अब चिटिक्क पर
३५ हजारको कोट पाइन्ट लगाऊ
१९ हजारको घडी चम्काऊ
५ हजार नघटाई टोपि लगाऊ
र लगाउ १७ हजारको जुत्ता पनि
सुकिलोमुकीलोे ठाँटले
झोले र मुण्डलेहरुको तिम्रो लावालस्कर
ल्यान्डक्रुजर, पजेरो र बुलेट चढि
नुन तेलको जोहोमा भौतारिएका
सुदुरपारि दुरदिनका झुपडीमा जाऊ
अभाव र रोदनका चित्कारबीच
कष्टसाध्य जीवनका सात दशक गुजारेका
थकित र तिरस्कृत बाआमा जम्मा गरि
लम्पसारले सर्वाेत्कृष्ट भाषण गर
समृद्धिका बालुवी महल ठड्याउने
फुस्रा विकासे बुँदामा हस्ताक्षर गरि
निरीह जनलाई म्यादी सपनाको चाङ लगाऊ
जनक्रान्तिताका बमबार्डका छर्रा बोकी
दुश्मनका अनगिन्ती यातनाले
घाइते शरीर बोकी रन्थनिएका
बेसहरा सहिदजनका पाउ समाऊ
दया र करुणाको हुर्मत लिंदै
दो¥याई–ते¥याई जोडले भन
यही हो समृद्धि, यही हो जनक्रान्ति
यही हो समाजवाद/ साम्यवाद
किनकी उहिल्यैदेखि खुनी साशकको जीवनमा
साम्यवाद त घन्किरहेकै छ
अब पनि
चुनाव मैले नै जितेपछि
अभाव र क्रन्दन छडिले भगाउँछु
सारा उन्नतिको कान्ति छाउँछ
हामी चाइना जान्छौँ, अरबौँ माग्छौँ
रुस, बेलायत पनि जान्छौँ, खरब थाप्छौँ
निर्लज्ज कवोल गर गद्दारहरु
मागेर नै देशको कायापलट गर्छाैं
मगन्ते ´कोष`ले नै मुलुकमा कायापलट भए
उत्पादन, स्वरोजगार किन चाहियो ?
शिक्षा, स्वास्थ्य र उन्नत चेतना बकवास न हुन्
बदलामा उनीहरुले जे–जे माग्नेछन्
हामी निशंकोच निशर्तले दिनेछौं
नदी होस् वा भूगोल, युवा होस् वा चेली
अँ ! हाम्रो गर्विलो इतिहास समाप्त गर्ने
तिमी देशद्रोही लेप्डुपहरुका
श्रृङखलाबद्व काला कर्तुतहरु
हामीलाई राम्रोसँग थाहा छ
ऐतिहासिक पहिलो प्रगतिशील सभा
जसरी नि मास्नु नै थियो
गद्दारहरुको ग्याङले त्यो निमोठेरै छोड्यौ
दोस्रो नौटंकीमार्फत
राष्ट्रिय लुटेरा र तस्करहरु पोस्ने
एक थान संविधानको खोस्टो फ्याँक्यौ
बेच्यौ दर्जनौँ नदीनाला र जंगेपिलरहरु
तेस्रो भिमकाय नाटक गरि
अमेरिकी दादागिरीको वैधानिकतामा
एमसीसी र एसपिपी जस्ता
देशद्रोही एजेन्डामा पाउ परि
संसद नै उसलाई जिम्मा लगायौ
अब चौथो प्रहशनमार्फत
साम्राज्यवादी फिरिङ्गिलाई
मुलुकी रक्षाको चावी सुम्पदै
सिक्किमीकरणको मार्ग खोलेर
साम्राज्यवादी दुश्मनको भुंग्रोमा हालि
अन्तहिन गृहयुद्धको सामना गर्ने हो