१६ माघ, रोल्पा
सुनिलस्मृति ३ मिझिङ निवासी युवा समाजसेवी दिपक घर्तीमगरले हिजो मंगलबार आफ्नो ३४ औं जन्मदिन अन्य बर्षहरु भन्दा फरक ढंगले विद्यालय र विद्यार्थीहरुसंग जन्मदिनकोषमा आर्थिक सहयोग गरेर मनाउनु भएको छ ।
सम्पूर्ण पठनपाठन सकिएपछि चार बजेतिर चन्द्रप्रभाको प्रांगणमा उपस्थित भएर विद्यार्थीहरुका शुभेच्छाका शब्दहरुको गुन्जायमान ध्वनी बिच चौंतिस सय (३४००) रुपैया जन्मदिनकोषका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्ट र विद्यालयका प्रधानध्यापक रत्नलाल सुवेदीलाई संयुक्त रुपमा हस्तान्तरण गर्दै विद्यार्थी, अभिभावक, शिक्षकहरु र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुबाट शुभकामना र अवीर ग्रहण गर्नुभयो ।
त्यसो त दिपक घर्तीमगरको परिवारको समाजसेवामा नयाँ अभ्यास होइन । आफ्नो मातापिताका ज्येष्ठ सुपुत्र दिपक घर्तीमगरको बुवा भुपनारायण घर्तीमगर रोल्पाकै चर्चित समाजसेवी हुनुहुन्छ । विद्यालयको इतिहासको कुरा गर्दा उहाँको परिवारलाई बिर्सन मिल्दैन । अथवा भनौ विद्यालय स्थापनामा उहाँको परिवारले गरेको योगदानलाई अलग्याएर विद्यालयको इतिहास पूर्ण हुन सक्दैन । कोरोनाले थिलोथिलो र त्रासदीपूर्ण जीवन बाँचिरहेका रोल्पालीहरुको बिचमा उहाँले समग्र पूर्वी रोल्पालाई लगाएको गुन कसैले बिर्सिएका छैनन् । उहाँकै छोरा दिपक पनि आफ्नो जन्मदिनमा विद्यालय खोज्दै टुप्लुक्क आइपुग्नुभयो । सहयोग रकम ग्रहण गरिसकेपछि अध्यक्ष केशर कुमार बिष्टले दिपक घर्तीमगरलाई जन्मदिनको अवसरमा शुभकामना, सहयोगका लागि धन्यवाद र अरुलाई पनि यसै गरी जोडिन आग्रह गर्नुभयो ।
हामी अनेक बहानमा अनुत्पादक क्षेत्रमा हजारौं रुपैया खर्च गरिरहेका छौं । दिनमा चार छाक खाँदा कसैको इतिहास लेखिदैन । एक छाक घटाएर कसैलाई खुवाउनुभयो भने जरुर तपाईँलाई सम्झने केही मानिसहरु हुनेछन् । विवाह संस्कार होस् या मृत्युसंस्कारकै नाममा, हामीहरु फजुल खर्च गरिरहेका छौ । श्राद्धको नाममा होस्, या चाडपर्वको नाममा, हामी फजुल खर्च गरिरहेका छौ । कुलपुजाको नाममा होस् या लक्ष्यवर्ती पुजाको नाममा, हामीहरु फजुल खर्च गरिरहेका छौ । यी सबैसबै छोडेर, बिर्सेर बाँचौ भन्ने हाम्रो आशय होइन । अभाव र गरिवीमा पनि हाम्रा पुर्खाले सामान्य खर्चमा यी परम्पराहरुलाई हाम्रो पुस्तासम्म ल्याइ पुराउनुभयो । हामी सामान्य खर्चमा यी परम्पराको निरन्तरता दिएर समाजमा स्थापित गर्नुपर्ने हाम्रा सामाजिक संरचनामा पनि थोरै योगदान गरौं कि भन्ने हाम्रो आशय हो । यसै पनि त मृत्यु अघि गरिने दशदान वैतर्णीको अर्थ कमाएको दश प्रतिशत दान गर भन्नु नै त हो । र, यो अभियानमा मनकारी, दिल ठूला भएकाहरु, आफू र आफ्नो परिवारसंगै समाजलाई पनि सोंच्नेहरु जोडिइरहनु भएको छ । यसै शिलशिलामा जोडिनुभएका दिपक घर्तीमगरलाई समग्र विद्यालय परिवारको तर्फबाट धेरैधेरै शुभकामना र धन्यवाद प्रकट गर्दै अध्यक्षले अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।
हिंजो सम्पन्न उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टको अध्यक्षता र विद्यालयका शिक्षक दुर्गा रोकाको सहजिकरणमा सम्पन्न भएको हो ।