Pranmancha

Advertisment

SKIP THIS

किरिया नबसेकाे जनककाे परिवारले बलबहादुरकाे स्मृतिमा अक्षयकोष खडा गर्‍याे

पश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ ।
परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि साेही गाउँमा रहेकाे जनता आधारभूत विद्यालमा विपन्न र अशक्त दलित विद्यार्थीहरुलाई अध्ययनमा राहत हाेस् भनेर अक्षयकोष खडा गरेकाे परिवारले जनाएको छ ।

शाेकसभामा मन्तव्य राख्दै प्रतिराेधका संयाेजक प्रमाेद धिताल

नेकपा दाङले आयाेजना गरेकाे शाेक सभामा विद्यालयका प्रधानाध्यापक ठग प्रसाद पुन र परिवारकाे तर्फबाट जनककाे आमा एवम् मृतककाे श्रीमती चन्द्रकली बिक, जनक, उनका भाइ एवम् छाेरी र बुहारीहरुले संयुक्तरूपमा अक्षयकोषकाे कार्यविधि र प्रक्रियामा हस्ताक्षर गरी साे रकम (७७,७७७)काे अक्षयकोष खडा गरिएको छ ।

शाेक मन्तव्य राख्दै सामाजिक व्यक्ति रामबहादुर जि.सी

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेकाे दश वर्षे जनयुद्ध हुँदै पछिल्लो विप्लव नेकपासम्म परिवर्तनको दिशामा समर्पित साे परिवार क्रान्तिकारी आन्दोलनमा सम्पूर्ण ढंगले सबै सदस्यहरु हाेमिएकाे प्रेरणादायी परिवार हाे । दम राेगबाट ग्रसित बुवा बलबहादुरको राप्ती प्रादेशिक अस्पतालमा ७४ वर्षको उमेरमा मा ७ गते निधन भएको थियाे ।

धार्मिक कुसंस्कारका नाममा हुने काजकिरिया र १३ दिनकाे शुद्धाशुद्धीकाे नाैटंकीमा नजाेडिएकाे साे परिवारले मृतक बुबाकाे नाममा प्रगतिशील दाहसंस्कार, वृक्षारोपण, राहत वितरण हुँदै अक्षयकोष स्थापना सम्मका सबै काम सामाजिक तवरले गरेकाे छ ।

आफ्नो बुबाकाे सपना र परिवारकाे कार्यभारबारे बाल्दै बलबहादुरका जेष्ठ छाेरा जनक

परिवारका सदस्यहरु मृतककी श्रीमती चन्द्रकली बिक, छोरा छोरीहरू: जनक सी, कोलबहादुर बिक, खड्क बिक, सुस्मा पाण्डे, उशा बिक, सुक्मता परियार तथा आफन्त, इस्टमित्र एवम् सिंगाे नेकपाका नेता कार्यकर्ताहरुले स्वेच्छिक रुपमा संकलन गरेकाे रकम रु. ७७ हजार ७ सय सतहत्तर रुपैयाँ नजिकैकाे जनता आधारभूत विद्यालयमा अक्षयकोषकाे रकम प्रदान गरिएको हाे ।

विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा हस्ताक्षर गर्दै बलबहादुरकी श्रीमती चन्द्रकली

यसरी स्वेच्छिक रुपमा रकम जम्मा हुँदा कसैलाई पनि आर्थिक भार नपरेकाे र हुनेले मात्रै अक्षयकोष जम्मा गर्ने तर नहुनेले के गर्ने भन्ने अन्याैल चिर्न पार्टीका नेता कार्यकर्ता, आफन्त, इष्टमित्र एवम् शुभेच्छुकहरुले मृतकका परिवारलाई सकेकाे सबैले सहयोग गरेपछि त्याे रकम नै अक्षयकोषमा रुपान्तरण हुने जनककाे परिवारले शिक्षा दिएकाे छ ।

कार्यक्रममा बाेल्दै जनक भन्छन्, ” बुबाकाे निधन नहुनु थियो भइहाल्यो, यसाे त मृत्यु चाहेर पनि राेक्न सकिँदैन । उहाँ त अब यो संसारमा हुनुहुन्न । उहाँको सम्झनामा बिरुवा रोपेका छौं, गरिब एवम् दिनदुखीलाई लत्ताकपडा , खाद्यान्न सहयोग गरेका छौँ । विद्यालयमा अक्षयकोष पनि खडा गरियाे, बुबाकाे स्मरणका लागि याे भन्दा राम्रो याेगदान किरिया बसेर हुन्छ ? म समाजलाई प्रश्न गर्न चाहान्छु । हामी किरिया बस्न नसक्ने पनि हाेइनाैँ नि ! १३ दिन हाेइन ४५ दिन पनि बस्छाैँ तर बुबाले के पाउनुहुन्छ ? याे कुनै सत्य कुरा हाेइन । समाजमा व्याप्त कुरिति र कुसंस्कार भत्काउने काम आफैबाट सुरु गर्नु्छ, हामीले गर्याैँ ।”

जनवादी संस्कृतिकाे बारे व्याख्या गर्दै शाेक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य सविन सी

नेकपा दाङले आज आयाेजना गरेकाे शाेक सभा कार्यक्रममा बाेल्दै जनक सीले भौतिक संसारलाई वास्तविक मान्ने, चेतना र विचारलाई पनि भौतिक मस्तिष्कको उत्पादक मानिने, आध्यात्मिक वा अदृश्य तत्वलाई अस्वीकार गर्ने भौतिकवादी दर्शन अनुसार मृत्यु संस्कारको प्रक्रिया पूरा गरिएको बताए । उनले जन्मसँगै मृत्यु ध्रुवसत्य कुरा भएकोले जिउँदाे रहँदासम्म सेवा गर्ने र मृत्युपछि उसकाे स्मरणमा अमरत्व प्राप्ति हुने रचनात्मक सामाजिक दायित्व पुरा गरेकाे बताए । बाँचुन्जेल औषधि उपचार, माया ममता एवम् स्याहारसुसार नगर्ने तर मरेपछि समाजलाई देखाउन लाखौं खर्च गरेर तडकभडक गर्नुकाे कुनै औचित्य नभएको उनले बताए ।
आफ्नाे बुबा सधैं क्रान्ति र परिवर्तनको पक्षमा रहेकाेले परिवारका सबै सदस्यले स्वर्ग र नर्ककाे कहानबाट अलग रहेर सांस्कृतिक रुपान्तरणमा लागेकाे बताए । जनककाे परिवारमा १ दाजु र १ भाइ छन् भने ३ जना दिदिबहिनीहरु छन् ।

जनकले परिवारका सबै सदस्यलाई माक्र्सवादी संस्कृतिमा रुपान्तरण गर्न सफल भएको कारणले पुरानो मृत्यु संस्कारलाई कसैले अवलम्बन गरेनन् । उनले खासगरी आफ्नो पार्टीको नवौं महाधिवेशनले अगाडि सारेको सी जाती र यसको मृत्यु संस्कार अवलम्बन गरेकाे बताए ।

शाेक सभामा बाेल्दै जनकले भने “भौतिकवादी संस्कृतिमा परिवार कन्भिन्स भयाे । तर इस्टमित्रको दबाब हुँदोरहेछ । गाउँमा किरिया नबसेका घरमा के जानू पनि भन्दारहेछन् । यद्यपि बौद्धिक तप्काको राम्रो समर्थन रह्यो । समाजले नबुझेकाे कुरा अभियन्ताहरुले बझाउनुपर्ने दायित्व छ, यसलाई हामी फराकिलो बनाएर सबै समाजलाई स्पष्ट रुपमा प्रशिक्षित गर्नुपर्ने छ । मान्छे ज्युदो हुँदा नै सेवा गर्नुपर्छ , मरेपछि गरिने अनावश्यक कुराको कुनै तुक छैन् । हामीले खासगरी कम्युनिस्ट स्कुल र एकीकृत जनक्रान्तिको सी संस्कृतिको प्रभावले यो कदम उठाएका हौँ ।

अब भाषण र कुराले मात्रै कम्युनिस्ट हौं भनेर हुँदैन, मालेमावादी आलाेकमा त्यसका सांस्कृतिक पक्षहरुलाई व्यवहारमा पुष्टि गर्नुपर्ने बेला आएको छ । त्याे आफैबाट सुरुवात गर्नुपर्छ भनेर हामी लाग्याैँ, याे अभियानमा परिवारले राम्रो साथ दियाे । बुर्जुवा संस्कार कुनै पनि काेणबाट उपयाेगी र अनुकररणयाेग्य छैन भन्ने कुरालाई आमाले राम्रोसँग साथ दिनुभयो । हामी सबैले हिजोका महान आदर्श , मूल्य मान्यताहरुबाट च्युत हुँदा केही अन्योल भएकै हो तर अब यो कडिलाई जोड्नुपर्छ ।” कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार, केन्द्रीय सदस्य सविन पाेख्रेल, प्रमाेद धिताल, नेपाली कांग्रेसका प्रतिनिधि, नेकपा माओवादी  (केन्द्र) का प्रतिनिधि, सामाजिक व्यक्तित्व रामबहादुर केसी आदिले जनककाे परिवारकाे साे सांस्कृतिक रुपान्तरणकाे साहसलाई स्यालुट गर्दै सम्मानभाव व्यक्त गरी परिवारजनमा समवेदना एवम् मृतककाे स्मरण मन्तव्य राखेका थिए ।

 

पार्टीका विभिन्न तहका नेता कार्यकर्ताले स्वेच्छिक रुपमा उठाएकाे २५ हजार बढी अक्षयकोषकाे रकम परिवारलाई हस्तान्तरण गर्दै नेकपा दाङका सेक्रेटरी तिलक सी

विप्लव नेतृत्वको नेकपाले सांस्कृतिक रुपान्तरणकाे दिशामा अघि सारेकाे सी जातीकाे संस्कृतिक विषयलाई व्यवहारिक प्रयाेगमा उतारेकाेमा पार्टी केन्द्रीय सदस्य सविन सीले परिवारजनमा विशेष सम्मान व्यक्त गरे । उनले समाजमा मिथ्या कुरा अब धेरै नपच्ने पनि जिकिर गरे । उनले अब समाजमा हरेक परिवर्तनकामीहरुले जनककाे परिवारकाे पारिवारिक समझदारी, क्रान्तिकारी एवम् अग्रगामी रुपान्तरणकाे साहसलाई अनुसरण गर्न जरुरी भएको बताए ।

त्यस्तै अभियन्ता, लेखक एव विश्लेषक प्रमाेद धितालले साँस्कृतिक परिवर्तन या रुपान्तरण भन्न निकै सजिलाे भएपनि त्यसकाे व्यवहारिक प्रयाेग निकै कठिन भएकाे बताए । उनले आफ्नाे बुबाकाे निधनमा पनि कुनै हिन्दु परम्परा नअंगालेर प्रगतिशील संस्कृतिकाे निरन्तरता दिएकाे स्मरण गर्दै कैयौं आफन्तहरु टाढिएकाे र साेच्दै नसाेचेका धेरै टाढाका साथीहरू जाेडिएकाे बताए । धितालले साँस्कृतिक रुपान्तरणका ठुलठुला कुरा गरेर नथाक्ने मालेमावादीहरु बुर्जुवा संस्कारकाे धङधङीमा रहने र समाजलाई रिझाउन कुरिति नै अंगाल्ने प्रवृत्तिले सांस्कृतिक रुपान्तरणले गति पैदा गर्न नसकेकाे बताए ।

शाेक मन्तव्य राख्दै नेपाली कांग्रेसका नगर प्रतिनिधि

लेखापालको जागिर छाडेर कम्युनिस्ट राजनीतिमा सक्रिय भएका नेता जनकले मास्टर डिग्री पास गरेका छन् । उनले ०५७/०५८ सालतिर विद्यार्थी राजनीतिमा काम गर्दै ०६२/०६३ सालमा माओवादी पार्टीको पार्टी सदस्यता प्राप्त गरेका थिए । तत्कालीन माओवादी पार्टीको युवाको गाविस उपाध्यक्ष हुँदै २०६८ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भए ।

अक्षयकोषमा हस्ताक्षर गर्दै जनकका भाइ

तत्कालीन माओवादी पार्टी विचलनको बाटोतिर अग्रसर भएको आरोप लगाउँदै विप्लवले छुट्टै पार्टी पुनर्गठन गरेपछि उनले नेकपाको जिल्ला सेक्रेटरी सम्मको जिम्मेवारी प्राप्त गरे । उनी हाल नेकपाको केन्द्रीय प्रतिनिधि समितिको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation