारलाई पनि भौतिक मस्तिष्कको उत्पादक मानिने ,आध्यात्मिक वा अदृश्य तत्वलाई अस्वीकार गर्ने भौतिकवादी दर्शन अनुसार मृत्यु संस्कारको प्रक्रिया पूरा गरेका हुन् ।
अझ यसमा पनि उनले आफ्नो पार्टीको नवौं महाधिवेशनले अगाडि सारेको सी जाती र यसको मृत्यु संस्कार अवलम्बन गरेका छन् ।
सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नेकपाको निति रहेको छ । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको स्मृतीमा त्रीरोपण (फल,फुल र जडिबुटी) रोपण गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा गरिब , असहाय , अशक्त , बेसहारालाई लत्ताकपडा , राहत वितरण गर्ने , चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन अथवा अन्तिम दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली एवम शोक सभाको आयोजना गर्ने नीति रहेको छ ।
सोहि नीति अनुरुप सबै कामकाज पूरा गरिसकेका नेता जनकको परिवारले भोलि मृतक बुवा बल बहादुर सीको स्मृतिमा श्रद्धाञ्जली एवम शोक सभाको आयोजना गर्ने जनाएको छ ।
आध्यात्मिक दर्शन भौतिक जगतभन्दा परको यथार्थता स्वीकार गर्दछ । आत्मा, परमात्मा, चेतना, र आध्यात्मिक ऊर्जा जस्ता चीजहरूलाई मूल मान्छ।
भौतिक संसारलाई अस्थायी वा माया (भ्रम) मान्दछ ।
आध्यात्मिक अनुभव, ध्यान, विश्वास, र आन्तरिक चेतना मार्फत सत्यलाई बुझ्न खोज्छ।
आत्म-प्राप्ति वा ईश्वर-प्राप्तिलाई ज्ञानको चरम लक्ष्य मान्छ। जीवनको उद्देश्य आत्मज्ञान, मोक्ष, वा सर्वोच्च सत्यको खोजी हो।व्यक्तिगत र सार्वभौम अस्तित्वबीचको सम्बन्धलाई महत्त्व दिन्छ।
तर कम्युनिस्टहरुले यसको विकल्पमा भौतिकवादी दृष्टिकोणलाई मान्ने गर्दछन ।
नेता जनकले पनि ज्ञानको स्रोतलाई अनुभव र तर्कमा आधारित वैज्ञानिक पद्धतिबाट मात्र परिभाषित गर्ने प्रत्यक्ष प्रमाण र वस्तुनिष्ठ अध्ययनलाई मुख्य ठान्ने भौतिकवादी दृष्टिकोणले सम्पुर्ण परिवारलाई रुपान्तरण गर्न सफल भएका छन् ।
उनले आफ्नो बुवाको काजकिरिया गरेनन् । त्यतिमात्रै होइन आफ्ना दाईभाईलाई पनि काजकिरिया गर्ने मान्यताबाट रुपान्तरण गर्न सफल भए ।
उनका १ दाजु र १ भाइ छन् भने ३ जना दिदिबहिनीहरु छन् । उनले परिवारलाई यतिसम्म रुपान्तरण गर्न सफल भएकि कसैले पनि पुरानो मृत्यु संस्कारलाई अवलम्बन गरेनन् । पार्टीको सी संस्कृतिलाई लागू गरे ।
दिवंगत बल बहादुरकि श्रीमती पनि छोराछोरीको यो कुराबाट प्रभावित छिन् ।
उनले डेलिन्युजराप्तीसंग कुरा गर्दै भनिन्– ‘बाँच्दासम्म राम्रो गर्ने हो आमा , मरेपछी गरिने कर्मले केही अर्थ राख्दैनन् भन्छन् । छोराछोरीले हामीभन्दा धेरै बुझेका होलान् , हामी त नपढेका , न लेख्न जान्छौं । उनिहरुले बुवाको राम्रो हेरचाह गरेका हुन् । नहुनु थियो भइहाल्यो , उहाँ त अब यो संसारमा हुनुहुन्न । उहाँको सम्झनामा बिरुवा रोपेका छौं , गरिब , दिनदुखीलाई लत्ताकपडा , खाद्यान्न सहयोग गरेका छौँ । अब तलको बिधालयमा कोष बनाउने कुरा गर्छन् छोराछोरी, त्यो पनि त राम्रै हो।’
‘भौतिकवादी संस्कृतिमा परिवारलाई रुपान्तरण गर्न कठिनाई नहुने कुरै भएन् तर कन्भिन्स गर्न सफल भएको छु । बाहिर इस्टमित्रको दबाब पनि हुँदो रहेछ । गाउँमा किरिया नबसेका घरमा के जानू भन्छन् ।बौद्धिक तप्काको समर्थन छ । गाउँका बुढापाका मान्छेको गुनासो छ । किरियापनि नबस्ने हुन्छ भन्छन् । मान्छे ज्युदो हुँदा नै सेवा गर्नुपर्छ , मरेपछि गरिने अनावश्यक कुराको कुनै तुक छैन् । कम्युनिस्ट स्कुल र एकीकृत जनक्रान्तिको सी संस्कृतिको प्रभावले यो कदम उठाएका हौ । अब भासण र कुराले मात्रै कम्युनिस्ट हौं भनेर हुँदैन , व्यवहारमा पुष्टि गर्नुपर्ने बेला आएको छ । हिजोका महान आदर्श , मूल्य मान्यताहरु भत्किदा केही अन्योल भएकै हो तर अब यो कडिलाई जोड्नुपर्छ ,’ नेता जनक सीले भने।
बिधालयमा लेखापालको जागिर छाडेर कम्युनिस्ट राजनीतिमा सक्रिय भएका नेता जनकले मास्टर डिग्री पास गरेका छन् । उनले ०५७/०५८ सालतिर बिद्यार्थी राजनीतिमा काम गर्दै ०६२/०६३ सालमा माओवादी पार्टीको पार्टी सदस्यता प्राप्त गरेका थिए ।
उनि तत्कालीन माओवादी पार्टीको युवाको गाविस उपाध्यक्ष हुँदै २०६८ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भए ।
तत्कालीन माओवादी पार्टी बिचलनको बाटोतिर अग्रसर भएको आरोप लगाउँदै विप्लवले छुट्टै पार्टी पुनर्गठन गरेपछी उनले नेकपाको जिल्ला सेक्रेटरी सम्मको जिम्मेवारी प्राप्त गरे । उनी हाल नेकपाको केन्द्रीय प्रतिनिधि समिती सदस्यको जिम्मेवारीमा छन् ।
नेता जनकले २०६९ सालमा शसिकला खड्कासंग अन्तरजातीय विवाह गरेका थिए । उनले विवाह पनि कम्युनिस्ट संस्कारमा आधारित जनावादी विवाह गरेका हुन् ।
नेता जनककि दिदी सुस्मापनि ०५८ सालदेखि तत्कालीन नेकपा माओवादीमा होलटाइमर कार्यकर्ता हुन् । उनले करिब १८ महिना जेल जीवन समेत बिताएकी हुन् भने बहिनी उषा पुर्व जनमुक्ति सेना हुन् ।
उनका दाइ कोल बहादुर र भाइ खडकपनि एकीकृत जनक्रान्तिको दौरानमा नेकपा प्रतिबन्धित भएको बेला पार्टीलाई सहयोग गरेवापत प्रहरीले पक्राउ गरि २५/२६ दिन हिरासत राखेको थियो ।
दिवंगत बुवा बल बहादुर सीको जन्म २००७ साल चैत्र १८ गते दाङको शान्तिनगरमा भएको थियो ।
उहाँको विवाह २०४४ सालमा चन्द्रकलि विकसंग भएको थियो ।
बुवाको रुचि सिकार खेल्ने , आयुर्वेदिक ओखतीमुलो गर्ने , काठको व्यवसाय (ठेकी बनाउने) रहेको नेता जनकका कान्छा भाइ खडकले जानकारी दिए ।
छोराछोरीले राम्रोसंग पढुन , लेखून र देशको सेवा गरुन भन्ने चाहना बुवाको रहेको समेत उनले बताए ।
परम्परागत काजकिरिया नगर्ने जनक र उनको परिवारको निर्णय व्यक्तिगत भए पनि मृत्यु संस्कारसँग जोडिएको ‘सामाजिक जकड’ तोड्न केही अर्थ भने राख्छ।
किरिया बार्ने नियम समयक्रममा सरलीकरण हुँदै आएको इतिहास छ। यो कुनै बेला १३ वर्षको हुन्थ्यो। पछि १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिनमा जारी छ।
राणा प्रधानमन्त्री जुद्धशमशेर पालासम्म किरिया ४५ दिन बार्ने चलन थियो। भारतको आर्यसमाज गुरुकुलबाट फर्केका शुक्रराज शास्त्रीले ४५ दिनको चलन ‘अवैदिक’ भएको तर्क राखे। दरबारका पण्डित–पुरोहितले शास्त्रीको तर्क खण्डन गरे। जुद्धशमशेरलाई भने शास्त्रीको भनाइ जच्यो। उनले वाल्मिकी रामायणको अयोध्याकाण्डसँग मेल खाने गरी १९९३ सालमा तेह्रदिने सामाजिक कानुन बनाए। अयोध्याकाण्डमा भरतले १३ दिन बारेको उल्लेख छ।
शुक्रराज उनै चार सहिदमध्ये हुन्, जसलाई राणा शासनविरुद्ध लागेको भन्दै फाँसी दिइएको थियो।
त्यतिबेला ७९ वर्षदेखि चल्दै आएको ४५ दिने किरियाविधि १३ दिनमा झरेको थियो। यसलाई अझ सरल गर्नुपर्ने बहस छ।
यो बहसमा मृत्यु संस्कार सुधार पक्षका दुईथरी अभियन्ताको फरक मत छ। एकथरी अभियन्ता पाँच दिनमा सीमित गर्नुपर्ने बताउँछन्।
अर्काथरी भने ‘तीन दिन नै पर्याप्त’ भएको तर्क गरिरहेका छन् ।
यता नेकपाले पनि पार्टीको नवौं महाधिवेशनबाट मृत्यु संस्कारलाई बोझिलो , अप्ठ्यारो र अवैज्ञानिक बनाउन नहुने भन्दै ५ दिनसम्म मनाउने नीति पास गरेको छ ।
पार्टीले पुरानो परम्परागत जातीको विकल्पमा नयाँ जाती सी जाती र त्यसको सी संस्कृतिलाई बहसमा ल्याएको छ। पार्टीको आन्तरिक कमिटीमा लागू समेत गर्दै गएको नेकपाले जनाएको छ ।