Pranmancha

Advertisment

SKIP THIS

अमेरिकामा आप्रवासीकाे कन्तबिजाेग ! न जागिर न विद्यालय जान्छन् केटाकेटी

१७ माघ, काठमाडौँ

अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्।

कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल पठाउन बन्द गरेका छन्। वाइट हाउसले भने अपराधीलाई पक्राउ गर्ने प्राथमिकता रहेको बताए पनि अमेरिकामा बसेका आप्रवासीहरूले सुरक्षित महसुस गरेका छैनन्।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि यो तीन दिनमा नै ३ हजार ५ सय गैरकानूनी आप्रवासी पक्राउ परेका छन्। बीबीसीले अमेरिकी गृह मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ- आइतवार १ हजार १७९ जना‚ सोमवार ९६९ जना र मंगलवार १ हजारभन्दा बढी पक्राउ परेका छन्।

सन् २०२४ मा बाइडन सरकारले ३१० जनालाई मात्रै पक्राउ गरेको थियो। गृहका अधिकारीले यो पक्राउलाई ‘लक्षित अभियान’ बताएका छन्‚ जसमा उनीहरूले हिंस्रक गिरोहका सदस्य र खतरनाक संदिग्धलाई पक्राउ गर्ने अभियान रहेको बताएका छन्।

वाइट हाउसले गिरफ्तार गर्न चाहेका व्यक्तिका बारेमा केही सूचना सार्वजनिक गरेको छ। सूचनामा सन्दिग्धका तस्वीर‚ मूल देश र अपराधको विवरण दिइएको छ। यौन अपराध, आक्रमण र लागुपदार्थ कारोबारमा जोडिएका व्यक्तिलाई बढी  लक्षित गरिएको छ। वाइट हाउसले यो अभियानमा पक्राउ परेका गैरकानूनी आप्रवासी अपराधी होस् वा नहओस् उसलाई देशनिकाला गरिने स्पष्ट पारेको छ।

अमेरिकामा गैरकानूनी रूपमा बस्नु कसैले सामान्य ठाने पनि उनीहरू अपराधी नै भएको वाइट हाउसकी सञ्चारसचिव क्यारोलिन लेभिटले स्पष्ट पारिन्।  उनले भनिन्, ‘तिनीहरूले हाम्रो देशको कानून उल्लंघन गरेका छन्। त्यसैले उनीहरू हाम्रा लागि अपराधी हुन्।’ यो गिरफ्तारीले अमेरिकाभर कैयौँ आप्रवासी समुदाय भयभीत छन्।

अमिका सेन्टर फर इमिग्रेन्ट राइट्सका कार्यकारी निर्देशक माइकल लुकेन्सले भने‚ ‘मान्छेहरू काममा जान छोडेका छन्‚ छोराछोरीलाई स्कूल पठाउन डराएका छन्। वाइट हाउसले मान्छेमा डर पैदा गरी उनीहरूलाई अमेरिकाबाट निकाला गर्न चाहेको छ।’

२० वर्षअघि अमेरिका आएकी बोलिभियाली आप्रवासी गाब्रिएला भन्छिन्‚ ‘मेरो छिमेकमा बस्ने कैयौँ व्यक्तिहरू डराएका छन्। म बस्ने भवनकै कैयौँ अभिभावकले आफ्ना सन्तानलाई स्कूल पठाउन छोडिसके। अब चर्च जान पनि छोडिसके।’ गाब्रिएलाले आफूले पनि झोला तयारी अवस्थामा राखेको बताइन्। उनले पक्राउ र देशनिकाला गरे पनि बोलिभिया पठाउँदा केही असर नपरोस् भन्ने अवस्थामा रहेको उनको कथन छ।

न्यूयोर्क शहरमा बसोवास गर्दै आएका मेक्सिकोका नागरिक कार्लोसले पक्राउ पर्ने आशंकाले कैयौँ व्यक्ति घर बाहिर निस्कन छोडेको बताए। कार्लोसका छोरा न्यूयोर्कमा जन्मिएका अमेरिकी नागरिक हुन्। तैपनि उनमा देशनिकाला गरिने सन्त्रास छ।  कार्लोसले भने‚ ‘भयावह अवस्था छ। कामै नहुने अवस्था आयो भने मात्रै म सडकमा निस्कन्छु‚ नत्र म भित्रै बसिरहन्छु।‘

उनले अपराधीलाई समात्दा आफूले विरोध गर्नुपर्ने कुनै कारण नभएको बताए। उनले थपे‚ ‘अपराधी बाहेकका व्यक्तिलाई पनि पक्राउ गरेर निकाला गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation