कोशी प्रदेशसभामा माओवादी केन्द्रले वर्तमान सरकार र सत्ता गठबन्धन दलहरूप्रति प्रश्नै प्रश्न गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर सांसद राजन किरातीले पहिचानवादीसँगको वार्ता, सरकार सञ्चालनका तौर तरिका र सुशासनको विषयलाई लिएर सरकारप्रति व्यंग्य गरेका छन् ।
उनले पहिचानवादीसँगको वार्ता कहाँ पुग्यो भन्ने प्रश्न गर्दै ताप्लेजुङमा भएको घटनाको विरोध गरे । ‘सरकारले ती पक्षहरू (पहिचानवादी)सँग गरेको वार्ताको उपलब्धि के रह्यो, कहाँसम्म पुग्यो, यो समाधान भइराखेको छ वा छैन ?,’ किरातीले प्रश्न गरे, ‘आन्दोलन निरन्तर भइराखेको देखिएको छ । आन्दोलन अझै सशक्त बनाउँदै लैजाने कुरा सुनिराखेका छौँ । यसबारे सरकारले के गरिरहेको छ ? म सरकारसँग जवाफ माग गर्न चाहन्छु ।’
उनले गत असोज १२ गते बागमती र कोशी प्रदेशमा बाढी पहिरोले ठूलो क्षति गरेको र जनधनको क्षति भए पनि चार महिनासम्म पीडितलाई राहत नदिएको भन्दै आक्रोश व्यक्त गरे । ‘जनताले सोधिरहेको छ हाम्रो प्रदेशमा सरकार छ कि छैन ? जनतालाई विपद् परेको बेला जनतालाई राहत दिनुपर्छ कि पर्दैन ? सरकारसँग जवाफ माग्न चाहन्छु,’ उनले थपे । उनले पूर्वमन्त्री लीलाबल्लभ अधिकारीको जापान भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । ‘बहुचर्चित जापान काण्ड के हो ? जनताले जान्न पाउने कि नपाउने ? यो सार्वभौम संदनले थाहा पाउनुपर्ने कि नपर्ने ?’ उनले प्रश्न गरे, ‘हामीले सुनेका थियौं तत्कालीन मन्त्रीले मलाई केही जानकारी छैन, केही थाहा छैन । यदि त्यसो हो भने यो सदन स्पष्ट हुनुपर्छ, नेपाली जनता स्पष्ट हुनुपर्छ त्यो बिचौलिया को हो ? मन्त्रीलाई फसाउने त्यो बिचौलिया को हो ? त्यो बिचौलीयालाई कानुनको कठघरामा ल्याउन पर्छ कि पर्दैन ?’
उनले पाथीभरा क्षेत्रमा भएको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराए । ‘त्यहाँको जनता धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको संरक्षणको पक्षमा छ । उनीहरूमाथि सरकारले गोलीको उपहार अर्थात् राज्य आतंक गरिरहेको छ । यसबारे हाम्रो सरकारको धारणा के हो ?’ उनले भने, ‘यो वार्ता संवादबाट समाधान गर्नुपर्छ । तर, जनतामाथि आत्मरक्षाको नाममा जनताको छातीमा गोली ठोक्न पाइँदैन । आत्मरक्षाको लागि गोली चलाएको भनेर सम्बन्धित निकायले स्पष्टीकरण दिइरहेको छ । यो नेपाली जनतालाई चित्त बुझेको छैन, प्रदेशवासीलाई चित्त बुझेको छैन,’ उनले एउटा व्यापारीको लागि जनतालाई गोली ठोक्ने सरकार कस्तो सरकार हो भन्ने प्रश्न पनि गरे ।
नेपाली कांग्रेस संसदीय दलको तर्फबाट विशेष समय लिएर सांसद शोभा चेम्जोङले पनि माघ १२ गते ताप्लेजुङ पाथिभरा क्षेत्रमा भएको अप्रिय भएको घटना र त्यसअघि पनि सो क्षेत्रमा भएको विभिन्न घटनाले सिंगो देशको ध्यान आकृष्ट भएको बताइन् । ‘पाथिभरा क्षेत्रसँग जोडेर सिंगो ताप्लेजुङको पर्यटनको विकास गर्ने हो भने त्यस क्षेत्रमा केबलकार निर्माणलाई अस्वीकार गर्न सकिन्न । माता पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूको संख्या विस्तार भई धार्मिक पर्यटन क्षेत्रको रूपमा ताप्लेजुङलाई विकास गर्न सकिन्छ । त्यसैले पर्यटन क्षेत्रको विकास पर्यटकको सहज आवतजावतका लागि केबलकारलगायत भौतिक पूर्वाधारको विकास गर्न जरुरी छ,’ उनले थपिन्, ‘तर, हामीले गम्भीर हुनुपर्ने कहाँ छ भने पाथीभराको केबलकार निर्माण गर्नुभन्दा पहिले पाथीभरा क्षेत्रको धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षण र सम्बद्र्धनको लागि केबलकार सञ्चालन गर्न के कस्ता योजना ल्याइएको छ ? पाथीभरा विकासका लागि केबलकारले आर्जन गर्ने मुनाफा कति कुन विषय वा शीर्षकमा खर्च गरिन्छ ? ।’
स्थानीयको भावना, चाहना, परामर्श, सहभागिता र सहमतिलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिइन् ।
- शून्य समयमा कसले के भने ?
गोम्बु शेर्पा, सोलुखुम्बु
हाम्रो प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यक्रमहरू र विभिन्न अन्य आयोजना र कार्यक्रमहरूको सम्बद्ध मन्त्रालयबाट मन्त्री र सचिवस्तरबाट प्रभावकारी अनुगमन र निगरानी हुन नसक्दा ती आयोजनाहरू प्रभावकारी र परिणममुखी नहुने सम्भावना बढ्दाे छ ।
संघीय व्यवस्था लागु गर्नुको मूल उद्देश्य पनि विकास आयोजनाहरू, बजेटहरू र राज्यबाट प्रदान गरिने सेवाहरू जनतााको प्रत्यक्ष पहुँचमा पुग्न सकोस् र त्यसको नजिकबाट अनुगमन र निगरानी गरेर परिणाममुखी विकासको कामहरू गर्न सकियोस् भन्ने उद्देश्य नै हो ।
मन्त्रीहरू र मन्त्रालयस्तरबाट किन प्रभावकारी अनुगमन हुन सकिरहेको छैन ? वास्तवमा मुख्यमन्त्रीज्यू, मन्त्रीज्यूहरू, सचिवज्यूहरू हाम्रो प्रदेशको हकमा उहाँहरू अतिथि मात्र हुनुहुन्न । जहाँ अतिथि निमन्त्रणा गरेको छ त्यहाँमात्र जाने भन्दापनि मन्त्रालयस्तरबाट कार्यसेड्युल बनाएर त्यस्ता कार्यक्रमहरूको अनुगमनको लागि सेड्युल बन्नुपर्छ ।
त्यस्तो सेड्युलहरू अहिलेसम्म हामीले जानकारी पाएअनुसार त्यति राम्रोसँग बनेको पाइदैन । किन नबनेको हो म प्रदेश सरकारसँग यसको जवाफ माग गर्न चाहन्छु । कागजमा मात्र अनुगमन गरेर हुन्छ ? फिल्डमा अनुगमन गर्न पर्दैन ? फिल्डमा अनुगमन नभइसकेपछि विनियोजित बजेट अनुसारका कार्यक्रमहरू फिल्डमा कसरी कार्यान्वयन हुन्छ ? कसरी सुशासनको प्रत्याभूति गराउन सकिन्छ ? सम्बद्ध कार्यालयहरूबाट भ्रष्टाचार अनियमितता बढ्दो छ । त्यसकारण तुरुन्त मुख्यमन्त्रीस्तरबाट मन्त्री र सचिवस्तरबाट विनियोजित बजेट कार्यक्रमको प्रभावकारी अनुगमन गरेर परिणाममुखी विकास कार्यक्रम बढाउन सभामुखमार्फत प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
‘पथरी र कानेपोखरीका सुकुमबासीलाई जग्गा दिइयोस्’ : मानबहादुर लिम्बू, मोरङ
मोरङको क्षेत्र नम्बर ३ पथरी, कानेपोखरीमा बसोबास गर्ने नागरिकहरू तीन पुस्तादेखि जमिन छैन भनौं भने जोतभोग गर्दै आउनुभएको तीन पुस्ता भइसक्यो र तीन पुस्तादेखि नै जमिन हुँदाहुँदै पनि सुकुमबासी जीवनयापन गर्नुपरेको छ । सुकमबासीबाट पीडित भएर तीन पुस्ता बितिसकेको छ । त्यसैले यी नागरिकहरूलाई हामीले चुनावी अभियानमा, चुनावी समयमा हामीले घोषणा पत्रहरूमार्फत प्रतिबद्धता व्यक्त गरेका थियौं, सकुमबासीको समस्या समाधान गर्छौं भनेर हामीले बचनबद्धता गरेका थियौं । हालसम्म पनि सिन्को नभाँचिएको हुँदा अब धेरै त्यो समस्लाई व्यवस्थासँग जोड्दै प्रश्न उठाउन थालेका छन्, स्थानीय जनसमुदायबाट प्रश्न उठ्न थालेको छ । त्यसैले अब ती जोतभोग गरिरहेका हाम्रा मतदाताहरू, हाम्रा दाजुभाइहरूलाई जमिनको पूर्जा हातहातमा दिएर जमिनको मालिक बनाउनेतर्फ प्रदेश सरकारको ध्यान जावस् भन्ने अन्नुरोध छ ।
प्रदेश राजधानीसँग सोलुखुम्बुको हवाई सम्बन्ध जोडाैँ : डोल्मा तामाङ, सोलुखुम्बु
कोशी प्रदेशले कोशी पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा विश्वकै अग्लो शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बु जहाँ संसारभरका संसारभरका पर्यटकहरू आउनुहुन्छ । तर, त्यही जिल्लाका नागरिकहरूले हाम्रो प्रदेशको राजधानी विराटनगर हो भन्नेसम्म अनुभूति गर्न पाइरहनुभएको छैन । यस्ता कार्यक्रमहरूले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नेछ । सोलुखुम्बु जिल्लामा पर्यटकीय स्थलहरू धेरै छन् । सगरमाथा, दुधकुण्ड, गोक्यो ताल, ज्वालामाई मन्दिर ,पिके ट्रेल आदि । सोलुखुम्बुलाई पर्यटकीय क्षेत्र भनेर संसारभरमा चिनाएको छ । सोलुखुम्बुबाट विराटनगर आउँदाखेरी आम सोलुबासीले धेरै दुःख र खर्च गरेर यहाँ आउनुपर्ने हुन्छ । विराटनगर र सोलुखुम्बुलाई प्रत्यक्ष जोड्न हवाई सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको छ ? निजी क्षेत्र सधैं हामी तयार छौँ भन्नुहुन्छ, के कारणले यो हवाई सेवा सुचारु हुन सकेको छैन ? प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।
संघीयता लागु भएर तीन तहको सरकारमा मुलुक गएको सात वर्ष पूरा भइसकेको छ । तर प्रदेशको स्वायत्तता छैन, स्पष्ट कानुनको अभाव छ त्यसै कारणले धेरै कठिनाइ र बाधाहरू भोगिरहनुपरेको छ । यसैगरी जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी कानुन र कार्यविधिहरू बनेको छैन । काम गर्न धेरै कठिनाइ छ । मेरो जिल्लामा सगरमाथा राष्ट्रिय निकुञ्जको रोयल्टी धेरै नै जम्मा भएको छ । तर स्पष्ट कानुन नहुँदा खर्च गर्न गाह्रो भएको छ । त्यसैले प्रस्ट कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
द्वन्द्वकालका विष्फोटक पदार्थ खोजियोस् : शिला दीक्षित कार्की, मोरङ
केही दिन अगाडि पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा गोठगाउँ खण्डमा चारवटा सिलिण्डर बम फेला परेको थियो । सशस्त्र द्वन्द्वका क्रममा राखिएका विष्फोटक पदार्थ खोजी गरी सम्पूर्णलाई निषेध गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिन जरुरी छ । १७ वर्षसम्म पनि उक्त विष्फोटक पदार्थ जमिनमुनि रहँदा कुनै अप्रिय घटना घटन सकेन । तर कुनै पनि बेला त्यस्ता विष्फोटक पदार्थले ठूलो क्षति निम्त्याउन सक्छ । तसर्थ त्यस्ता विष्फोटक पदार्थहरूको खोजी गरी हटाउनेतर्फ सभामुखमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।
माघ १३ गते खेटेहाङ गाउँपालिका–१ लिकुपोखरीस्थित गोपाल बस्नेतको घरमा मानिसहरू मेलामा गएको बेलामा अचानक आगलागी भएछ । उक्त घटना कसरी भयो भन्ने अहिलेसम्म जानकारी हुन सकेको छैन । स्थानीयवासीको सहयोगबाट आगो नियन्त्रणमा लिए । आगलागीबाट लत्ताकपडा, खाद्यान्न आदि गरी २ लाख बराबरको क्षति भएको छ । पीडित परिवारलाई छिटोभन्दा छिटो राहत होस् ।
सुख्खा समय सुरुवात भएको छ । सुख्खा समयमा आगजनीको घटनाहरूले बिकराल रूप लिने गर्दछ । आम तराइवासीहरूको घरगोठ एकैठाउँमा हुने भएकोले त्यसबाट हुने क्षति ठूलो हुने देखिन्छ । त्यसैले प्रदेश सरकारले संवेदनशील भएर दीर्घकालीन समाधानको लागि लाग्न जरुरी देखिन्छ । यस समयमा प्रदेश सरकारले के कस्ता तयारी गरिरहेको छ यो विषय पनि महत्वपूर्ण रहेको छ । प्रदेश सरकारले आगलागी नियन्त्रणको लागि बेलैमा कदम चाल्नु राम्रो देखिन्छ ।
ठूलालाई चैन, सानालाई ऐन ? : विद्या चाम्लिङ राई, मोरङ
ताप्लेजुङ पाथीभरा मुक्कुम्लुङ धार्मिकस्थलमा ठूलालाई चैन, सानालाई ऐन भन्ने बुढापाकाको कुरा सुनेको थिएँ । ठूल्ठूला ठेकेदारहरूको हालिमुहाली र त्यहाँका जनतालाई गोलीको उपहार, त्यहाँ अन्यायपूर्ण भएको छ । यसप्रति म खेद व्यक्त गर्दछु । हाम्रो आधार भनेको तिनै ग्रासलेभलमा बस्ने जनताहरू हुन् । ती जनताहरूलाई हामीले उपहार होइन गोलीको उपहार ! राम्रो कुरा होइन । यस्ताखालका कुराहरूले सरकारमा पुगिसकेपछि त्यस ठाउँका जनतालाई बिर्सने बानी अन्त्यन्त नराम्रो र दुःखदायी छ । जुन दुखद् घटना भएको छ, घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । दुईतिरकै, प्रहरी पनि जनताको छोराछोरी हुन्, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्यसकारणले सरकारले वार्ताको बाटो अपनाओस् र चाँडोभन्दा चाँडो समस्या समाधान गरोस् भन्न चाहन्छु । त्यहाँको जनताहरूको मागलाई न्यायपूर्ण समाधान होस् भन्न चाहन्छु ।
बिमा सेवा प्रभावकारी होस् : कमला थापा मगर,
मेरो प्रश्न स्वास्थ्य मन्त्रीलाई । स्वास्थ्य बिमामा बिमितहरूले बिमित भएको तीन महिनापछि मात्र सेवा सुविधा पाउने गरेको छ । तीन महिनासम्म बिरामीले कुर्नुपर्ने हो कि मर्नुपर्ने हो ?
जंगली हात्तीको समस्यामा सरकार गम्भीर होस् : सबिना बजगाईँ, झापा
विशेषगरी बुद्धशान्ति गाउँपालिका वडा नम्बर १, २, ३, त्यसैगरी मेचीनगर नगरपालिका हल्दीबारीका जनताहरू जंगलीहात्तीबाट त्रसित छन् । त्यहाँका जनताहरू रातिको समयमा निदाउन पाएका छैनन् । वर्षभरिको धान ढिकुटीमा थन्क्याएको अवस्थामा जंगली हात्तीले धान खाइदिने, जनतालो लगाएका बालीनाली नष्ट गरिदिने लगायता धेरै दुःखहरू त्यहाँका स्थानीयवासीले भोगिरहेका छन् ।
सर्वप्रथमतः म त्यहाँका जनताहरूले भोगेका पीडा, दुःखकष्टलाई कम्तीमा पनि प्रदेश सरकारले मात्र गर्न सक्दैन भने प्रदेश सरकारमार्फत संघीय सरकारसँग पनि हात्ती समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।